वर्षा र हिमपातले धेरैतिर सडकमा समस्या: 'आइतवारसम्मै बुझेर यात्रा गरौँ'

शुक्रवारदेखि देशका धेरैजसो भागमा वर्षा हुनेगरी देखा परेको मौसमी प्रणालीका कारण विभिन्न मुख्य सडकहरूका विभिन्न स्थान तथा खण्डमा अवरोध देखा परेको अधिकारीहरूले बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार मध्यान्ह दिएको जानकारी अनुसार मध्यपहाडी राजमार्गको रुकुम पूर्व र बागलुङ जोड्ने खण्डमा हिमपातका कारण अवरोध देखा परेको छ भने वर्षाले बाटो चिप्लिएर महेन्द्र राजमार्ग अन्तर्गतको दाउन्ने खण्ड दुईतर्फी अवरुद्ध छ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले शुक्रवारको वर्षाले अवरुद्ध पारेको कान्ति लोकपथ र बीपी राजमार्ग खुलाइएको भए पनि वर्षा जारी रहेकाले आइतवारसम्मै सजग रहन र राम्रोसँग बुझेर मात्र यात्रा गर्न सुझाइन्।
प्रहरी एवं हाम्रा संवाददाताहरूका अनुसार देशका अन्य ठूला साना सडकमा अवरोध देखा पर्ने र पन्छाउने काम भइरहेकाले सडकमा कतै पूर्ण त कतै एकतर्फी अवरोधहरू देखा परेका छन्।
मौसमविद्हरूले शनिवार रातीबाट जारी पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रणालीको मिश्रित अवस्था केही कमजोर हुन थाल्ने बताए तापनि आइतवारसम्मै वर्षाको पूर्वानुमान रहेको जनाएका छन्।
तर शनिवार नै पनि लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानमा एवं कर्णाली, बागमती र मधेश प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको भन्दै उनीहरूले सजग गराएका छन्।
"प्रिमनसुन (मनसुन अगाडिको मौसमी गतिविधि)का बेला छोटो अवधिमै धेरै वर्षा हुने भएकाले थप सजग हुन आवश्यक हुन्छ," जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोज पुडासैनीले बताए।
सडकमा कहाँ-कहाँ अवरोध?

नेपाल प्रहरीले शनिवार बिहान धुलिखेल र बर्दिबास जोड्ने बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको जनाएकामा मध्यान्हमा आएर प्राधिकरणले उक्त मार्गलाई स्थानीय निकाय, सुरक्षाकर्मी र सडक अधिकारीहरूको पहलमा खुलाइएको जनाएको छ।
उक्त सडक डेढ वर्षअघिको विध्वंसकारी वर्षाबाट करिब १२ किलोमिटर क्षतिग्रस्त बनेको थियो। यही वर्ष पनि असोजमा भएको वर्षाले सो मार्गमा धेरै क्षति गराएको थियो।
प्रहरीले केआई सिंह राजमार्गको डडेलधुरामा पहिरोका कारण एकतर्फी सञ्चालन भइरहेको जनाएको छ।
त्यसैगरी सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा खण्डमा समेत पहिरोले सडक अवरुद्ध पारेको अधिकारीहरूले बताएका छन्।
मध्यपहाडी लोकमार्ग अन्तर्गतको रुकुम पूर्वका विभिन्न स्थानमा हिमपातका कारण सवारीहरू अघि बढ्न नसकेको बताइएको छ।
मौसमी अवस्था

तस्बिर स्रोत, RSS
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार देशभर अधिकांश ठाउँमा बादल लाग्नुका साथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा मेघ गर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा तथा हिमपात भइरहेको छ।
विभागले शनिवार कोशी, मधेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत आफ्नो मौसमी बुलेटिनमा उल्लेख गरेको छ।
शुक्रवारदेखि सक्रिय बनेको यस प्रणालीका कारण गत चौबिस घण्टामा देशका विभिन्न स्थानमा भारी वर्षा रेकर्ड गरिएको थियो।

तस्बिर स्रोत, RSS
विभागका अनुसार पाल्पाको बड्याङ्गढीमा ९२.२ मिलिमिटर, रुपन्देहीको तिलोत्तमामा ८१ मिलिमिटर, मोरङमा ६१.६ मिलिमिटर, दाङको अम्बापुरमा ६८ मिलिमिटर, राप्तीको कुशुममा ५८.८ मिलिमिटर पानी परेको थियो।
कुनै स्थानमा २४ घण्टाभित्र ५० देखि १०० मिलिमिटर वर्षा भएमा त्यसलाई भारी वर्षाका रूपमा गणना गर्ने गरिन्छ।
हाल प्रिमनसुनको समय रहेकाले अपराह्नपछाडि हावाहुरी हुने सम्भावना समेत रहने भन्दै विभागले यात्रा एवं हिँडडुलमा सजग हुन सुझाएको छ।
तीन दिनको पूर्वानुमानसहित बुलेटिन जारी गर्ने क्रममा विभागले सोमवार दिउसो देशको पहाडी र हिमाली भू-भागमा साधारणता बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने जनाएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



























