गौतमबुद्ध विमानस्थलको काम ‘अलपत्र’

तस्बिर स्रोत, .
शुरु भएको करिब दुई वर्ष पछि भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम अलपत्र पर्ने अवस्थामा आइपुगेको अधिकारीहरुले बताएका छन्।
विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीको काम सन्तोषजनक रुपमा अगाडि बढ्ने संकेत नदेखिएको भन्दै नेपालले सो ठेक्का सम्झौता रद्द समेत गर्न सक्ने अवस्था आएको सो आयोजनाका प्रमुखले बीबीसीलाई बताएका छन्।
जटिल
आयोजना प्रमुख ओम शर्माका अनुसार निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले अहिले आएर काम सम्पन्न गर्ने कुनै भरपर्दो र विश्वासयोग्य आधार पेश गर्न नसकेका कारण समस्या जटिल हुँदै गएको हो।
"उसको गतिविधि र व्यवहार हेर्दा राम्रैसंग परियोजना सञ्चालन गर्छ भन्ने आधार भेटिएको छैन," उनले भने।
सो कम्पनीसंग भएको सम्झौता अनुसार अबको करिब १८ महिना भित्र सबै निर्माण कार्य सम्पन्न गरिसक्नु पर्ने थियो।
तर सो कम्पनीको काम गराइको प्रकृति हेर्दा निर्धारित समयभित्र काम सम्पन्न हुने लक्षण नदेखिएको बताइएको छ।
समयसीमा
कामले गति लिन नसकेपछि नेपाली अधिकारीहरुले कम्पनीको मुख्य कार्यालयबाट ठेकेदार कम्पनीका अधिकारीहरुलाई नेपाल बोलाएर वार्ता गरेको तर सो वार्ताबाट पनि कुनै निकास ननिस्केको आयोजना प्रमुख ओम शर्माले बताए।
त्यसो भए अब ठेक्का तोड्ने पर्ने अवस्था आएको हो त?
आयोजना प्रमुख शर्मा भन्छन्, "केही समयसीमा दिएका छौं। त्यो हुन सकेन भने ठेक्का तोड्नुपर्ने अवस्था आयो।"
यसबारे ठेकेदार कम्पनीको तर्फबाट भने कुनै प्रतिकृया आएको छैन।
अर्को तर्फ मुख्य ठेकेदार चिनियाँ कम्पनी र उसबाट ठेक्का पाएको नेपाली कम्पनीबिच भुक्तानीको कुरा नमिल्दा करिब एक साता अगाडि देखि निर्माणको काम पनि रोकिएको छ।





















