वैदेशिक रोजगारी: जापानमा नेपाली कामदार पठाउन गृहकार्य तीव्र

वैदेशिक रोजगारीको नयाँ गन्तव्य बन्न सक्ने जापानमा नेपाली कामदार पठाउन जापान सरकारसँग लचिलो भई सम्झौता गर्न आन्तरिक छलफल भइसकेको नेपाल सरकारका अधिकारीहरूले बताएका छन्।
कामदारको अभाव हटाउन जापान सरकारले हालै विभिन्न सात देशका श्रमिक भित्र्याउने निर्णय गरेको थियो।
समाचारहरूमा जनाइए अनुसार त्यसमा नेपालको नाम पनि थप गरिने भएपछि धेरैभन्दा धेरै नेपाली कामदार जापान पठाउन सम्भावना देखिएको छ।
आफ्नो देशमा बढिरहेको कामदार अभाव हटाउन विदेशी श्रमिक ल्याउने योजना अघि सारेको जापान सरकारले मंगोलिया र नेपालको नाम पनि सूचिकरण गर्ने प्रस्ताव गरिएको बताइएको छ।
अर्को हप्ता जापानको संसदबाट उक्त प्रस्ताव पारित भएपछि नेपालले रोजगारीको नयाँ गन्तव्य पाउन सक्ने ठानिएको छ।
त्यसो भएमा नेपाल सरकारले जापानसँग आवश्यक सम्झौताहरू अगाडि बढाउन अनौपचारिक रूपमा छलफल तथा तयारी थालिसकेको श्रम मन्त्रालयका अधिकारीले बताएका छन्।
सरकारी तयारी के छ?
जापानले लामो समयदेखि विदेशबाट दक्ष श्रमिक ल्याउने तयारी गरिरहेको बताइन्छ। विदेशी श्रमिक प्राप्त गर्ने देशहरूको सूचीमा नेपाललाई समावेश गर्न यसअघि नै परराष्ट्र मन्त्रालय मार्फत बारम्बार छलफल भएको श्रम मन्त्रालयले जनाएको छ।
तर नेपाली अधिकारीहरूले सरकार-सरकारबीच सम्झौता गर्नुपर्ने अर्थात 'जी टु जी' सम्झौता गर्न खोज्दा कुरा नमिलेको बताइएको छ।

तस्बिर स्रोत, Getty Images
त्यसैले अब हुने छलफलमा पनि सरकारले अप्ठ्यारा प्रस्ताव अघि सारेमा जापान जस्तो आकर्षक वैदेशिक रोजगारीको गन्तव्य गुम्न सक्ने चिन्तामा वैदेशिक रोजगार ब्यवसायीहरू देखिन्छन्।
जापानले कृषि, स्वास्थ्य सेवा, निर्माण, स्याहार-सुसार, सवारी जस्ता क्षेत्रमा झन्डै साढे तीन लाख विदेशी कामदार भित्र्याउने लक्ष्य राखेको बताइएको छ।
त्यसनिम्ति कामदारहरूले भाषा परीक्षा र सीप परीक्षा पास गर्नुपर्ने न्यूनतम योग्यता मापदण्ड तोकेको बताइएको छ।
त्यस्ता सीपमूलक जनशक्ति उत्पादनमा सरकारले आजैदेखि ध्यान दिन नसकेमा अवसरको सदुपयोग गर्न नसकिने चिन्ता कतिपय रोजगार विज्ञहरूको छ।




























