सबै क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सकियो, 'सङ्ख्या अद्यावधिक' गर्दै निर्वाचन आयोग
निर्वाचन आयोगले १६५ वटै क्षेत्रमा समानुपातिकतर्फको मतगणना पनि सकिएको र अन्तिम परिणाम घोषणा गर्नुअघि सङ्ख्याअद्यावधिक र रुजु गर्ने काम भइरहेको जनाएको छ।
सारांश
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको पनि मतगणना सकिएको जनाएको छ
एक करोड आठ लाखभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ६७ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छ, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५७ हजार मत कटाएको छ
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि क्रमशः सानोमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्
लाइभ कभरेज
समानुपातिक प्रणालीतर्फको सीट भोलिसम्म बाँडफाँट गरिसक्ने 'निर्वाचन आयोगको योजना'
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फको पनि मतगणना आजबाट सकिएको जनाएको छ।
पार्टीहरूले समानुपातिक प्रणालीतर्फ पाएको मतका आधारमा भोलि सीट वितरण गर्ने योजना रहेको निर्वाचन आयोगका एक अधिकारीले बताएका छन्।
प्रत्यक्ष प्रणालीतर्फ सबै १६५ स्थानको परिणाम घोषणा गरेको आयोगले एक साताभित्र समानुपातिक प्रणालीबाट निर्वाचित भएका उम्मेदवारहरूलाई पनि प्रमाणपत्र दिइने तयारी गरिएको बताएको छ।
एक करोड आठ लाख ३५ हजारभन्दा बढी समानुपातिक मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ५१ लाख ८३ हजारभन्दा बढी मतसहित अग्रस्थानमा छ, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ५९ हजार मत कटाएको छ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ ठूलोदेखि क्रमशः सानोमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी छन्।
यी विवरणसहित हामी आजलाई यो लाइभ पेजबाट बिदा माग्छौँ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्नयहाँ क्लिक गर्नुहोस्। तपाईँफेसबुक, इन्स्टाग्राम रट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
समानुपातिक उम्मेदवार अब कसरी निर्वाचित हुन्छन्?, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले समानुपातिकतर्फ तीन प्रतिशत थ्रेसहोल्ट कटाउने दलहरूलाई भोलिसम्म सीट बाँडफाँट गरिसक्ने योजना रहेको बताएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले समानुपातिक प्रणालीबाट दलहरूले पाएको मतका आधारमा बाँडफाँट हुने ११० वटा सीटको टुङ्गो भोलि नै लगाउने तयारी भइरहेको बताए।
“त्यसपछि कानुनमा तीन दिनभित्र नाम पेस गर्ने गरी दलहरूलाई पत्राचार गर्ने भन्ने व्यवस्था छ। छिटो गरेर एक दुई दिन पनि हुन सक्छ।”
कर्णालीमा पराजित 'ठूला' नेता, प्रकाश पन्त, सुर्खेत
कर्णालीका 'हेभिवट' नेताको रूपमा चिनिएका कतिपय नेताहरू यसपालि प्रतिनिधिसभामा जान विफल भएका छन्।
बारम्बार मन्त्री भएका, दलभित्र र बाहिर राम्रो प्रभाव राख्ने नेताहरू पनि यो निर्वाचनमा नराम्ररी पराजित भएका छन्।
संविधानसभाका लागि भएको निर्वाचनदेखि रुकुमबाट लगातार जित्दै आएका पूर्वगृहमन्त्री जनार्दन शर्मा र २०७० सालबाट चुनाव जित्दै आएका अर्का पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत यसपालि मतदाताबाट अनुमोदित हुन सकेनन्।
माओवादीमा हुँदा निकै शक्तिशाली मानिने गरेका शर्मा आफ्नै पूर्वस्वकीय सचिव गोपाल शर्मासँग चुनाव हारेका छन्।
जनार्दन शर्मा माओवादी छोडेर प्रलोपाबाट चुनाव लडेका थिए। उनले विगतमा गृह, अर्थ, ऊर्जा र शान्ति मन्त्रालयको नेतृत्व गरेका थिए।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डका एकदमै विश्वासपात्र मानिने शक्तिबहादुर बस्नेतले पनि यसपालि हारको स्वाद चाखेका छन्। गृह, ऊर्जा, स्वास्थ्य र वनमन्त्री भएका उनी कांग्रेसका जाजरकोट उपसभापति खड्कबहादुर बुढासँग पराजित भएका हुन्।
दैलेख २ बाट दोस्रो पटक चुनाव लडेका कांग्रेसका दिक्पाल शाहीले पनि चुनावमा नराम्रो पराजय भोगेका छन्। उनी २०७९ को चुनावमा आफूले हराएका एमालेका लक्ष्मीप्रसाद पोखरेलसँग पराजित भए।
विसं २०७० संविधानसभा, २०७४ मा प्रदेशसभा र २०७९ मा प्रतिनिधिसभा सदस्य जितेका दैलेखका अमरबहादुर थापाको पनि संसदीय यात्रामा 'ब्रेक' लागेको छ। प्रदेशमन्त्री समेत भएका उनी यसपालि कांग्रेसकी बासना थापासँग पराजित भए।
अठार वर्षपछि संसदीय राजनीतिमा फर्केर चुनाव लडेका नेकपा माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा पनि कालीकोटमा पराजित भएका छन्।
तात्कालिक नेकपा माओवादी छाडेर एमाले हुँदै उज्यालो नेपाल पार्टीबाट चुनाव लडेका भूतपूर्व प्रदेशसभा सदस्य ठम्बर विष्ट अनि एमाले छाडेर नेकपा समाजवादी हुँदै नेकपामा पुगेका पूर्वमन्त्री चन्द्रबहादुर शाहीले पनि चुनाव जित्न सकेनन्। देशभरि रास्वपाको लहर आउँदा पनि उक्त दलबाट गएको चुनावमा समानुपातिक सांसद बनेकी जुम्लाकी विनिता कठायतले जुम्लामा धरौटी पनि जोगाउन सकिनन्।
देशैभरि सकियो समानुपातिकतर्फको पनि मतगणना, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकिएको बताएको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले देशका १६५ निर्वाचन क्षेत्रमै समानुपातिक प्रणालीतर्फ दलहरूले पाउने मतको गणना सकिएको बीबीसी न्यूज नेपालीलाई बताए।
“समानुपातिकतर्फको मतगणना सम्पन्न भएको भन्ने जानकारी आएको छ,” उनले भने।
“सम्बन्धित निर्वाचन क्षेत्रमा मतगणना सकिए पनि तथ्याङ्क सूची इन्ट्री गर्नलाई बाँकी भए जस्तो देखिन्छ। केही हजार मत थपिँदै गएको छ र अझै अन्तिम भइसकेको छैन।”
उनका अनुसार समानुपातिकतर्फ गणना भएका सबै मत आयोगको प्रणालीमा पेस गर्ने काम मतगणना सकिएका भएका निर्वाचन क्षेत्रबाट भइरहेको छ।
निर्वाचन आयोगले चैत्र ५ गतेभित्र अन्तिम निर्वाचन प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने योजना बनाएको छ।
तीन चुनावमा घट्दो चार दलको समानुपातिक मत, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
नयाँ संविधान जारी भएपछि विसं २०७४ सालमा भएको संसदीय निर्वाचनमा ३१ लाख मत कटाएका नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलले यो निर्वाचनमा १७ प्रतिशतभन्दा कम मत पाए।
अघिल्लो निर्वाचनमा जम्मा १२ प्रतिशतभन्दा केही बढी मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा ४७ प्रतिशत मत ल्याउँदा कांग्रेस त एमाले सहितका पुराना धेरै दलहरूको मत खस्किएको छ।
अपराह्न ४ बजेसम्मको तथ्याङ्क अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५१ लाख ६७ हजार मत कटाएको छ।
दोस्रो स्थानमा रहेको कांग्रेसले यो निर्वाचनमा १६ प्रतिशत भन्दा केही बढी मत मात्रै पाएको छ भने अघिल्ला दुवै निर्वाचनमा समानुपातिक तर्फ सबैभन्दा धेरै मत पाएको एमालेले १४ लाख ५३ हजार मत मात्रै कटाएको छ।
अघिल्लो निर्वाचनमा ११ लाख ७५ हजार बढी मत ल्याएर झन्डै १३ प्रतिशत मत पाएको तत्कालीन नेकपा माओवादी केन्द्र पनि मिलेर बनेको अहिलेको नेपाली कम्युनिस्ट पार्टी यो निर्वाचनमा ८ लाख १० हजार अर्थात् साढे ७ प्रतिशत मतमा सीमित देखिएको छ।
अघिल्लो निर्वाचनमा ६ प्रतिशत मत कटाएर ७ जना सांसद जिताएको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनमा तीन प्रतिशत थ्रेश्होल्ड कटाउने अन्तिम छैटौँ दल बनेको छ।
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा 'डेब्यू' गर्दै १२ जना, प्रकाश पार्की, डडेलधुरा
प्रत्यक्ष निर्वाचनबाट सुदूरपश्चिम प्रदेशले प्रतिनिधिसभामा १६ सांसद पठाउँछ। यसपालि १२ जना पहिलो पटक निर्वाचित भएका छन्। नवनिर्वाचित सांसदमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १० जना छन्। नेपाली कांग्रेस र नेकपा एमालके तीन-तीन जना छन्।
पहिलो पटक निर्वाचित सांसदहरू
रास्वपा
कैलाली १ बाट कोमल ज्ञवाली, कैलाली २ बाट केपी खनाल, कैलाली ३ बाट जगतप्रसाद जोशी, कैलाली ४ बाट खेमराज कोइराला, कैलाली ५ बाट आनन्दबहादुर चन्द
कञ्चनपुर १ बाट जनकसिंह धामी, कञ्चनपुर २ बाट दीपकराज बोहरा, कञ्चनपुर ३ बाट ज्ञानेन्द्र महता
बैतडीबाट हरिमोहन भण्डारी
डडेलधुराबाट डा ताराप्रसाद जोशी (रास्वपा)
एमाले
बझाङबाट ऐनबहादुर महर
नेपाली कांग्रेस
अछाम १ बाट भरतकुमार स्वाँर
निर्वाचित हुनेमध्ये चार जनासँग संघीय संसद्को अनुभव छ। दार्चुलामा विजयी गणेशसिंह ठगुन्ना र अछाम २ मा विजयी यज्ञबहादुर बोगटी एमालेका हुन्।
डोटीमा विजयी भरतबहादुर खड्का यसअघि संविधानसभा सदस्य र प्रदेशसभा सदस्य भइसकेका अनुभवी नेता हुन्। बाजुराबाट निर्वाचित कांग्रेसका जनकराज गिरी पनि संसदीय अनुभव भएका नेता हुन्। उनी २०५६ सालको निर्वाचनमा सांसद बनेका थिए।
१२ मध्ये चार हिमाली जिल्लामा मात्रै रास्वपालाई धेरै मत, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
देशका अधिकांश जिल्लामा समानुपातिकतर्फ पनि पहिलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी धेरै हिमाली जिल्लाहरूमा भने पछाडि परेको छ।
बीबीसीले अध्ययन गरेका १२ वटा हिमाली जिल्लाको मतपरिणाममा चार वटामा मात्रै रास्वपाले सबैभन्दा धेरै मत पाएको छ। तीमध्ये गोरखामा मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।
हुम्ला जिल्लामा प्रत्यक्षतर्फको निर्वाचन जितेको नेपाली कांग्रेसले समानुपातिकमा सबैभन्दा धेरै मत पाएको छ। रास्वपाले यो जिल्लामा चौथो धेरै मत पाएको छ।
सँगैको अर्को हिमाली जिल्ला मुगुमा पनि नेपाली कांग्रेसले समानुपातिक र प्रत्यक्ष दुवैमा सबैभन्दा धेरै मत पाएको छ। यो जिल्लामा पनि रास्वपा चौथो भएको छ।
नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष निर्वाचन जितेको डोल्पामा समानुपातिकतर्फ पनि नेकपाले सबैभन्दा धेरै मत पाएको छ। यो जिल्लामा रास्वपा तेस्रो छ।
गण्डकी प्रदेशका हिमाल पारिका जिल्ला भनेर चिनिने मुस्ताङ र मनाङ दुवैमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्। यी दुवै जिल्लामा समानुपातिकतर्फ पनि कांग्रेसले धेरै मत पाएको छ। दुवै जिल्लामा दोस्रो धेरै समानुपातिक मत रास्वपाले पाएको छ।
तस्बिर स्रोत, RSS
मतगणना जारी रहेको गोरखामा रास्वपाले सबैभन्दा धेरै समानुपातिक मत पाएको छ। यो जिल्लाका दुवै निर्वाचन क्षेत्रबाट रास्वपाका उम्मेदवार निर्वाचित भएका छन्। यो जिल्लामा नेपाली कांग्रेसले दोस्रो धेरै मत पाएको छ।
रसुवामा प्रत्यक्ष निर्वाचन जितेको कांग्रेसले समानुपातिकतर्फ पनि धेरै मत पाएको छ। रास्वपाले यो जिल्लामा दोस्रो धेरै त पाएको छ।
दुईमध्ये एउटा निर्वाचन क्षेत्रबाट रास्वपा र अर्को नेकपाका उम्मेदवार निर्वाचित भएको सिन्धुपाल्चोकबाट रास्वपाले समानुपातिकतर्फ धेरै मत पाएको छ। यो जिल्लामा नेकपाले दोस्रो धेरै समानुपातिक मत पाएको छ।
रास्वपा उम्मेदवार प्रत्यक्षमा निर्वाचित भएको दोलखामा यो दलले समानुपातिक तर्फ पनि धेरै मत पाएको छ। नेकपा एमालेले यहाँ दोस्रो धेरै मत पाएको छ।
प्रत्यक्ष निर्वाचन पनि जितेको सोलुखुम्बुमा कांग्रेसले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको छ। यहाँ रास्वपाले दोस्रो धेरै मत पाएको छ।
प्रत्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएको सङ्खुवासभामा समानुपातिकतर्फ भने एमाले दोस्रो स्थानमा खुम्चिएको छ।
नेकपा एमालेका उम्मेदवार प्रत्यक्षबाट निर्वाचित भएको ताप्लेजुङमा समानुपातिकतर्फ पनि एमाले अगाडि छ। यो जिल्लामा समानुपातिकतर्फ कांग्रेस दोस्रो स्थानमा छ।
कुन हिमाली जिल्लामा समानुपातिक मत कसको बढी
हुम्ला- नेपाली कांग्रेस
मुगु- नेपाली कांग्रेस
डोल्पा- नेकपा एमाले
मुस्ताङ- नेपाली कांग्रेस
मनाङ- नेपाली कांग्रेस
गोरखा- रास्वपा
रसुवा- नेपाली कांग्रेस
सिन्धुपाल्चोक- रास्वपा
दोलखा- रास्वपा
सोलुखुम्बु- नेपाली कांग्रेस
सङ्खुवासभा- रास्वपा
ताप्लेजुङ- नेकपा एमाले
रास्वपाले प्रधानमन्त्रीका रूपमा अगाडि सारेका
कोशीमा बालेनसहित आधाजसो चुनाव जित्ने ४० वर्षमुनिका, विक्रम निरौला, विराटनगर
कोशी प्रदेशबाट चुनाव जित्ने २८ जनामध्ये आधाजसो उम्मेदवार ४० वर्ष मुनिका रहेको निर्वाचन आयोगको विवरणमा पाइएको छ।
रास्वपाबाट प्रधानमन्त्रीमा अघि सारिएका बालेन्द्र शाह बालेनसहित १२ जना उम्मेदवारको उमेर ४० वर्ष मुनिका रहेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ।
कोशीबाट चुनाव जित्नेमध्ये सबैभन्दा कम उमेरका झापा-१ बाट रास्वपाकी निशा डाँगी २९ र खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई २९ वर्षका छन्।
सबैभन्दा बढी उमेर भएका सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की ६२ र सङ्खुवासभाबाट एमालेका अर्जुन कार्की ६२ वर्षका छन्।
कोशी प्रदेशमा रास्वपाबाट १७, नेपाली काँग्रेस र एमालेबाट ४-४ जना र श्रम संस्कृति पार्टीबाट तीन जनाले जितेका छन्।
जेनजी आन्दोलनमा ज्यान गुमाएका एक युवाका परिवारले ताजा चुनावी नतिजाले आफूहरूमा आशा पलाएको बताएका छन्।
धनगढीका गौरव जोशीका बाबु वासुदेव जोशीले पुरानै राजनीतिक दल फेरि सत्तामा फर्किएर अवस्था बिग्रेला भन्ने चिन्ता लागेकामा यतिखेर केही राहत महसुस गरेको बीबीसीलाई बताए।
“अहिले नयाँ शक्तिको उदयले केही आशा पलाएको छ,“आफ्ना सन्तानको बलिदानले देशमा परिवर्तनका लागि नयाँ बाटो देखाएको बताउँदै उनले बीबीसीसँग भने। “धेरै खुसी लागेको छ। यति ठूलो आशा त थिएन। कतै पुरानै शक्तिहरू फेरि सत्तामा आएर अवस्था उस्तै बनाउने हुन् कि भन्ने डर थियो। तर अहिले आएर बच्चाहरूले गरेको आन्दोलन खेर गएनछ भन्ने लागेको छ।”
तस्बिर स्रोत, Hikmat Bahadur Rawal/BBC
जेनजी आन्दोलनको क्रममा भदौ २३ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा उनका छोरा गौरव मारिएका थिए।
“हाम्रो बच्चा त गुम्यो, तर देशलाई केही दिएर गयो। अब गोली हान्नेहरूलाई सरकारले कानुनी कठघरामा उभ्याउने आशा छ। छानबिन समितिले प्रतिवेदन बुझाइसकेको छ, अब न्यायको पालो आउला,” बुवा वासुदेव जोशीले भने।
उक्त आन्दोलनमा सुदूरपश्चिम घर भएका सात जना युवाले ज्यान गुमाउनुका साथै दर्जनौँ घाइते भएका थिए।
लुम्बिनी प्रदेशमा झन्डै १ लाख १२ हजार मत बदर, बिमला चौधरी, नेपालगन्ज
तस्बिर स्रोत, EPA
लुम्बिनी प्रदेशमा झन्डै एक लाख १२,००० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको छ।
प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार प्रदेशका १२ जिल्लामा पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानमा उल्लेखनीय मत सदर भए पनि केही मत बदर भएको देखिएको हो।
लुम्बिनी प्रदेशमा कुल ३३ लाख ८६,६८० मतदाता रहेकामा २० लाख २०,६०५ मत खसेको थियो। त्यसमध्ये १९ लाख ८,६४९ मत सदर भएको र बाँकी एक लाख ११,९५६ मत बदर भएको जनाइएको छ।
प्रदेशको सबैभन्दा धेरै मतदाता रहेको रूपन्देही जिल्लामा मात्र २२ हजार ३५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
अधिकांश बदरका घटनामा एउटै मतपत्रमा दुईवटा चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएको र केही मत पत्रमा औँठाछाप तथा मसी लतपतिएको पाइएको बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाही बताउँछन्।
उनका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहे पनि स्थान, समुदाय र भाषागत विविधताका कारण यसको प्रभाव सीमित देखिएको पाइन्छ।
निर्वाचन आयोगले इलाम १ र गोरखा १ मा समानुपातिकतर्फ मतगणना सकिएपछि अन्तिम परिणाम घोषणा हुने जनाएको छ।
अहिलेसम्मको विवरणअनुसार श्रम संस्कृति पार्टी इलाम १ मा र राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा १ मा अग्रस्थानमा छन्।
इलाम १
श्रम संस्कृति पार्टी - १६,५५०
राष्ट्रिय स्वतन्त्र पार्टी - १३,७९६
नेपाली कांग्रेस - १०,८१६
नेकपा एमाले - १०,३८२
नेपाली कम्युनिस्ट पार्टी - ४,५८३
राष्ट्रिय प्रजातन्त्र पार्टी - ९८३
गोरखा १
राष्ट्रिय स्वतन्त्र पार्टी - ३०,८४८
नेपाली कांग्रेस - १४,१६९
नेपाली कम्युनिस्ट पार्टी - १०,७०१
नेकपा एमाले - ३,७७९
राष्ट्रिय प्रजातन्त्र पार्टी - ६२२
प्रगतिशील लोकतान्त्रिक पार्टी- ५४१
श्रम संस्कृति पार्टी - ४८६
मधेश प्रदेशमा कैयौँ उम्मेदवारको जमानत जफत, ठूला नेता नै पराजित, माधुरी महतो, वीरगन्ज
तस्बिर स्रोत, Reuters
मधेश प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी र मधेश केन्द्रित दललाई ठूलो धक्का लागेको छ। यी दलहरूले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ निकै कम मत पाएका छन्।
मधेश प्रदेशका आठ जिल्लाका ३२ क्षेत्रमध्ये ३० वटामा रास्वपा, रौतहटको एक सीटमा मात्र कांग्रेस र धनुषाको एक सीटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विजयी भएका छन्। यसअघि ०७९ को निर्वाचनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी र मधेस केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टीबीचको गठबन्धनमा कांग्रेसले ७ सीट हात पारेको थियो। त्यति बेला समानुपातिक मत पनि यस क्षेत्रबाट कांग्रेसले बढी पाएको थियो ।
यसपालि नेकपा एमाले र तराई केन्द्रित दल भने शून्यमा झरेका छन्।
नेपाली कांग्रेसका गगन थापा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेमकिपाका प्रभु साह, नेकपाका माधव नेपाल लगायतका नेताहरू पनि पराजित भए।
पर्सामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा पर्सामा प्रतिस्पर्धामा रहेका १०७ उम्मेदवारमध्ये ९५ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा रास्वपा, नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवारबाहेक अन्य सबै पार्टीका उम्मेदवारको जमानत जफत भएको छ।
जमानत जफत हुनेमा नेकपा, राप्रपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टीलगायतका पार्टीका उम्मेदवार पनि छन्।
बाराका चार निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल ११० उम्मेदवारमध्ये ९९ जनाले जमानत जोगाउन सकेनन्।
तीन पटक मन्त्रीसमेत बनेकी एमालेकी ज्वाला साहको पनि जमानत जफत भएको छ।
रौतहटमा चारवटा निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरेका कुल उम्मेदवारमध्ये झन्डै ९० प्रतिशतको धरौटी रकम जफत भएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटले दिएको जानकारी अनुसार प्रतिस्पर्धा गरेका १४२ जना उम्मेदवारमध्ये १२८ जनाले आफ्नो जमानत जोगाउन सकेका छैनन्।
सर्लाहीको चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका पूर्वमन्त्रीसहित १५४ जनाको जमानत जफत भएको छ।
नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार पूर्वसांसद प्रमोद साह, नेकपा एमालेका उम्मेदवार ईश्वरपुर नगरपालिकाका पूर्वमेयर मनोजकुमार देवकोटासहितको जमानत जफत भएको छ।
यहाँ नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री तथा निवर्तमान प्रतिनिधिसभा सदस्य हरिप्रसाद उप्रेती, नेपाली कांग्रेसका विनोदकुमार खनाल लगायतको जमानत जफत भएको जनाइएको छ।
पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका रामेश्वर राय यादव लगायतको जमानत जफत भएको छ।
सप्तरीमा प्रतिनिधिसभा सदस्य पदका १ सय २ उम्मेदवारमध्ये ८९ जनाको जमानत जफत भएको छ।जिल्लाका चारवटै निर्वाचन क्षेत्रका गरी ८९ उम्मेदवारको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।
महोत्तरीमा पनि १०० भन्दा बढीको जमानत जफत भएको छ। तीमध्ये यसअघिका निर्वाचनमा चर्चामा रहने गरेका भरत साह पनि छन्।
यी आठ जिल्लामा १,०२७ उम्मेदवार थिए। तीमध्ये ६४७ जनाको प्रत्यक्षतर्फ १०० मत पनि नआएको निर्वाचन आयोगको तथ्याङ्कले देखाएको छ।
सुदूरपश्चिममा समानुपातिकमा पनि रास्वपा पहिलो, हिक्मतबहादुर रावल, धनगढी
तस्बिर स्रोत, Hikmat Bahadur Rawal/BBC
सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ सबैभन्दा बढ्ता १० सीट जितेको रास्वपा समानुपातिकतर्फ पनि सबैभन्दा धेरै मत प्राप्त गरेको छ।
प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रास्वपाले तीन लाख १७,८३६ मत पाउँदै प्रदेशमा पहिलो शक्ति बनेको छ।
नेपाली कांग्रेस एक लाख ८२,८४२ मतसहित दोस्रो स्थानमा छ भने नेकपा एमाले एक लाख ४७,९०९ मतसहित तेस्रो स्थानमा छ।
प्रदेशको कुल १६ सीटमध्ये यी दुवै दलले प्रत्यक्षतर्फ बाँकी ३-३ सीट जितेका थिए।
नेपाली कम्युनिस्ट पार्टी चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचौँ स्थानमा छन्।
तस्बिर स्रोत, Hikmat Bahadur Rawal/BBC
प्रत्यक्षतर्फ कुन दल कहाँ शून्य वा निकै कमजोर?, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Reuters
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीतर्फ १६५ सीटको नतिजा आइपुग्दा मुख्य दलहरू कहाँ सबैभन्दा कमजोर देखिए भनेर यहाँ केलाइएको छ।
रास्वपाका उम्मेदवारहरू सबै प्रदेशबाट विजयी भए। तर कर्णाली प्रदेशमा जम्मा एक जनाले उक्त पार्टीबाट संसद्मा प्रतिनिधित्व गर्न पाउने भएका छन्
नेपाली कांग्रेसले पनि सबै प्रदेशमा जितेको छ तर मधेशमा जम्मा एक सीटमा सीमित भएको छ।
नेकपा एमाले मधेश, कर्णाली र वाग्मती प्रदेशमा शून्यमा झरेको छ।
नेकपाकाउम्मेदवारहरूले कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशबाट जित्न सकेनन्।
श्रम संस्कृति पार्टी कोशी प्रदेशमा सीमित भएको छ। त्यहाँ उक्त दलले तीन सीट जितेको छ।
राप्रपा छवटा प्रदेशमा शून्यमा झर्यो। कर्णाली प्रदेशमा जम्मा सीट मात्र जितेको छ।
अरू कुनै पनि दलले यसपालि निर्वाचन जितेनन्।
डडेलधुरामा सबै दलले पाए समानुपातिक मत, जनप्रिय लोकतान्त्रिक पार्टीलाई जम्मा एक, प्रकाश पार्की, डडेलधुरा
तस्बिर स्रोत, Prakash Parki/BBC
समानुपातिकतर्फ डडेलधुराका मतदाताहरूले ५७ वटै राजनीतिक दललाई मत दिएका छन्।
जिल्लामा खसेको समानुपातिक मतको अन्तिम परिणामअनुसार सबै दलले कम्तीमा एक मत प्राप्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा बढी मत ल्याउँदै पहिलो बनेको छ। रास्वपाले १९,२६८ मत प्राप्त गरेको छ।
त्यसै गरी नेपाली कांग्रेस ११,८५१ मतसहित दोस्रो स्थानमा रहँदा नेपाली कम्युनिस्ट पार्टीले ५,७७२ मत पाएको छ भने एमालेले ३,२७५ मत प्राप्त गरेको छ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २,३९२ मत पाउँदा श्रम संस्कृति पार्टीले २३२ मत ल्याएको छ भने जनप्रिय लोकतान्त्रिक पार्टीले सबैभन्दा कम एक मत मात्रै पाएको निर्वाचन आयोगले जनाएको छ।
प्रत्यक्षबाट १४ महिला सांसद भएपछि समानुपातिकबाट 'धेरै आउनुपर्ने', प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Reuters
सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने कानुनी प्रावधानअनुसार अब बाँडफाँट हुने सामानुपातिकतर्फ रहेका ११० सीटमा "धेरै नै महिलाहरू आउने सम्भावना" रहेको निर्वाचन आयोगका प्रवक्ताले बीबीसीलाई बताएका छन्।
"प्रत्यक्षतर्फ निकै कम महिला निर्वाचित भएकाले सदनमा आवश्यक प्रतिशत त पुग्नैपर्छ," आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने। "कुन दललाई कति पुर्याउनुपर्ने भन्ने हिसाबकिताब हुन बाँकी छ।"
यद्यपि समानुपातिक प्रणालीबाट अब छानिनेमध्ये महिलाको सङ्ख्या झन्डै दुईतिहाइ हुने आकलन गरिएको छ।
प्रत्यक्षतर्फ कम महिला सांसद जितेकाले पनि राष्ट्रिय दल बन्न लागेका छवटा दलमाथि त्यस्तो दबाव पर्ने देखिएको हो।
प्रत्यक्षतर्फ १६५ सीटमा १४ जना मात्र महिला निर्वाचित भएका छन्। तीमध्ये चारवटा दलबाट कुनै महिला परेनन्।
सङ्घीय संसद्मा प्रतिनिधिसभा र राष्ट्रिय सभा पर्छन्। दलहरूले ती दुवैमा गरेर महिलाको प्रतिनिधित्व ३३ प्रतिशत पुर्याउनुपर्छ।
समानुपातिकको बन्दसूचीमा महिला र अन्य समावेशी क्लस्टरमा रहेकामध्ये अब आवश्यक सङ्ख्यामा महिला पुग्ने गरी अन्य समूहबाट समेत उम्मेदवार सिफारिस गर्नुपर्ने हुन्छ।
प्रत्यक्षतर्फ कुन दलबाट कति महिला निर्वाचित?
रास्वपा - १२५ सांसदमध्ये १३ महिला
कांग्रेस - १८ मध्ये १ महिला
एमाले - ९ मध्ये ० महिला
नेकपा- ८ मध्ये ० महिला
श्रसंपा- ३ मध्ये ० महिला
राप्रापा- १ मध्ये ० महिला
समानुपातिक सीट कसरी बाँडफाँट हुन्छ
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० मा समानुपातिक निर्वाचनको परिणामको प्रावधान समाविष्ट छ।
उक्त दफाको उपदफा ११ मा "समानुपातिक निर्वाचन प्रणालीतर्फको कुल सदर मतको तीन प्रतिशत वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने" उल्लेख छ।
अहिलेको निर्वाचनमा रास्वपा, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उक्त 'थ्रेश्होल्ड' कटाएका छन्। अर्थात् तिनले आफ्नो पक्षमा खसेको मतको आधारमा ११० समानुपातिक सीटमा भाग पाउने छन्।
कसले कति सीट पाउँछन् भन्ने निर्णय गर्न चाहिँ एउटा विशेष गणितीय सूत्र प्रयोग हुन्छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को परिच्छेद ५ मा समाविष्ट दफा ३३ र ३४ मा समानुपातिक सीट बाँडफाँटबारे उल्लेख छ।
तिनले "मतपरिणाम विभाजक सूत्रको आधारमा दलले प्राप्त गर्ने सीट सङ्ख्या निर्धारण" हुने जनाएका छन्।
समानुपातिक मतगणना सकिने चरणमा, अब के हुन्छ?, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Reuters
निर्वाचन आयोगले यतिखेर गोरखा-१ र इलाम-१ को समानुपातिकतर्फको मतगणना मात्र सकिन बाँकी रहेको जानकारी दिएको छ।
"दिउँसोसम्ममा उक्त मतगणना सकिने आकलन छ," आयोगका एकजना सहायक प्रवक्ता कुलबहादुर जीसीले बीबीसीसँग भने।
"त्यसपछि देशभरिबाट दलहरूले पाएका समानुपातिक मतको यकिन गर्दै कार्यविधिअनुसार पहिल्यै तय गरिएको सूत्र प्रयोग गरेर थ्रेश्होल्ड कटाउने दलबीच ११० सीटको बाँडफाँट हुन्छ।"
सहायक प्रवक्ता जीसीले समानुपातिकतर्फका सीटको भाग लगाउने काम बुधवार अबेरसम्म सक्ने आयोगको प्रयास रहेको बताए।
"त्यसपछि दलहरूलाई जानकारी दिइन्छ। अनि यसअघिकै बन्द सूचीअनुसार नामावली पठाउन केही दिनको समय तोकेर अनुरोध गरिन्छ," जीसीले भने। "त्यसको रुजुपश्चात् समानुपातिकतर्फका विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरणको काम हुन्छ।"
त्यसपछि मात्र आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसामु निर्वाचनको प्रतिवेदन पेस गर्ने छ।
"प्रतिवेदन बुझाउने बेलासम्म अझै करिब एक साता जति लाग्न सक्छ," जीसीले भने।
अहिलेसम्म कसले कति समानुपातिक मत पाए
निर्वाचन आयोगले अहिलेसम्म कुल १,०७,३९,११५ समानुपातिक मत गनिएको विवरण आफ्नो वेबसाइटमा प्रकाशित गरेको छ।
समानुपातिक मतमा तीन प्रतिशतको 'थ्रेश्होल्ड' कटाउने पार्टीहरूले प्राप्त गरेको मत यसप्रकार छ -