मिस इन्डिया: भारतीय सौन्दर्य प्रतियोगिताका सबै सहभागीहरू किन उस्तै देखिन्छन्?

मिस इन्डियाका प्रतियोगीहरू

तस्बिर स्रोत, Getty Images

    • Author, गीता पाण्डे
    • Role, बीबीसी समाचार, दिल्ली
  • पढ्ने समय: ३ मिनेट

मिस इन्डिया प्रतियोगिताबाट नै प्रियङ्का चोपडाले बलिउड सुपरस्टारको यात्रा आरम्भ गरेकी थिइन्। त्यसैले यस वर्षका प्रतियोगीहरूको सामूहिक तस्बिरमा व्यापक मुस्कान देखिनु अनौठो होइन।

मिस इन्डिया जीवन परिवर्तन गरिदिने प्रतिस्पर्धा हो।

तर अन्तिम चरणमा पुग्न सफल भएकोमा उत्साहित हुनुको साटो प्रतियोगीहरूले आफूलाई एउटा बहसको केन्द्रमा पाएका छन्।

टाइम्स अफ इन्डिया पत्रिकामा छापिएको सबै प्रतियोगीको तस्बिरमा आलोचकहरूले "आयोजकको गोरो छालाप्रतिको मोह" देखेका छन्।

उक्त पत्रिका पनि प्रतियोगिताको एउटा आयोजक हो। भारतमा सर्वाधिक बिक्री हुनेमध्येको एक सो अङ्ग्रेजी दैनिकमा प्रकाशित तस्बिरमा एक ट्विटर प्रयोगकर्ताले "यो तस्बिरमा के गलत छ?" भन्दै प्रश्न गरेपछि यो बहस सुरु भएको हो।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

सु्न्दरी

चम्किलो अनुहार, काँधसम्म आउने केश र एकैखालको छालाको रङ्गले उनीहरूलाई लगभग समान देखाउँछ।

रमाइलोकै लागि भए पनि केहीले भनेका छन् – वास्तवमा ती सबै एकै व्यक्ति थिए कि?

ट्विटरमा उक्त तस्बिरको चर्चा हुन थालेपछि आलोचकहरूले तस्बिरमा नभएर सहभागीको वर्णमा विविधता नभएको औँल्याएका छन्।

उनीहरूका अनुसार यसबाट एकपटक फेरि भारतको गोरो छालाप्रतिको अत्यधिक मोहलाई उजागर गरिदिएको छ।

आयोजकहरूले यसबारे कुनै पनि प्रतिक्रिया जनाएका छैनन्।

सुन्दरी

तस्बिर स्रोत, Getty Images

सु्न्दरी

सुन्दरी प्रतियोगिताको व्यवसाय

सन् १९९० को मध्यदेखि नै सुन्दरी प्रतियोगिता भारतको व्यवसाय बनेको छ।

मिस इन्डियाको उपाधि जितेका ऐश्वर्या राय, सुस्मिता सेन र प्रियङ्का चोपडाजस्ता सुन्दरीहरू विश्व सुन्दरी बन्न सफल भए।

धेरै सुन्दरी प्रतियोगिता विजेताहरूले बलिउडमा आकर्षक नाम, दाम र काम पाएका छन्।

पछिल्ला वर्षहरूमा सुन्दरी प्रतियोगितामा सहभागी हुन चाहनेहरूका लागि तालिम दिन भारतभर च्याउ उम्रेझैँ संस्थाहरू खुलेका छन्।

तर पनि धेरै सफल महिलाहरूमा गोरो छाला भएकाहरू नै छन्। तर यो अनौठो होइन।

ऐश्वर्या राय

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सन् १९९४ मा विश्व सुन्दरीको उपाधि पाएपछि ऐश्वर्य राय
सु्न्दरी

विशेषत: महिलाका सन्दर्भमा गोरो छालाप्रतिको अत्यधिक मोह भारतमा चिर परिचित छ। धेरैले गोरो वर्णलाई कालो वर्णभन्दा उच्चकोटीको मान्छन्।

उदाहरणका लागि विवाहका लागि गोरो वर्णलाई सधैँ राम्रो मान्ने गरिएको छ।

सन् १९७० ताका भारतको पहिलो छाला गोरो बनाउने क्रीम फेयर एन्ड लभ्ली बजारमा आएपश्चात् छाला सेतो बनाउने सो उत्पादन धेरै ब्रिक्री हुने सौन्दर्य प्रसाधनमा पर्छ। बलिउडका कतिपय चर्चित र प्रसिद्ध अभिनेता अभिनेत्रीहरू त्यस्ता सामग्रीको विज्ञापन गर्न देखा परिसकेका छन्।

यस्ता क्रीम र जेलका विज्ञापनमा छाला सेतो बनाउने मात्र होइन, आकर्षक जागिर र प्रेम पाइने तथा विवाह हुने प्रचार गर्ने गरिन्छ।

अनि एउटा विशेष खालको वर्णलाई महत्त्व दिने यस्ता सुन्दरी प्रतियोगिताहरूले त्यस्तै चल्तीका धारणालाई कायम राख्न सहयोग पुर्‍याउँछन्।

गोरो बनाउने क्रीम

तस्बिर स्रोत, AFP

सु्न्दरी

पुरुषको गोरोपन

सन् २००५ मा केही व्यक्तिहरूले गोरोपन महिलाका लागि मात्र नभए पुरुषलाई पनि आवश्यक भएको निष्कर्ष निकाले। त्यसपछि आयो पुरुषलाई गोरो बनाउने पहिलो क्रीम – फेयर एन्ड ह्यान्डसम।

अभिनेता शाहरुख खानले समर्थन गरिदिएको उक्त क्रीमले पनि ठूलो सफलता पायो।

केही वर्षयता "कालो नै सुन्दर" र "अश्वेत र प्रेमिल" जस्ता अभियान चलेका छन्। ती अभियानले कालो वर्णमा पनि गर्व गर्नुपर्छ भन्दै रङ्गभेदमाथि प्रश्न गरिरहेका छन्।

तर त्यसले काखीमुनिका रौँ हटाउनेदेखि जननेन्द्रिय गोरो बनाउनेसम्म दाबी गर्ने क्रीम र जेलको बाढीलाई रोक्न सकेको छैन।

फेयर एन्ड लभ्ली

तस्बिर स्रोत, Getty Images

सु्न्दरी

करोडौँको व्यापार

भारतमा गोरोपन बढाउने क्रीम र ब्लीचको लोकप्रियता कति छ भन्ने कुरा यस्ता सामग्रीको प्रत्येक वर्ष हुने करोडौँ डलरको व्यापारबाट पनि अनुमान लगाउन सकिन्छ।

एउटा अनुमानका अनुसार सन् २०२३ सम्ममा महिलालाई गोरो बनाउने सामग्रीको बिक्री ५० अर्ब भारतीय रुपैयाँ पुग्नेछ।

गोरोपन बनाउने सामग्रीको प्रतिरक्षा गर्नेहरूले भने यसलाई व्यक्तिगत चाहना बनाउने गरेका छन्। उनीहरूका अनुसार आफ्नो ओठ रातो बनाउन महिलाले लिपस्टिक लगाउँछन् भने छाला गोरो बनाउन कुनै क्रीम वा जेल लगाउनु ठूलो कुरा होइन।

यो तार्किक लाग्छ तर अभियन्ताहरू चाहिँ गोरो छालाप्रतिको अत्यधिक चाहना विभेदयुक्त रहेको औँल्याउँछन्।

उनीहरू गोरो छालालाई उच्चकोटीको ठान्ने सोचले सामाजिक पूर्वाग्रहलाई सूक्ष्म ढङ्गले बढाउने र कालो छाला हुनेहरूलाई अपहेलित महसुस गराउने बताउँछन्। यसले कालो छाला हुनेहरूको आत्मविश्वास कमजोर हुनजान्छ।

उनीहरूका भनाइमा त्यसले कालो छाला हुनेहरूको व्यक्तिगत र व्यवसायिक जीवनमा पनि असर गर्नसक्छ।

कालो वर्णका थोरै अभिनेत्रीहरूले मात्र बलिउडमा मुख्य भूमिका पाएको देखिन्छ।

सुन्दरी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सुन्दरी प्रतियोगिताहरूलाई विशेष खालको वर्णलाई मात्र महत्त्व दिने गरेको आरोप लाग्ने गरेको छ

विज्ञापनकर्ताहरूको स्वनियमन निकाय विज्ञापन मापदण्ड परिषद् भारत (एएससीआई)ले सन् २०१४ मा एउटा मार्ग निर्देशिका जारी गरेको थियो।

उक्त निर्देशिकामा विज्ञापनहरूमा कालो वर्णका व्यक्तिहरूलाई कुरूप, निराश र चिन्तित देखाउनलाई बन्देज लगाइएको छ।

त्यस्तै त्यस्तो वर्णका व्यक्तिहरूलाई विवाह, जागिर वा पदोन्नतिका लागि पछाडि पारिएको जस्तो देखाउनु हुँदैन भन्ने पनि उसको निर्देशन छ।

यद्यपि केही संवेदनशील देखिए पनि यस्ता विज्ञापनहरू आउने क्रम जारी छ।

लोकप्रिय चलचित्र कलाकारहरूले त्यस्ता सामग्रीको प्रवर्धन पनि जारी राखेका छन्।