ट्रम्पको रात्रिभोजमा गोली चलाउने सन्दिग्ध युवक पक्राउ

ट्रम्पलाई सुरक्षा दिँइँदै

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प ह्वाइट हाउस संवाददाताहरूसँग रात्रिभोजमा सहभागी भइरहेका समयमा गोली चलाउने सन्दिग्ध व्यक्ति पक्राउ परेका छन्।

रात्रिभोज जारी रहँदा नजिकै गोली चलेको आवाजपछि सुरक्षा अधिकारीहरूले घेरा हालेर ट्रम्पलाई हलबाहिर लगेका थिए।

एकभन्दा धेरै हतियार बोकेका व्यक्तिलाई अमेरिकी सीक्रेट सर्भिसले नियन्त्रणमा लिएको ट्रम्पले बताएका छन्।

नियन्त्रणका लिइएका व्यक्तिको तस्बिर राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

घटनापछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै ट्रम्पले राजनीति सबैभन्दा जोखिमपूर्ण पेसा भएको बताए।

"यो भन्दा खतरनाक अरू कुनै पेसा होला जस्तो मलाई लाग्दैन," उनले भने, "कुनै पनि देश यसबाट अछुतो छैन।"

गोली प्रहारको आरोपमा पक्राउ परेका व्यक्ति क्यालिफोर्निआका ३१ वर्षीय युवक रहेको अधिकरीहरूले बताएका छन्। उनी रात्रिभोज चलिरहेको होटेलमै बसिरहेको वाशिङ्टन डीसीका प्रहरी प्रमुखले बताएका छन्।

उनलाई सोमवार अदालतमा पेस गरिने अधिकारीहरूले बताएका छन्।

ट्रम्पलाई हलबाहिर लगिँदै

तस्बिर स्रोत, Reuters

सीक्रेट सर्भिसका एक जना अधिकारीलाई नजिकबाट प्रहार भएको गोली लागेको छ। तर बुलेट प्रुफ भेस्ट लगाएका कारण उनी बाँचेको ट्रम्पले ह्वाइट हाउसमा बताए। उनको उपचार भइरहेको अस्पतालमा सुरक्षा अधिकारीहरू पुगेका छन्।

अधिकारीहरूले बन्दुकधारी व्यक्ति कसरी त्यति नजिकसम्म पुगे भन्ने पत्ता लगाउन होटेलका भिडिओहरूको विश्लेषण भइरहेको बताएका छन्।

घटनास्थलमा रहेका बीबीसीका वाशिङ्टन संवाददाता ड्यानिअल बुशका अनुसार रात्रिभोज चलिरहेको ठूलो सभा हलमा सुरुमा के भएको हो भन्ने प्रस्ट थिएन।

नजिकैको हिल्टन बलरुम बाहिर गोली चलेको जस्तो आवाज सुनिएपछि रात्रिभोजमा सहभागी भएकाहरू टेबल मुनी लुकेका थिए। त्यसपछि पहिले ट्रम्पलाई अनि रक्षामन्त्री पिट हेग्सेथलाई सुरक्षा घेरामा हलबाट निकालिएको थियो।

अमेरिकी राष्ट्रपतिको रात्रिभोजमा सुरक्षा घेराभित्र गोली चलेको यो पहिलो घटना हुनसक्ने बीबीसी संवाददाताले उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति रेगनको हत्याप्रयास भएकै स्थानमा घटना

तत्कालीन राष्ट्रपति रनल्ड रेगनको हत्या प्रयासपछिको तस्बिर

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् २९८१ मा तत्कालीन राष्ट्रपति रनल्ड रेगनको हत्याप्रयास हुँदा तीन जना घाइते भएका थिए

अमेरिकी समय अनुसार शनिवार बेलुकाको घटना भएको कनेक्टिकट एभिन्यूस्थित वाशिङ्टन हिल्टनमा सन् १९८१ मा पनि अमेरिकी तत्कालीन राष्ट्रपति रनल्ड रेगनमाथि गोली प्रहार भएको थियो। उक्त घटनामा उनी घाइते भएका थिए।

रेगनमाथिको गोली प्रहार १९८१ को मार्च ३० मा भएको थियो। होटेलभित्रको एक कार्यक्रममा सम्बोधन गरेर आफ्नो लीमोजीन कारतर्फ फर्किरहेका रेगनमाथि गोली प्रहार भएको थियो। उक्त घटनामा जोन हिन्क्ले जुनिअर दोषी ठहर भएका थिए।

गोली प्रहारबाट बाँच्न सफल भए भए पनि राष्ट्रपति रेगन घाइते भएका थिए। गोली सिधै नलागे पनि लीमोजीनको छेउमा ठोकिएर आएको गोलीले उनको छातीमा लागेको थियो।

आक्रमणमा रेगनको एउटा करङ भाँचिएर फोक्सोमा समेत प्वाल परेको थियो। उनलाई तत्कालै नजिकैको जर्ज वाशिङ्टन युनिभर्सिटी अस्पताल लगिएको थियो।

उनी घटनाको तेह्रौँ दिनमा ११ एप्रिलमा अस्पतालबाट डिस्चार्ज भएका थिए।

सोही घटनामा ह्वाइट हाउसका तत्कालीन प्रेस सेक्रेटरी जेम्स ब्राडी, एक जना सीक्रेट सर्भिस एजेन्ट र स्थानीय मेट्रोपोलिटन प्रहरी विभागका अधिकारी पनि घाइते भएका थिए।

मस्तिष्कमा चोट लागका ब्राडी आजीवन अपाङ्ग बनेका थिए। जीवनभर दुख दिएको उक्त चोट कारण सन् २०१४ मा उनको मृत्युको कारणहरूमध्ये एक बन्यो।

ब्राडीको निधन भएको एक वर्षपछि हिन्क्लेको मानसिक स्वास्थ्य समस्या औँल्याउँदै अदालतले उन्मुक्ति दियो। त्यसपछि उनलाई वाशिङ्टनको सेन्ट एलिजाबेथ अस्पतालको उच्च सुरक्षा घेरामा राखिएको थियो। उनी सन् २०१६ मा अस्पतालबाट डिस्चार्ज भएका थिए।

अहिले पनि हिल्टन होटेलको भित्तामा गोलीकाण्डको एउटा स्मारक राखिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।