धादिङ दुर्घटनामा १९ जनाको मृत्यु, बसभित्र च्यापिएका एक यात्रुको पाँच घण्टापछि उद्धार

तस्बिर स्रोत, RSS
धादिङमा आइतवार मध्यरातपछि भएको यात्रुवाहक बस दुर्घटनामा विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार पोखराबाट काठमाण्डूतर्फ गइरहेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिकामा पर्ने सडकबाट त्रिशूली नदीको किनारमा खसेको थियो।
नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेका अनुसार घटनास्थलमा १७ जनाको मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या १९ पुगेको छ।
प्रहरीका अनुसार दुर्घटनास्थलबाट उद्धार गरी उपचारका लागि धादिङको गजुरी लगिएका एक र काठमाण्डू लगिएका अर्का घाइतेको पनि मृत्यु भएको हो।
घटनास्थल पृथ्वी राजमार्ग अन्तर्गतको चरौँदी बजारनजिक पर्छ। प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बस सडकबाट तल खसेको बताए।
बस दुर्घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन। तर बीबीसीसँग कुराकानी गर्दै एक घाइते यात्रुले चालकको लापरबाहीका कारण दुर्घटना भएको दाबी गरेकी छन्।
धादिङ प्रहरीका अनुसार मृतकमध्ये छ महिला र १३ पुरुष छन्। केही मृतकको परिचय खुल्न बाँकी रहेको पनि प्रहरीले जनाएको छ।
बसको पार्टपुर्जा काटेर एक यात्रुलाई बाहिर निकालियो

तस्बिर स्रोत, RSS
राष्ट्रिय समाचार समितिका अनुसार बसको भग्नावशेषमा फसेका एक यात्रुलाई दुर्घटना भएको पाँच घण्टापछि जीवितै उद्धार गरिएको छ।
प्रहरीलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले ती व्यक्ति ललितपुरको इमाडोल घर भएका कृष्णराज मानन्धर भएको जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमित खड्काका अनुसार भीरमा बजारिएर कच्याककुचुक बनेको बसभित्रै च्यापिएका मानन्धरलाई बसको पार्टपुर्जा काटेर बाहिर निकालिएको र उपचारका लागि काठमाण्डू पठाइएको हो।
"मलाई बचाउनुहोस् भन्दै यात्रु चिच्याइरहेका थिए । हामीसँग तुरुन्तै बस उठाउन सक्ने वा काट्न सक्ने कुनै उपकरण थिएन। धेरै समय सान्त्वना दिएर राख्यौँ, जेनरेटरसहितको मशीन लगेर बसको साइलेन्सर र पछाडिको टायरपट्टिको भाग काटेर मानन्धरलाई बाहिर निकाल्यौँ," राष्ट्रिय समाचार समितिको विवरणमा प्रहरी उपरीक्षक खड्कालाई उद्धृत गरिएको छ।
बसमा को थिए

तस्बिर स्रोत, RSS
माछापुच्छ्रे टूर्स एन्ड ट्राभल्सको उक्त बस आइतवार साँझ ७ बजे पोखराबाट ३४ यात्रु लिएर हिँडेको जानकारी पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष ऐनकुमार साईले राष्ट्रिय समाचार समितिलाई दिएका छन्।
उक्त बसमा केही विदेशी नागरिकहरू पनि थिए। तीमध्ये एक ब्रिटिश युवकको मृत्यु भएको चीन र न्यूजील्यान्डका एक-एक नागरिक घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि उद्धारमा खटिएको धादिङ जिल्ला प्रहरीका अनुसार बसमा चालकसहित कुल ४४ जना सवार थिए। तीमध्ये २९ पुरुष र १५ महिला थिए।
अधिकारीहरूका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकाहरूलाई उद्धार गरी काठमाण्डू पठाइएको छ। तीमध्ये १४ जनालाई राष्ट्रिय ट्रमा सेन्टरमा र १० जनालाई कलङ्कीस्थित नेश्नल मेडिकल कलेजमा भर्ना गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घाइतेहरूमध्ये कम्तीमा तीन जना गम्भीर अवस्थामा छन्।
सामान्य घाइते भएकी एक विदेशी महिलालाई मलेखुस्थित टीचिङ अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

तस्बिर स्रोत, shiva silwal
बस त्रिशूली नदी किनारमा खसेको र त्यो ठाउँ ठाडो भिरालो भएकाले घाइतेहरूलाई नदीको एक किलोमिटर जति तल्लो भागमा पुर्याएर उद्धार गर्न सकिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए।
घटनास्थलमा मृत्यु भएकाहरूको शव धादिङ अस्पताल र गजुरी स्वास्थ्य केन्द्रमा राखिएको छ।
पृथ्वी राजमार्ग खण्डमा बस दुर्घटना पटकपटक हुने गर्छ। तर दुर्घटनाको यकिन कारण खुल्ने गरेको पाइँदैन।
नारायणघाट, चितवनस्थित संवाददाता ईश्वर जोशीको सहयोगमा।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

























