अमेरिकी वायुसेनाले गोप्य अन्तरिक्ष विमान प्रक्षेपण गर्यो

एट्लस भी रकेट

तस्बिर स्रोत, Getty Images

अमेरिकी वायुसेनाले आफ्नो गोप्य अभियानअन्तर्गत एक्स-३७बी अन्तरिक्ष विमान बोकेको एट्लस भी रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ।

मौसमका कारण शनिवार योजना प्रभावित भएपछि भोलिपल्ट उक्त रकेट केप कन्याभरलबाट अन्तरिक्षतर्फ प्रक्षेपण गरिएको थियो।

ओर्बिटल टेस्ट भीइकल (ओटीभी) भनिने अन्तरिक्ष विमानले अन्तरिक्षमा एउटा भू-उपग्रह छोड्ने र ऊर्जासम्बन्धी एउटा प्रविधि परीक्षण गर्ने बताइएको छ।

सो विमानको अन्तरिक्षमा यो छैटौँ यात्रा हो।

रकेट प्रक्षेपण कोरोनाभाइरस महामारीमा अग्रपङ्क्तिमा काम गर्ने र प्रभावित व्यक्तिहरूका लागि समर्पण गरिएको थियो। रकेटमा 'अमेरिका स्ट्रङ' (सबल अमेरिका) भन्ने सन्देश पोतिएको थियो।

गोप्य राखिएका कारण एक्स-३७बी बारे धेरै जानकारी उपलब्ध छैन। अमेरिकी रक्षा मन्त्रालयले पहिले पनि यस विमान र यसको क्षमताबारे थोरै जानकारी सार्वजनिक गरेको छ।

"यो एक्स-३७बी मिशनले पहिलेका अभियानभन्दा धेरै परीक्षणहरू गर्नेछ," वायुसेनामन्त्री बार्बरा बारेटले केही समयअघि भनेकी थिइन्।

तीमध्ये एउटा परीक्षण बीउबिजन र अन्य पदार्थमा पराबैजनी किरणको असर अध्ययन गर्नुरहेको बताइएको छ।

के छन् यसका विशेषता?

एक्स-३७बी कार्यक्रम सन् १९९९ मा आरम्भ भएको थियो। यो विमान सन् २०११ देखि प्रयोग बन्द गरिएको मानव बोक्ने अमेरिकी अन्तरिक्षयानको सानो स्वरूपजस्तो देखिन्छ।

एट्लस भी रकेट

तस्बिर स्रोत, Getty Images

पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि एक्स-३७बी धावनमार्गमा विमानजस्तै रोकिन सक्छ।

बोइङ कम्पनीले बनाएको यो विमान अन्तरिक्षमा रहँदा सौर्य ऊर्जाबाट चल्छ। यसको लम्बाइ २९ फीट र चौडाइ १५ फीट रहेको छ। यसको तौल ४,९८९ किलोग्राम छ।

पहिलो विमान सन् २०१० को एप्रिलमा अन्तरिक्षमा उडेको र आठ महिनापछि फर्केको थियो।

यसअघिको अभियान सन् २०१९ को सेप्टेम्बरमा अन्तरिक्षमा ७८० दिन बसेर फर्केपछि सकिएको थियो। यो विमानले अन्तरिक्षमा कुल सात वर्षभन्दा बढी समय बिताएको छ।

अहिलेको अभियानको अवधि सार्वजनिक गरिएको छैन।