तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
होर्मुज जलमार्ग कसरी इरानको सबैभन्दा शक्तिशाली अस्त्र बन्न पुग्यो
- Author, जियार गोल
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ५ मिनेट
इरान, अमेरिका र इजरेलमाझ भएको ४०-दिने युद्धपश्चात् एउटा अनौठो निष्कर्ष निस्किएको छ - इरानको हातमा रहने सबभन्दा शक्तिशाली अस्त्र परमाणुक्षमताको साटो रणनीतिक महत्त्वको होर्मुज जलमार्गमाथिको नियन्त्रण हुन सक्छ।
सुरुदेखि नै यस युद्धलाई भीषण बमबारी तथा मुख्य नेता तथा स्थलहरूमा प्रहार गरेर इरानमा सत्तापलटको निम्ति गरिएको प्रयासको रूपमा हेरिएको थियो।
प्रतिक्रियास्वरूप इरानले अमेरिकाको खाडीका साझेदार देशहरूमा क्षेप्यास्त्र तथा ड्रोन हमला गर्यो। सैन्य दबाव बढेपछि उसले आफ्नो ध्यान पर्सियाको खाडीलाई विश्वबजारसँग जोड्ने साँघुरो जलमार्गमा आवतजावत प्रभावित गर्नेतर्फ लगायो।
छिट्टै त्यसले अमेरिका र उक्त जलमार्गमार्फत् हुने तेल र ग्यासको निर्बाध आपूर्तिमा निर्भर उसका साझेदार देशहरूमा ठूलो दबाव सिर्जना गर्यो।
इस्लामिक रेभलूश्नरी गार्ड कोर (आईआरजीसी)का अधिकारीहरूलाई यो जलमार्गको नियन्त्रणले परम्परागत सैन्य कारबाहीभन्दा अधिक रणनीतिक लाभ दिने थाहा पाएका छन्।
विश्वव्यापी ऊर्जा आपूर्तिमाथि धम्की दिएर इरानले अमेरिकालाई उसको कार्यशैली बदल्न बाध्य पार्यो। अन्तत: उक्त जलमार्गको पुनर्सञ्चालन र सुरक्षालाई अमेरिकाले युद्धविराम सहमतिको प्राथमिक सर्त बनाउनुपर्यो।
आफूमाथि हमला गरिए सो जलमार्ग बन्द गरिदिने बारम्बार धम्की दिँदै आए पनि यसअघि इरानले कहिल्यै त्यसरी पूर्ण अवरोध गरेको थिएन। सन् १९८०-१९८८ को इरान-इराक युद्धका समयमा पनि तेल ट्याङ्करहरूमाथि आक्रमण गरिए पनि जलमार्ग बन्द भएको थिएन।
अहिले कतिपय इरानी कमान्डर तथा अधिकारीहरू सो जलमार्गमाथि इरानको नियन्त्रणको भविष्यबारे छलफल गरिरहेका छन्। इरानको संसद् खास गरी उसको राष्ट्रिय सुरक्षा आयोगले मस्यौदा गरेको प्रस्तावमा जलमार्ग भएर आवतजावत गर्ने पानीजहाजहरूबाट शुल्क उठाउने विषय छ।
एक सांसदले इरानले प्रत्येक तीन ब्यारल तेलमा एक डलरको शुल्क तोक्न सक्ने बताए।
विजयको छनक
इरानको सरकारी सञ्चारमाध्यमले युद्धविरामपश्चात् आफ्नो विजय भएको छनक दिएका छन्। कुवेतस्थित इरानी दूतावासले इरानका भूतपूर्व सर्वोच्च नेताको "जब अल्लाहको विजय हुन्छ" शीर्षकको भिडिओ पोस्ट गरेको छ। यसले इरानभित्र प्रवर्तित कथनलाई नै प्रतिबिम्बित गर्छ - देशले विदेशी दबावसामु सफलतापूर्वक प्रतिरोध गरेको छ भन्ने कथन।
आईआरजीसीसँग आबद्ध फार्स समाचारसंस्थाले भनेको छ, "इरानको युद्धविराम योजनामा आर्थिक प्रतिबन्ध हटाइने, युद्धमा भएका क्षतिको क्षतिपूर्ति, अमेरिकी फौजको फिर्ती पर्छ।"
वरिष्ठ इरानी अधिकारीहरूले पनि त्यस्तै टिप्पणी गरेका छन्। इरानका उपराष्ट्रपतिको वक्तव्यमा युद्धको आरम्भमै मारिएका सर्वोच्च नेता अली खामेनेईतर्फ इङ्गित गर्दै "खामेनेई सिद्धान्त"को जित भएको उल्लेख छ।
यसै समयमा आईआरजीसीका पूर्वप्रमुख तथा देशका नयाँ नेताका सल्लाहकार मोहसेन रेजीले इरानी फौज उच्च सतर्कता तथा तुरुन्तै प्रतिरोधमा जान सक्ने गरी तम्तयार रहेको बताए।
तथापि विजयको यो कथन धरातलीय यथार्थभन्दा कमजोर छ।
इरानको सेनाले उल्लेखनीय क्षति बेहोरेको छ। उसै पनि वर्षौँको अमेरिकी आर्थिक प्रतिबन्धले गलेको अर्थतन्त्र झन् खस्किएको छ। युद्धकै दौरान कम्तीमा १३ जनालाई मृत्युदण्ड दिइयो। तीमध्ये धेरैलाई जासुसीको अभियोग लगाइएको थियो र केहीलाई ज्यानुअरीमा भएको देशव्यापी विरोधप्रदर्शनका बेला पक्राउ गरिएको थियो।
यी कदमहरूले संस्थापनभित्र आन्तरिक विरोधलाई लिएर व्याप्त गहिरो चिन्ता देखिन्छ।
शान्तिवार्ताको अगाडि जलमार्ग खोल्नुपर्ने भनेर अमेरिकाले मुख्य माग राखेको थियो - तर उक्त माग पूरा हुन त्यति सहज देखिँदैन।
बुधवार चेतावनी जारी गर्दै इरानले आईआरजीसीको अनुमतिबिना जलमार्ग प्रयोग गर्ने पानीजहाजलाई "निसानामा पारिने र ध्वस्त बनाइदिने" भन्यो।
ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलाइन लेभिटले यस "अस्वीकार्य" अवस्थाबारे राष्ट्रपति ट्रम्पलाई जानकारी गराइएको बताइन्।
इरानका उपविदेशमन्त्री सैइद खातिब्जादेहले बिहीवार बीबीसीसँग बोल्दै इरानले सो जलमार्गमा "सुरक्षित आवतजावतका निम्ति सुरक्षा" प्रदान गर्ने बताए - इरानविरुद्ध अमेरिकी युद्धभन्दा अगाडि सो मार्ग "हजारौँँ वर्षदेखि खुला" रहँदै आएको पनि उनले बताए।
तथापि "अमेरिकाले आक्रामकतालाई वास्तवमै छाडेपछि मात्र" जलमार्ग पुन: खुला हुने उनले बताए। उनले इजेलको लेबननमाथि जारी आक्रमणलाई इङ्गित गर्दै त्यसो भनेको देखिन्छ।
खातिब्जादेहले इरानले "अन्तर्राष्ट्रिय मान्यता तथा अन्तर्राष्ट्रिय कानुन"को पालना गर्ने बताए। तर उनी सो जलमार्ग अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा नपर्ने र त्यसैले त्यसमा हुने सुरक्षित आवतजावत "इरान र ओमानको सद्भावमा निर्भर" हुने तर्क गर्छन्।
सो जलमार्ग अन्तर्राष्ट्रिय सामुद्रिक कानुनद्वारा तथा संयुक्त राष्ट्रसङ्घको समुद्रको कानुनसम्बन्धी महासन्धि (यूएनसीएलओएस)द्वारा प्रशासित छ जसले गैरसैनिक सामुद्रिक यात्राको सुरक्षाको विषय समेट्छ।
डरलाग्दो नजिर
उसो भए अब इरानले के गर्ला? इरानी संसद्मा प्रस्तुत सो जलमार्ग नियन्त्रणको प्रस्तावमा नौ बुँदा छन्।
एउटा मुख्य प्रावधानमा "दुस्मनका पानीजहाजलाई आवतजावत गर्न दिइने छैन" भनिएको छ। वैकल्पिक रूपमा इरानले त्यहाँबाट आवतजावतको सेवा उपलब्ध गराउने भनिएको छ जसबमोजिम पानीजहाज कम्पनीहरूले इरानी मुद्रामा शुल्क भुक्तानी गर्नुपर्छ अनि इरानी ब्याङ्क खाता खोल्नुपर्छ। आफूले ढुवानी गरिरहेको सामग्री घोषणा गर्नुपर्ने पनि त्यसमा उल्लेख छ।
यो निकै जटिल प्रस्ताव हो र यसलाई मतदानमा लगिएको छैन।
यदि इरानले होर्मुज जलमार्गबाट आवतजावत गर्ने पानीजहाजलाई शुल्क लगायो भने के अमेरिका तथा उसका पश्चिमा अनि क्षेत्रीय साझेदारहरूले स्वीकार गर्लान् कि नगर्लान् भन्ने प्रश्न टड्कारो छ। पछिल्ला प्रतिक्रियाहरूले त्यसको चर्को विरोध हुने देखाएको छ किनकि स्वतन्त्र आवतजावतलाई अमेरिका तथा उसका साझेदारले केन्द्रीय सिद्धान्त मान्छन्। अनि कुनै पनि शुल्क लिने व्यवस्थाले खतरनाक नजिर स्थापित गर्न सक्छ।
यदि इरान सफल भए त्यसले महत्त्वपूर्ण रणनीतिक र प्रतीकात्मक विजय भएको देखाउने छ। यसले विश्वको सबभन्दा महत्त्वपूर्ण सामुद्रिक नाकामा उसको नियन्त्रण क्षमता प्रदर्शित गर्ने छ।
तर यसले अमेरिकी साझेदारहरू, नेटो सदस्यहरू तथा क्षेत्रीय शक्तिहरूलाई एकजुट गराइदिने र त्यसले इरानविरुद्ध समन्वयात्मक ढङ्गको कूटनीतिक, आर्थिक वा सैन्य प्रतिक्रिया निम्तने जोखिम पैदा गर्न सक्छ।
स्यारा बेलबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।