इरान विश्वकप खेल्न अमेरिका गएन भने के हुन्छ

फिफा विश्वकपको ट्रफी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप फुटबल २०२६ संयुक्त रूपमा आयोजना गर्दै छन्
पढ्ने समय: ४ मिनेट

इरान आसन्न विश्वकप फुटबल २०२६ मा सहभागी हुन सक्ने परिस्थितिमा नभएको इरानी खेलकुद तथा युवामन्त्री अहमद दन्यामलीले बताएका छन्।

आगामी जुन ११ मा आरम्भ हुने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न लागेका छन्।

समूह चरणमा इरानको पहिलो खेल न्यूजील्यान्डसँग जुन १५ मा, दोस्रो खेल बेल्जमसँग जुन २१ मा र तेस्रो खेल इजिप्टसँग जुन २६ मा हुने तय भएको छ। फिफाले पहिला दुई खेल लस एन्जलिसमा र तेस्रो खेल सियाटलमा हुने जनाएको छ।

तर अमेरिका र इजरेलले इरानमा आक्रमण गर्न थालेपछि उक्त देशको राष्ट्रिय टोली विश्वकपमा सहभागी होला कि नहोला भनेर संशय उत्पन्न भएको छ। आक्रमणमा परेर इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको पनि मृत्यु भएपछि इरानले इजरेल र मध्यपूर्वका अरू देशमा अवस्थित अमेरिकी सैन्य शिविरहरूमा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको थियो।

फिफा अध्यक्ष जानी इन्फ्यान्टीनोले आफूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विश्वकपको तयारी र इरानमा विद्यमान अवस्थाबारे छलफल भएको जानकारी र प्रतियोगितामा इरानको सहभागिताबारे उनी सकारात्मक भएको बताएका छन्।

"छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीले प्रतियोगितामा पक्कै पनि भाग लिन पाउँछ भन्ने कुरा दोहोर्‍याए," इन्फ्यान्टीनोले इन्स्टाग्राममा बुधवार लेखेका छन्।

त्यसअघि आईआरआईबी स्पोर्ट्स नेटवर्कलाई मङ्गलवार दिएको अन्तर्वार्तामा इरानी मन्त्री दन्यामालीले "यो भ्रष्ट सरकारले हाम्रा नेतालाई मारेको हुनाले कुनै पनि हालतमा हामी विश्वकपमा सहभागी हुने उपयुक्त अवस्था छैन" भनेका थिए।

"हाम्रा खेलाडीहरू सुरक्षित छैनन् अनि सहभागी हुने अवस्था छैन।"

"विगत आठ वा नौ महिनामा हामीविरुद्ध दुइटा युद्ध भए अनि हाम्रा हजारौँ मानिस मारिए, शहीद भए। तसर्थ हामी सहभागी हुने सम्भावना छैन।"

अहिले मानिसहरूलाई एकताबद्ध गर्न पहिलाको भन्दा अझ बढी फिफा विश्वकपजस्तो कार्यक्रम आवश्यक भएको भन्दै इन्फ्यान्टीनोले लेखेका छन्, "एक पटक फेरि फुटबलले विश्वमा एकताबद्ध गर्न लागेको बेला म संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई उहाँले गर्नुभएको सहयोगका लागि धन्यवाद दिन्छु।"

फिफा अध्यक्ष जानी इन्फ्यान्टिनो र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प डिसेम्बरमा विश्वकपमा सहभागी हुने टोलीहरूको समूह विभाजनका बेला हात मिलाउँदै

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, फाइल तस्बिर

भर्खरै इरानी महिला राष्ट्रिय टोलीका छ सदस्यलाई "सुरक्षा खतरा" रहेको भन्दै अस्ट्रेलियाले उनीहरूलाई शरण दिने निर्णय गरेपछि इरानी फुटबल सङ्घका प्रमुख मेहदी ताजले विश्वकपमा सहभागी हुन जाने विषयमा प्रश्न गरेका थिए।

एशिया कप फुटबलबाट बाहिरिएपछि इरानी महिला टोलीका बाँकी खेलाडीहरू अस्ट्रेलियाबाट फर्किए।

अस्ट्रेलियाका गृहमन्त्री टोली बर्कका अनुसार सात खेलाडीलाई आश्रय दिइएकोमा पछि एक जना आफ्नो निर्णय फेर्दै घर फर्किन्।

"महिला फुटबल खेलाडीहरूले समस्या भोग्नुपरेको अवस्थामा यदि विश्वकपमा यस्तै हुन्छ भने बुद्धि भएको कसैले पनि आफ्नो टोली अमेरिका पठाउन तयार हुँदैन।"

विकल्प के होला

गत वर्ष मार्चमा एएफसी छनोट प्रतियोगितामा यूएईसँग खेल्नुअघि इरानी राष्ट्रिय टोलीका खेलाडीहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, गत वर्ष मार्चमा एएफसी छनोट प्रतियोगितामा यूएईसँग खेल्नुअघि इरानी राष्ट्रिय टोलीका खेलाडीहरू

इरानले चौथो पटक लगातार विश्वकपमा सहभागी हुने अवसर पाएको हो।

यदि इरानले प्रतियोगितामा सहभागी नहुने निर्णय गर्‍यो भने फिफाको विद्यमान नियमानुसार अर्को टोलीलाई खेल्ने अवसर दिन सक्छ। त्यस्तो अवस्थामा त्यो कुन देश हुन्छ भन्ने चाहिँ स्पष्ट छैन।

एशियाली फुटबल महासङ्घका इराक र यूएईमध्ये एउटा टोलीले त्यस्तो अवसर पाउन सक्ने ठानिएको छ। इराक यो महिना हुने प्ले-अफ खेलबाट आफैँ छनोट हुन सक्छ। यूएईले भने त्यो बाटो गुमाइसकेको छ।

यद्यपि फिफाको नियममा कुनै देश प्रतियोगितामा सहभागी नहुने भए त्यसको सट्टामा अवसर पाउने टोली सोही क्षेत्रको हुनैपर्छ भन्ने छैन।

विश्लेषण : 'इरान सहभागी हुन्न भन्नु हतार हुन्छ'

पूरिआ जाफरे, बीबीसी न्यूज पर्सियन

इरानी खेलकुदमन्त्रीले जे भनेको भए पनि अहिले नै इरानी राष्ट्रिय टोली विश्वकपमा सहभागी हुँदैन भन्नु अलिक हतारो हुन्छ।

इरानी फुटबल महासङ्घले अन्तिम निर्णय गर्छ।

अहिले फिफा इरानी टोली न्यूजील्यान्ड, बेल्जम र इजिप्टसँग निर्धारित खेलहरूमा सहभागी हुन्छ भन्ने पक्षमा छ।

इरानले विश्वकप खेल्न जान अस्वीकार गरेमा त्यसबाट गम्भीर प्रभावहरू पर्न सक्छन्।

हामीले विगतमा त्यसो भएको देखेका छौँ।

सन् १९८२ विश्वकप छनोटमा इरानले कुवेतविरुद्ध खेल्न अस्वीकार गर्‍यो। उक्त निर्णयका कारण इरान विश्वकप प्रतियोगितामा पुग्नै सकेन भने फिफाले त्यसपछिको प्रतियोगितामा सहभागी हुन नपाउने गरी इरानलाई प्रतिबन्धित गर्‍यो।

अहिले फिफाले सम्भवतः केही समय प्रतीक्षा गर्ने छ। यो महिनाको अन्त्यतिर हुने प्ले-अफ खेलहरूबाट छनोट हुने सबै टोलीहरूको छिनोफानो हुन्छ। उसलाई त्यसका आधारमा निर्णय गर्न सहज हुने छ।

त्यति बेलासम्म मध्यपूर्वमा अहिले जारी द्वन्द्व कस्तो अवस्था पुग्छ भन्ने स्पष्ट हुन सक्छ। अहिले अमेरिकी राष्ट्रपति ट्रम्प र इरानको सैन्य नेतृत्वलाई बुझ्न सजिलो छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।