किन धुम्मियो मौसम, खुल्ने कहिलेदेखि

धुम्म परेको मौसममा मास्क लगाएर हिँडेकी एक किशोरी

तस्बिर स्रोत, EPA/Shutterstock

पढ्ने समय: ४ मिनेट

जाडोबाट गर्मीयामतर्फ प्रवेश गर्दै गर्दा अहिले काठ्माण्डूसहित देशका विभिन्न क्षेत्रको आकाशमा देखिएको प्रदूषणयुक्त अवस्थामा पूरै सुधार आउन अझै केही समय लाग्ने मौसमविद्हरूले बताएका छन्।

"पश्चिमा वायुको प्रभावका कारण उपल्लो वायुमण्डलमा उच्चचापीय प्रणालीको विकास हुँदा जमिन नजिकैको हावामा तुवाँलो र प्रदूषण थिग्रिएर बसेको थियो," जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले बीबीसीसँग भने, "पानी पनि पर्न नसकेकाले धेरै दिनदेखि मौसम धुम्म भएर बसेको देखिन्थ्यो तर आजभन्दा भोलि र भोलिभन्दा पर्सि त्यसमा सुधार हुँदै जान्छ।"

विश्वका विभिन्न शहरका प्रदूषणको स्तरबारे तथ्याङ्क राख्ने आईक्यूएअरले काठ्माण्डूको प्रदूषणको स्थितिलाई 'अस्वस्थकर' भनेको छ।

बिहीवारसँगै शुक्रवार पनि विशेष गरी गण्डकी, बागमती र कोशी तथा मधेशका केही स्थानहरूमा केही पानी पर्ने देखिएको र त्यसले पनि केही सफा गर्ने पौडेलले बताए।

त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक मदन सिग्देल केही वर्षयता अहिले देखिएजस्तो मौसमी अवस्था सामान्य बन्दै जान थालेको बताउँछन्।

"पछिल्ला आठ-दश वर्षका तथ्याङ्क केलाउँदा राम्ररी हिउँदे वर्षा नहुने स्थिति बढेको देखिन्छ," उनले भने, "गत वर्ष पनि हामीले एक साताजति यस्तो अवस्थाको सामना गरेका थियौँ। सामान्यतया: फागुनको अन्तिम सातदेखि चैतको पहिलो सातासम्म यस किसिमको स्थिति देखा पर्ने गरेको छ।"

कारण

धुम्म परेको मौसममा मोटरसाइकलमा आवतजावत गरिरहेका व्यक्तिहरू

तस्बिर स्रोत, EPA/Shutterstock

तस्बिरको क्याप्शन, काठ्माण्डूमा बिहीवार देखिएको मौसमी अवस्था

मौसमविद्हरूका अनुसार सामान्यतया: चैतको अन्त्यसम्म पश्चिमबाट पूर्वतर्फ चल्ने वायुको प्रभाव रहने हुँदा उच्चचापीय प्रणाली विकास हुने गर्छ। त्यस्तो अवस्थामा माथिल्लो वायुमण्डल स्थिर रहने गर्छ भने तल्लो तहमात्रै केही चलायमान हुन्छ।

वरिष्ठ मौसमविद् पौडेलका अनुसार तुवाँलो र प्रदूषणयुक्त अवस्था काठ्माण्डूमात्रै नभइ देशका अन्य सहरहरूमा पनि देखा परेको छ।

"तर सप्ताहान्तदेखि दिउँसो घाम लाग्ने र केही हावाहुरी चल्ने तथा बेलुकापख केही गड्याङगुडुङ हुनेजस्तो [प्रि-मनसुनको] नियमित प्रक्रियामा लाग्ने देखिन्छ।"

उनका अनुसार मार्च लागेदेखि ३ महिनासम्मको अवधिलाई प्रि-मनसुनको स्थिति भनिन्छ।

"यो प्रदूषण हट्नका निम्ति कि पानी पर्नुपर्छ कि हावा चल्नुपर्छ। त्यसले गर्दा आगामी दिनहरूमा अहिले स्थिर भएर बसेको वायुमण्डल केही चलायमान हुने देखिन्छ। शनिवार तथा आइतवारबाट प्रदूषणको स्थितिमा केही सुधार हुन्छ," वरिष्ठ मौसमविद् पौडेलले भने।

त्रिविका सहप्राध्यापक सिग्देल प्रदूषणयुक्त मौसमी स्थितिमा बाह्य प्रणालीबाट आएको र स्थानीय स्तरमा उत्पन्न दुबै किसिमका प्रदूषणको भूमिका रहेको बताउँछन्।

"त्यसमा भारत र पाकिस्तानतर्फबाट गङ्गा नदीको आसपास हुँदै पूर्वतिर बग्ने वायुसँगै आएको प्रदूषणले मुख्य भूमिका खेलेको देखिन्छ। स्थानीय प्रदूषणको स्तर भने तुलनात्मक रूपमा कम रहेको छ।"

खासगरी पश्चिम भारतमा ठूलो परिमाणमा कृषिजन्य अवशेष जलाउने चलनले गर्दा पनि प्रदूषण उत्पन्न हुने गरेको र स्थानीय स्तरमा हुने बनडढेलो आदिले पनि त्यसको स्तर बढाइदिने गरेको सिग्देलले बताए।

पूर्वानुमान

धुम्म मौसम र पृष्ठभूमिमा स्वयम्भू

तस्बिर स्रोत, EPA/Shutterstock

वरिष्ठ मौसमविद् पौडेल विस्तारै अहिलेको स्थितिमा सुधार हुँदै जाँदा स्थानीय वायु सक्रिय हुने बताउँछन्।

"अहिले त्यो माथिल्लो वायुमण्डलको स्थिर अवस्थामा केही सुधार आएको छ। त्यसले गर्दा अब केही खुला हुने र हावाहरू चल्ने हुन्छ," उनले भने, "त्यसले गर्दा दिनभर घाम लाग्ने, स्थानीय वायूहरू सक्रिय हुने, बेलुकातिर बादल लाग्ने, पहाडी भूभागहरूमा चट्याङ पर्ने र गड्याङ्गुडुङको वर्षा हुने तथा कहीँ कहीँ हुरीबतास पनि हुनेजस्ता गतिविधि आगामी दिनहरूमा देखा पर्न सक्छ।"

सावधानी

धुम्म मौसमबीच उडिरहेको चरा र पृष्ठभूमिमा स्वयम्भू

तस्बिर स्रोत, EPA/Shutterstock

वातावरण विभागका सूचकाङ्कहरूले प्रदूषणको स्थिति बढेको दर्शाएकाले जल तथा मौसम विज्ञान विभागले आफ्नो पछिल्लो बुलेटिनमा त्यसम्बन्धी चेतावनी दिएको पौडेलले बताए।

वातावरण विभागले प्रदूषणको स्तर अझै उच्च रहेको जनाएको छ।

"बाहिर निस्कनै नहुने स्थितिचाहिँ होइन तर सावधानी अपनाउनु पर्ने देखिन्छ," विभागका महानिर्देशक ज्ञानराज सुवेदीले भने, "मैले बिहीवार बिहान रत्नपार्कको स्थिति जाँच्दा १७० एक्यूआई (एअर क्वालिटी इन्डेक्स) पुगेको थियो भने दिउँसो १६० एक्यूआईमा झरेको पाएँ। नेपालमा प्रदूषणको हालको स्थिति १७५ एक्यूआईभन्दा तल नै छ।"

उनका अनुसार नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले ५० एक्यूआई भित्रको अवस्थालाई स्वस्थकर मानेका छन्।

स्वास्थ्य मन्त्रालयले जनहितसम्बन्धी सूचनाहरू जारी गर्दै 'आफ्नो बासस्थान वरपर हावामा प्रदूषणको स्तर उच्च भएका दिन घरबाहिरका क्रियाकलाप नगर्न, धुँवाधुलोबाट जोगिन, प्रशस्त पानी पिउन र धुमपान नगर्न' सुझाएको छ।

त्रिविका सहप्राध्यापक सिग्देल विशेष गरी सुख्खा मौसममा कृषिजन्य अवशेष जलाउने गतिविधि कम गर्न सकिए र बनडढेलोप्रति सावधानी अपनाइएमा प्रदूषणको अवस्था धेरै खराब हुनबाट रोक्न सकिने धारणा राख्छन्।

"त्यसमा जनचेतना नै प्रमुख कुरा हो। कृषिजन्य पदार्थहरू जलाउने काम नेपालको भूभागमा कम गर्न सक्छौँ," उनले भने, "त्यस्तै ७०/८० प्रतिशतसम्म बनडढेलोका घटना पनि मानिसहरूकै लापरबाहीका कारण हुने हो। ती दुइटा काममा सावधानी अपनाएर प्रदूषणको मात्रा केही हदसम्म घटाउनचाहिँ सकिन्छ।"

अहिलेको मौसमी स्थिति जलवायु परिवर्तनसँग सम्बन्धित भए नभएको यकिन गर्न सुक्खा वर्षका स्थितिमा वृद्धि हुनुका कारण खोतल्नु पर्ने उनी बताउँछन्।

"पश्चिमी वायु प्रणालीको विकास भूमध्यसागर क्षेत्रबाट भएको हुन्छ र यो समुद्री सतहमा न्यूनचापीय प्रक्रिया कमजोर हुनेसँग सम्बन्धित छ। यसको प्रभावलाई हामी विश्वव्यापी प्रक्रियासँग पनि जोड्न सक्छौँ जहाँ अप्रत्यक्ष रूपमा यसको असर देख्न सकिन्छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।