राष्ट्रपति र उपराष्ट्रपतिद्वारा चुनावमा भाग लिन आह्वान, रामेछापमा निर्वाचन कर्मचारीको सवारी दुर्घटना

प्रधानमन्त्री सुशीला कार्कीले देशवासीलाई सम्बोधन गरेको केही घण्टामै राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि सन्देश जारी गर्दै आगामी फागुन २१ गते हुन लागेको निर्वाचनलाई सफल बनाउन आह्वान गरेका छन्।

सारांश

  • रामेछापमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ
  • सरकारले चुनावका बेला अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ
  • निर्वाचनपूर्वको मौन अवधि सुरु हुनुभन्दा केही घण्टाअघि राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि सन्देश जारी गर्दै निर्वाचन सफल बनाउन आह्वान गरेका छन्
  • फागुन २१ गते बिहीवार हुने निर्वाचनका लागि प्रचारप्रसार गर्न पाइने आज अन्तिम दिन हो, देशैभरि राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचारप्रसारको अन्तिम चरणमा व्यस्त देखिन्छन्
  • प्रधानमन्त्री सुशीला कार्कीले नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् देशवासीलाई सम्बोधन गर्दै मतदानमा सहभागी हुन मतदाताहरूलाई आह्वान गरेकी छन्
  • प्रतिनिधिसभाको निर्वाचनका लागि १६५ वटा निर्वाचन क्षेत्रमा बिहीवार एकै चरणमा मतदान हुन लागेको छ
  • मतदान हुनुभन्दाअघि ४८ घण्टाअघि 'मौन अवधि' सुरु हुन्छ
  • आज राति १० बजेदेखि चुनावको भोलिपल्ट फागुन २२ गते शुक्रवार बिहान ६ बजेसम्म नेपाल-भारतका सीमानाकाहरू बन्द गर्ने निर्णय स्थानीय प्रशासनहरूले गरेका छन्
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै फागुन २१ गते निर्वाचन हुन लागेको हो
  • प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि दुइटा मतपत्र हुने छन्
  • निर्वाचन आयोगले मतदान प्रक्रिया र बदर मत घटाउने उद्देश्यले देशभरि सञ्चालित मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जनाएको छ

लाइभ कभरेज

केशव कोइराला र प्रदीप बस्याल

  1. आजका लागि यत्ति नै

    हामीले चुनाव आउन केवल तीन दिन बाँकी रहँदा चुनावसँग सम्बन्धित विभिन्न समाचार सामग्री दिनभरि प्रत्यक्ष रूपमा प्रस्तुत गर्‍यौँ।

    आजको निम्ति यो लाइभ पेज यहीँ समाप्त हुन्छ। थप समाचार हाम्रो होमपेजमा गएर हेर्न सक्नुहुन्छ।

    धन्यवाद।

  2. पेट्रोल पम्पहरूमा 'उपभोक्ताको चाप घट्यो'

    नेपाल आयल निगमले पेट्रोल पम्पहरूमा पछिल्ला केही दिनयता देखिँदै आएको उपभोक्ताको चाप सोमवारबाट घटेको जनाएको छ।

    पेट्रोलियम पदार्थको आयात सहज रहेकाले बिक्रीवितरणमा कुनै समस्या नरहेको अधिकारीहरूले बताएका छन्।

    निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले चुनावको दिन छोडेर अन्य दिन पम्प खोल्ने व्यवस्था मिलाइएको बीबीसीसँग बताए।

    बिदा अवधिमा इन्धनको आपूर्ति सहज राख्न उद्योग, ढुवानी व्यवसायी र डिलरहरूसँग सोहीअनुरूप समन्वय गरिएको निगमका अधिकारीहरूले बताएका छन्।

  3. रामेछाप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ पुग्यो

    रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

    बिहीवार हुने तय भएको निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनीट्रक आज दिउँसो दुर्घटनामा परेको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ।

    राससका अनुसार दुर्घटनामा एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

    घटनास्थलमै मृत्यु हुनेमा प्रहरी सहायक निरीक्षक आरपी यादव हुन्। त्यसै गरी साँघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रमा निर्वाचन अधिकृतका रूपमा खटिएका रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट केशवसिंह धामीले जानकारी दिए।

    गाडी सडकबाट करिब २०० मिटरभन्दा तल खसेको थियो।

  4. दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने सरकारको निर्णय

    सरकारले चुनावका बेला अस्वाभाविक मूल्यवृद्धि र कृत्रिम अभाव हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउने निर्णय गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि सार्वजनिक बिदाका दिनमा पनि बिक्री डिपोहरू खोल्ने व्यवस्था मिलाउने र त्यसको जानकारी सबैलाई दिने जनाएको छ।

    मन्त्रालयले डीलर तथा विक्रेताहरूको नियमित अनुगमन भइरहेको भन्दै अनावश्यक भण्डारण नगर्न सबैलाई अनुरोध गरेको छ।

    त्यस्तै मन्त्रायले खाद्यान्न तथा नुनको सहज आपूर्तिका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई निर्देशन दिने निर्णय गरेको राससको समाचारमा उल्लेख छ।

    अनुगमन गर्दै प्रमुख जिल्ला अधिकारी

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मनाङ सदरमुकाम चामे– ४ मा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेट मनाङ शाखाको गुणस्तरीय खाद्यवस्तुको प्रमुख जिल्ला अधिकारी नवराज पौड्याललगायत जिल्ला सुरक्षा व्यवस्थापन टोली
  5. रामेछापमा 'निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना' हुँदा एक जनाको मृत्यु

    रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको राष्ट्रिय समाचार समिति (रासस)ले जनाएको छ।

    ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक भोला भट्टलाई उद्धृत गर्दै राससले लेखेको छ।

    प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

  6. राष्ट्रपति र उपराष्ट्रपतिको सन्देश, चुनाव सफल बनाउन आह्वान

    राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादव

    तस्बिर स्रोत, EPA

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    निर्वाचनपूर्वको मौन अवधि सुरु हुनुभन्दा केही घण्टाअघि राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि सन्देश जारी गर्दै निर्वाचन सफल बनाउन आह्वान गरेका छन्।

    सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समितिका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले यस निर्वाचनले विकास, समृद्धि, सामाजिक न्याय र उन्नतिको यात्रालाई नवीन ढङ्गले परिभाषित गर्दै नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    राष्ट्रिपति पौडेलले भनेका छन्, “यो निर्वाचन केवल प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र नभई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको यात्रालाई अझ व्यापक, विश्वसनीय र सुदृढ बनाउने ऐतिहासिक अवसर हो। त्यसैले यो निर्वाचनलाई सफल बनाउनु हाम्रो साझा काम र ऐतिहासिक दायित्व हो।”

    “यस निर्वाचनले निरङ्कुशताविरुद्ध लामो सङ्घर्ष र बलिदान गरेको अघिल्ला पुस्ता र त्यसमा आफ्नो जीवन बलिदान गर्ने सहिदहरूको सपना, नवयुवाहरूको सुशासनको माग, पारदर्शिता र जवाफदेहिताप्रतिको अपेक्षा पूरा गर्ने छ।”

    यसैबीच उपराष्ट्रपति यादवले भनेका छन्, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबावमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु।”

    उनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको पनि बताएका छन्।

    साथै उपराष्ट्रपति यादवले मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य नागरिकको परिचय दिनसमेत आह्वान गरेका छन्।

  7. वीरगन्ज भन्सार ३६ घण्टा बन्द हुने

    वीरगन्ज भन्सार कार्यालयले बुधवार बिहान ६ बजेदेखि बिहीवार साँझ ६ बजेसम्म ३६ घण्टाका लागि भन्सार सेवा पूर्ण रूपमा बन्न हुने जनाएको छ।

    नेपाल-भारत सीमानाका भने आज मध्यरातिदेखि फागुन २१ गते मध्यरातसम्म बजेसम्मका लागि बन्द हुने छ।

  8. कहाँ के हुँदै छ?

    रूपन्देहीमा राप्रपाभित्र विवाद

    विभिन्न स्थानमा उम्मेदवार र पार्टीहरूले चुनावी र्‍याली निकालेका छन्।

    आजदेखि शैक्षिक संस्थाहरू बन्द भएकाले मतदान हुनुभन्दा केही दिनअघि मानिसहरू आफू मतदाता रहेको स्थानतिर जान थालेकाले तराईका जिल्लाहरूमा भिडभाड कम हुन थालेको देखिन्छ।

    रूपन्देही क्षेत्र न २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय समितिले प्रत्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार चुन्नप्रसाद पौडेललाई समर्थन गर्ने भन्दै विज्ञप्ति जारी गरेपछि राप्रपाभित्र विवाद देखिएको छ।

    क्षेत्रीय समितिले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको भन्दै जिल्ला समितिले कसैलाई सघाउने निर्णय नभएको बताएको छ । रूपन्देही २ मा राप्रपाले सुरुमा राप्रपाले उम्मेदवारी दर्ता गरे पनि पछि फिर्ता लिएको थियो।

    माधव नेपाल

    नुवाकोटमा निर्वाचन सामग्री लैजान चटारो

    राजधानीसँग जाेडिएको नुवाकोट जिल्लामा आज कुनै दलको चुनावी सभा छैन।

    तर उम्मेदवार र कार्यकर्ताहरू मतदातालाई आफ्नो पक्षमा पार्न चुनावी प्रचारप्रसारमा सक्रिय छन्।

    नुवाकोटमा १३२ मतदानस्थल र २९४ मतदानकेन्द्र छन्। त्यहाँ दुइटा निर्वाचन क्षेत्र छन्।

    नुवाकोटमा आज बिहानदेखि मतदानकेन्द्रमा निर्वाचन गराउन खटेका कर्मचारीको टोलीलाई ५० प्रकारका सामग्रीहरू हस्तान्तरण गर्न थालिएको मुख्य निर्वाचन कार्यालय नुवाकोटले जानकारी दिएको छ।

    कार्यालयका अनुसार सामग्री बुझ्ने र मतदानकेन्द्रतिर जाने क्रम जारी छन्। सोमवार अपराह्न ५ बजेदेखि रसुवागढीस्थित नेपाल-चीन नाका बन्द रहेको रसुवागढी भन्सार कार्यलयले जानकारी दिएकाे छ।

    शक्तिमाया तामाङ

    बाँकेमा र्‍याली

    बाँकेका सबै दलहरूले आज तीनवटै निर्वाचन क्षेत्रमा आआफ्नो शक्तिप्रदर्शन गरिरहेका छन्।

    नेपाली कांग्रेसले बाँके क्षेत्र नम्बर २ नेपालगन्जमा मोटरसाइकल र्‍याली निकालेको छ भने नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले बाँके क्षेत्र नम्बर २ कोहलपुरमा छुट्टाछुट्टै र्‍याली निकालेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाँकेले गायक प्रकाश सपुतको सहभागितामा नेपालगन्जको कारकाँदो चोकमा साङ्गीतिक सभा गरेको छ। उनी समानुपातिक प्रणालीतर्फ सो पार्टीका उम्मेदवार पनि हुन्।

    अन्य दलहरूले पनि घरदैलोको कार्यक्रम जारी राखेका छन् ।

    विमला चौधरी

    निर्वाचन कर्मचारी मतदान केन्द्रतिर

    मोरङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा उम्मेदवारहरूले आज ठाउँठाउँमा कोणसभा तथा र्‍याली निकालेका छन्।

    मध्यरातदेखि 'मौन अवधि' आरम्भ हुने भएकाले पक्षमा माहोल देखाउन पार्टी तथा उम्मेदवारहरू अन्तिम कसरतमा लागेका छन्।

    बिहीवार हुने निर्वाचनका लागि कर्मचारीहरू आवश्यक सामग्री लिएर मतदानकेन्द्रमा जान थालेका छन्।

    विक्रम निरौला

  9. १६५ निर्वाचन क्षेत्रमा उठेका उम्मेदवार को हुन्

    उम्मेदवारहरू

    फागुन २१ गते हुने लागेको निर्वाचनबाट प्रतिनिधिसभामा प्रत्यक्ष प्रणालीबाट १६५ सांसद र समानुपातिक प्रणालीबाट ११० सांसद छानिने छन्।

    प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभामा पुग्न ३,४०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। तीमध्ये पुरुषको सङ्ख्या सर्वाधिक छ।

    थप जानकारीका लागि

  10. कलाकारहरू लिएर घरदैलोमा, ईश्वर जोशी/नारायणगढ

    चितवन ३ मा मतदाताहरूसँग रास्वपाकी सोविता गौतम

    तस्बिर स्रोत, Ishwor Joshi/BBC

    तस्बिरको क्याप्शन, चितवन ३ मा मतदाताहरूसँग रास्वपाकी सोविता गौतम

    निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आज चितवनमा उम्मेदवारहरूले मतदातालाई रिझाउन कलाकारहरू लिएर घरदैलो सांस्कृतिक कार्यक्रम गरिरहेका छन्।

    चितवनका तीनवटै क्षेत्रमा सोमवार फागु पूर्णिमाको उत्सवसँगै उम्मेदवारहरू चुनावी अभियानमा सक्रिय छन्।

    चितवनमा नेपाली कांग्रेस, रास्वपा, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपा र कैयौँ स्वतन्त्र उम्मेदवारसहित विभिन्न दलका ६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

    चितवन ३ मा मतदाताहरूसँग नेकपाकी रेणु दाहाल

    तस्बिर स्रोत, Ishwor Joshi/BBC

    तस्बिरको क्याप्शन, चितवन ३ मा मतदाताहरूसँग नेकपाकी रेणु दाहाल
    चितवन ३ मा मतदाताहरूसँग नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ

    तस्बिर स्रोत, Ishwor Joshi/BBC

    तस्बिरको क्याप्शन, चितवन ३ मा मतदाताहरूसँग नेपाली कांग्रेसका टेकप्रसाद गुरुङ

    चितवनको क्षेत्र नम्बर २ बा रास्वपाका सभापति रवि लामिछाने पुनः उम्मेदवार बनेका छन्। उनको प्रतिस्पर्धा नेपाली कांग्रेसकी मीना खरेलसँग हुने देखिएको छ।

  11. तस्बिर : मतदानकेन्द्रतिर धमाधम मतदान सामग्री पठाउँदै निर्वाचन आयोग

    निर्वाचन आयोगले बिहीवार हुने निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीहरू धमाधम मतदानकेन्द्रतिर पठाउन थालेको छ। सामान ढुवानी गर्न सुगम भेगमा सवारीसाधनबाट र दुर्गम भेगमा हेलिकप्टर प्रयोग गरिएको छ।

    नेपाली सेनाको हेलिकप्टर र निर्वाचन गराउन खटेका सुरक्षाकर्मी कर्मचारीहरू

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, हुम्लामा सडक बन्द भएपछि नाम्खा गाउँपालिकाअन्तर्गत रहेका चार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन सामग्री हेलिकप्टरमार्फत् पठाइएको छ
    निर्वाचन कार्यालय रुकुम पश्चिमबाट विभिन्न ठाउँमा रहेका मतदान स्थलमा निर्वाचन सामग्री लगिँदै

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, निर्वाचन कार्यालय रुकुम पश्चिमबाट विभिन्न ठाउँमा रहेका मतदान स्थलमा निर्वाचन सामग्री लगिँदै
    डडेलधुराका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रतिर लाग्दै

    तस्बिर स्रोत, Prakash Parki/BBC

    तस्बिरको क्याप्शन, डडेलधुराका मतदान अधिकृतहरूले निर्वाचन सामग्री बुझेर आ-आफ्नो मतदान केन्द्रतिर लाग्दै
    मतदानकेन्द्रतिर लग्न ग्विराटनगरमा मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू

    तस्बिर स्रोत, Bikram Niraula/BBC

    तस्बिरको क्याप्शन, मतदानकेन्द्रतिर लग्न विराटनगरमा मतदानका लागि आवश्यक सामग्रीसहित कर्मचारीहरू
    पर्सामा निर्वाचन कर्मचारीहरू आ-आफ्नो कार्यक्षेत्र लग्ने निर्वाचन सामग्री बुझ्दै कर्मचारीहरू

    तस्बिर स्रोत, Madhuri Mahato/BBC

    तस्बिरको क्याप्शन, पर्सामा निर्वाचन कर्मचारीहरू आ-आफ्नो कार्यक्षेत्र लग्ने निर्वाचन सामग्री बुझ्दै कर्मचारीहरू
  12. नेपाल निर्वाचन २०८२ : अङ्कमा केही आधारभूत तथ्य

    निर्वाचन आयोगमा मतदानकेन्द्रमा पठाउन राखिएका मतपेटिका बोक्दै कामदारहरू

    तस्बिर स्रोत, Reuters

    मतदाता

    फागुन २१ को चुनावका लागि योग्य मतदाता सङ्ख्या १ करोड ८९ लाख ३,६८९ पुगेको निर्वाचन आयोगले जनाएको छ। यो यो सङ्ख्य २०७९ मा भएको निर्वाचनमा भएका मतदाताको सङ्ख्याभन्दा ९,१५,११९ बढी हो।

    उम्मेदवार

    निर्वाचन आयोगका अनुसार प्रत्यक्ष प्रणालीतर्फ ३,४०६ जना उम्मेदवार छन्। त्यसमा पुरुष ३,०१७ जना र महिला ३८८ जना र १ जना अन्य छन्। समानुपातिक निर्वाचन प्रणालीतर्फको ६३ राजनीतिक दलबाट कुल ३,१३५ अन्तिम सूचीमा कायम भएका छन्। देशभरि १,१४३ स्वतन्त्र उम्मेदवार यस पटक चुनावी प्रतिस्पर्धामा छन्।

    मतदानकेन्द्र

    नेपालभरि कुल १०,९६७ मतदानस्थलमा २३,११२ मतदानकेन्द्र तोकिएको निर्वाचन आयोगले जनाएको छ। नेपाल प्रहरीका अनुसार चुनावमा ४,४४२ वटा संवेदनशील मतदानस्थल र ३,६८० वटा अतिसंवेदनशील मतदानस्थल वर्गीकरण गरेर काम भएका छन्।

    सहभागी दल

    प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फ ५७ दल र प्रत्यक्षतर्फ ६६ दल एवं स्वतन्त्र उम्मेदवार सहभागी छन्। निर्वाचन आयोगका अनुसार सबै १६५ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको दल नेपाली कांग्रेस मात्र छ भने आठवटा दलले एक-एक निर्वाचन क्षेत्रमा मात्र उम्मेदवार उठाएका छन्।

    निर्वाचनमा खटिएका प्रहरी

    तस्बिर स्रोत, Prakash Parki/BBC

  13. प्रधानमन्त्री कार्कीको सम्बोधनमा मध्यपूर्वको सङ्कट र सत्ता छाड्ने कुरा पनि

    इरान र मध्यपूर्वको तनावले "चिन्तित बनाएको" भन्दै प्रधानमन्त्री कार्कीले उक्त क्षेत्रमा विकसित घटनाक्रमलाई नेपाल सरकारले "सूक्ष्म रूपमा नियालिरहेको" जनाइन्।

    उक्त क्षेत्रका सम्पूर्ण नेपाली नियोगहरूलाई सुरक्षा सहजीकरणमा कुनै कमी हुन नदिन सक्रिय बनाइएको र परराष्ट्र मन्त्रालयले सघन अनुगमन गरिरहेको बताइन्।

    कार्कीले इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको "जिम्मेवारी सम्हालेर देशलाई नेतृत्व दिनुलाई मैले आफ्नो मातृभूमिप्रतिको जिम्मेवारीका" रूपमा लिएको बताइन्।

    "मैले सधैँ न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेँ," उनले भनिन्। "अब केही दिनमा यो देशको बागडोर तपाईँहरूले चुन्ने प्रतिनिधिहरूको हातमा पुग्ने छ।"

    भिडिओ क्याप्शन सुरु हुँदैछ, प्रधानमन्त्री कार्कीले गरेको सम्बोधनको सम्पादित अंश
  14. कार्कीले जाँचबुझ आयोगबारे के भनिन्?

    प्रधानमन्त्री सुशीला कार्की

    तस्बिर स्रोत, PMO/RSS

    सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले गत भदौमा भएको जेन जी आन्दोलनमा भएका घटनाक्रम र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गराउने जिम्मेवारी पनि पाएको थियो।

    पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वमा बनेको जाँचबुझ आयोगले निर्वाचन भएपछि मात्रै आफ्नो प्रतिवेदन बुझाउने देखिएको छ।

    सोमवार सम्बोधनका क्रममा कार्कीले आयोगको कामबारे स्पष्ट केही बोलिनन्। तर त्यसतिर केही सङ्केत गरिन्।

    "आज सम्पूर्ण देशवासीलाई अर्को के कुरामा आश्वस्त पार्न चाहन्छु भने, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनतालाई प्रश्रय दिने काम यो सरकारबाट हुँदैन। कानुनबमोजिम गर्नुपर्ने जुनसुकै तहको कारबाहीमा सरकार पछि हट्ने छैन।"

  15. प्रधानमन्त्री सुशीला कार्कीले के भनिन्

    चुनावको मौन अवधि सुरु हुनुभन्दा झन्डै १२ घण्टाअघि देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले नेपाल "कठिन सङ्क्रमण पार गरेर" यहाँसम्म आइपुगेको बताइन्।

    विधिको शासन स्थापित गर्दै, संविधानको मार्गमा स्थिरताका साथ अघि बढ्न सफल भएको बताउँदै दुई दिनपछि हुने चुनावलाई उनले उपलब्धिका रूपमा प्रस्तुत गरिन्।

    "यो उपलब्धि तपाईँ-हामी सबै नेपाली जनताको संयम र सहकार्यको परिणाम हो," कार्कीले सम्बोधनमा भनिन्।

    जेन जी आन्दोलनपछिको परिस्थितिलाई "जटिल, संवेदनशील र चुनौतीपूर्ण" भन्दै स्मरण गरेकी उनले त्यस बेला "सडकमा युवाहरूको आक्रोश, सबैको मनमा डर र देशकै भविष्य अन्योलमा" रहेको बताइन्।

    "आज मलाई सन्तोष लागेको छ कि हामी त्यो कठिन सङ्क्रमण पार गरेर यहाँसम्म आइपुगेका छौँ"

  16. मतदातालाई प्रधानमन्त्रीको आग्रह

    प्रधानमन्त्री सुशीला कार्की

    तस्बिर स्रोत, NTV

    प्रधानमन्त्री सुशीला कार्कीज्यूले मतदाताहरूलाई आफ्नो काम छाडेरै भए पनि फागुन २१ गते मतदान गर्न जान आग्रह गरेकी छन्। अहिले उनी नेपाल टेलिभिजन र रेडियो नेपालमार्फत् देशवासीलाई प्रत्यक्ष सम्बोधन गर्दै छिन्।

  17. अहिले किन हुन लागेको हो निर्वाचन

    संसद् भवनबाहिर नेपालको झण्डा बोकेर उभिएका एक युवक, छानाम पनि केही प्रदर्शनकारीहरू देखिन्छन्

    तस्बिर स्रोत, Reuters

    तस्बिरको क्याप्शन, भदौमा नवयुवा पुस्ताले गरेको आन्दोलनमा कैयौँ जनाको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिन बाध्य भएका थिए

    प्रतिनिधिसभाको निर्वाचनका लागि बिहीवार देशैभरि एकै चरणमा मतदान हुन लागेको छ।

    गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएका थिए। प्रतिनिधिसभा विघटन र फागुन २१ गतेको मिति तोक्दै निर्वाचन घोषणा गरिएको थियो।

    त्यसैले प्रतिनिधिसभाको अहिलेको चुनाव आवधिक नभई विशेष परिस्थितिमा हुन लागेको निर्वाचन हो।

    प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद छान्न छुट्टाछुट्टै मतपत्रमार्फत मतदान हुने छ।

  18. सबै वडामा मतदाता शिक्षा कार्यक्रम सम्पन्न

    किमाथाङ्काकामा मतदान गर्ने तरिका सिकाउँदै एक स्वयंसेविका

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, मतदाता शिक्षा कार्यक्रममा यसपालि पनि स्वास्थ्य स्वयंसेविकाहरूलाई परिचालन गरिएको थियो

    निर्वाचन आयोगले मतदान प्रक्रिया र बदर मत घटाउने उद्देश्यसहित देशभरि सञ्चालन गरिएको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको जनाएको छ।

    आयोगका अनुसार देशभरि स्थानीय तहमा रहेका सबै ६,७४३ वटा वडामा एकैपटक फागुन ३ गतेदेखि सञ्चालित कार्यक्रम आइतवार सम्पन्न भएको हो। त्यसका लागि सबै वडामा मतदाता शिक्षा स्वयंसेवकहरू खटेका थिए।

    निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले मतदाताको घरदैलोमा पुग्न सक्ने र सर्वसाधारण नागरिकबीच भिजेका इमान्दार स्वयंसेवकका कारण यो कार्यक्रम सम्पन्न भएको बताएकी छन्।

    विसं २०७९ मा भएको निर्वाचनदेखि मतदाता शिक्षा प्रदान गर्न स्वास्थ्य स्वयंसेविका परिचालन गर्न थालिएको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    मतदातालाई भोट दिने तरिका सिकाउन घरदैलोमा पुगेर नमुना मतपत्रका माध्यमबाट निर्वाचनको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिइएको आयोगले जनाएको छ।

    ‍कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा नमुना मतदान गरिएको थियो

    तस्बिर स्रोत, RSS

    तस्बिरको क्याप्शन, कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा नमुना मतदान गरिएको थियो
  19. निर्वाचनको सुरक्षामा नेपाली सेना पनि, के हुन् सेनाका जिम्मेवारीहरू

    नेपाली सेना

    तस्बिर स्रोत, EPA

    नेपाली सेनाले निर्वाचन सुरक्षामा आफू प्रतिबद्ध रहेको जनाउँदै ती काम एकीकृत सुरक्षा योजनाअन्तर्गत भइरहेको जनाएको छ।

    सोमवार एक विज्ञप्ति जारी गर्दै सेनाले मतदान सम्पन्न भएपछि स्थापित विधिअनुसार प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन अधिकारी एवं तोकिएका दलका प्रतिनिधिसहितको टोलीले मतगणना स्थलसम्म मतपेटिका पुर्‍याउने जनाएको छ।

    सेनाले २०४८ सालदेखिका चुनावमा खटिएको उल्लेख गर्दै यस पटक आफूले चारवटा विभिन्न जिम्मेवारी पाएको जनाएको छ। ती हुन् -

    • मतपत्र छाप्ने स्थानको सुरक्षा
    • काठमाण्डूबाट देशका सबै जिल्लामा मतपत्र ढुवानी
    • निर्वाचन अवधिमा तेस्रो घेरामा रही सुरक्षा
    • मतपेटिकालाई गणनास्थलसम्म पुर्‍याउने जिम्मेवारी
  20. प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै

    सुशीला कार्की

    तस्बिर स्रोत, MOFA Nepal

    तस्बिरको क्याप्शन, फाइल तस्बिर

    प्रधानमन्त्री सुशीला कार्कीले मौन अवधि सुरु हुनुअघि आज राष्ट्रका नाममा सम्बोधन गर्ने उनको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले चुनाव र अन्य समसामयिक विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको बीबीसीलाई बताए।

    कार्कीले दिउसो १२:१५ बजे सम्बोधन गर्ने उनले बताए।

Trending Now