कोभिड भारतः कोरोना भाइरस भएका मानिसमा 'औषधिले काम नगर्ने सेतो ढुसी सङ्क्रमणको जोखिम'

क्यान्डिडा अरिस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अस्पतालमा भर्ना भएका बिरामीमा क्यान्डिडा अरिसले औषधिप्रतिरोध सङ्क्रमण गराउँछ
    • Author, सौतिक बिस्वास
    • Role, भारत संवाददाता

पूर्वी भारतको कोलकातामा मे महिनामा कोभिड भएका एक अधबैँसे पुरुषलाई एउटा स्थानीय अस्पतालमा सघन उपार कक्ष आईसीयूमा भर्ना गरियो।

स्थिति बिग्रिन थालेपछि उनलाई भेन्टिलेटरमा राखियो। कोभिडका कारण गम्भीर बिरामी परेका अरू बिरामीलाई जस्तै उनलाई पनि जीवन रक्षार्थ स्टेरोइड दिइयो।

आईसीयूमा लामो समय बसेपछि उनी कोभिडमुक्त भए। तर अस्पतालबाट घर पठाउन लागेको बेला चिकित्सकहरूले उनमा औषधिप्रतिरोधी एउटा डरलाग्दो ढुसीको सङ्क्रमण भएको पत्ता लगाए।

क्यान्डिडा अरिस नामक उक्त ढुसी अस्पतालमा भएका बिरामीमा सङ्क्रमण गराउन सक्ने सम्भावना भएको एउटा सूक्ष्मजीव हो। यो मानिसको रक्तप्रणालीमा फैलिन सक्छ।

यो ढुसी विश्वभरि क्रिटिकल केअर यूनिटमा प्रायः फेला पर्ने सूक्ष्मजीव हो। यसको सङ्क्रमण हुँदा मृत्युदर ७० प्रतिशत छ।

"कोभिड-१९ को दोस्रो लहरका बेला हामीले यो सङ्क्रमण भएका बिरामीको सङ्ख्या बढिरहेको पाएका छौँ," मुम्बईमा कार्यरत सङ्क्रामक रोग विशेषज्ञ डा. ओम् श्रीवास्तव भन्छन्।

"आईसीयूमा धेरै बिरामी छन् अनि तीमध्ये धेरै जनालाई स्टेरोइडको उच्च मात्रा दिइएको छ। त्यो नै कारण हुनसक्छ।"

ढुसीको सङ्क्रमण किन बढेको हो?

भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर फैलिएको बेला अस्पतालका आईसीयूहरू गम्भीर बिरामीहरूले भरिएका छन्।

अनि चिकित्सकहरूले विभिन्न डरलाग्दा ढुसीका कारण हुने सङ्क्रमण पनि बढेको पाएका छन्।

केही समयअघि कालो ढुसीका कारण हुने म्यूकोर्माइकोसिस भनिने दुर्लभ खालको सङ्क्रण प्रकोप बनेर फैलिन थालेको पाइयो। यस खालको सङ्क्रमणले नाक, आँखा र कहिलेकाहीँ मस्तिष्कलाई असर पुर्‍याउँछ।

भारतमा अहिलेसम्म झन्डै १२,००० जनामा यो सङ्क्रमण पुष्टि भइसकेको छ। तीमध्ये २०० जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ।

क्यान्डिडा

तस्बिर स्रोत, Getty Images

चिकित्सकहरूका अनुसार कोभिड बिरामीमा अहिले अरू खालका ढुसीको सङ्क्रमण बढ्न थालेको छ। प्रायः आईसीयूमा एक सातादेखि १० दिन बसेका बिरामीमा त्यस्तो समस्या देखा पर्ने गरेको छ।

क्यान्डिडाका दुई प्रजाति छन् - क्यान्डिडा अरिस र क्यान्डिडा एल्बिक्यान्स। ती दुवै मानिसका लागि घातक बन्न सक्छन्।

एस्पर्जिलस वर्गमा पर्ने ढुसीले मुखमा सङ्क्रमण गर्छ र फोक्सोमा पनि असर गर्छ। यो प्राणघातक बन्न सक्छ।

ढुसीका पाँच करोड वटाभन्दा बढी प्रकार छन्। तीमध्ये क्यान्डिडा र एस्पर्जिलस मानिसको ज्यानमा खतरा पुर्‍याउने प्रमुख ढुसी हुन्।

क्यान्डिडा धेरै ठाउँमा पाइन्छ। स्नानगृहको पर्दा, कम्प्युटरको स्क्रीन, चिकित्सकले बोक्ने स्टेथस्कोप, रेलको डिम्बाको रेलिङ र अन्य ठाउँमा पनि यो हुन्छ।

चिकित्सकहरूका अनुसार क्यान्डिडा अरिसले प्रायः रगतमा सङ्क्रमण गर्छ। तर त्यसले श्वासप्रणाली, केन्द्रीय स्नायुप्रणाली, भित्री अङ्ग र छालामा पनि सङ्क्रमण गर्न सक्छ।

एस्पर्जिलस हामीवरिपरि पर्यावरणमा हुन्छ। यो तातो बनाउने वा एअर कन्डिशनिङ प्रणालीमा पनि हुन सक्छ।

सामान्यतया हाम्रो रोगप्रतिरक्षा प्रणालीले त्यस्ता ढुसीका स्पोरलाई शरीरमा प्रवेश गर्न तथा रोग लगाउन दिँदैन।

तर कोभिड भएका बिरामीमा छाला, रक्तनली र श्वासनलीको सतहमा क्षति पुगेको अवस्थामा ढुसी मानिसको श्वासनलीभित्र छिर्न सक्छ।

यो ढुसीले भेन्टिलेटरमा राखिएका २० देखि ३० प्रतिशत बिरामीमा सङ्क्रमण गर्ने महाराष्ट्रस्थित कस्तूरबा अस्पतालका चिकित्सक डा. एसपी कालान्तरी बताउँछन्।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर

ढुसीको सङ्क्रमण हुँदा कस्तो लक्षण?

ढुसीको सङ्क्रमण हुँदा कोभिड-१९ मा जस्तै लक्षण देखिन्छ।

तिनमा ज्वरो, खोकी र सास फेर्न गाह्रो हुने पर्छन्।

नाक, मुख, फोक्सो, पेट र नङको सतहमा क्यान्डिडाले सङ्क्रमण गर्दा सतहमा सेतो रङ्ग देखिन्छ।

त्यसैले यसलाई "सेतो ढुसी" पनि भनिन्छ।

कहिलेकाहीँ यो ढुसी रगतसम्म पुग्छ।

त्यो बेला न्यून रक्तचाप, ज्वरो, पेटमा पीडा र पिसाब पोल्ने जस्ता समस्या देखा पर्छन्।

किन देखा परेको हो यो सङ्क्रमण?

कोभिड भएका कम्तीमा पाँच प्रतिशत बिरामीमा गम्भीर समस्या देखा पर्छ र तिनलाई लामो समय सघन उपचार आवश्यक पर्छ।

भेन्टिलटरमा भएका बिरामीमा ढुसी र अन्य सूक्ष्मजीवको सङ्क्रमण हुने जोखिम बढी हुने विज्ञहरू बताउँछन्।

भारतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिँदा आईसीयूमा ठूलो चाप परेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, भारतमा कोरोनाभाइरसको दोस्रो लहर फैलिँदा आईसीयूमा ठूलो चाप परेको छ

महामारीका बेला आईसीयूमा बिरामीको चाप बढी हुँदा सङ्क्रमण रोकथाम गर्न नसकिएको चिकित्सकहरू बताउँछन्।

सुरक्षाका लागि गह्रुँगा परिधान लगाएर कर्मचारीहरू धेरै समय काम गर्न बाध्य हुनु , ठूला फ्लूइड ट्यूबको प्रयोग बढ्नु, हात धुन कम हुनु र सरसफाइ तथा निस्सङ्क्रमणको अभ्यासमा परिवर्तन हुनुलाई सङ्क्रमण नियन्त्रण प्रभावकारी रूपमा हुन नसक्नुको कारण मानिन्छ।

त्यसबाहेक अन्य कारणहरू पनि छन्।

स्टेरोइड र अन्य औषधिको अत्यधिक प्रयोग हुँदा शरीरको प्रतिरोध प्रणाली दुर्बल हुन्छ अनि अन्य अदृष्ट परिस्थितिले गम्भीर अवस्थामा भएका कोभिड बिरामीलाई त्यस्ता सङ्क्रमणको धेरै जोखिम हुन्छ।

अवसरवादी सङ्क्रमण

ढुसीले शरीरको प्रतिरोध प्रणाली धेरै शिथिल भएपछि सङ्क्रमण गर्ने भएकाले त्यसलाई "अवसरवादी सङ्क्रमण" भनिने गरेको विज्ञहरू बताउँछन्।

अमेरिकाको लस एन्जलीसमा कार्यरत डा. ज्याकरी रुबिनका अनुसार एचआईभी एड्स भएका मानिसमा त्यस्तो ढुसीको सङ्क्रमण हुने जोखिम उच्च हुन्छ।

"सामायन्यता ढुसीले गराउने रोगहरूको कोभिड-१९ सँग विरल सम्बन्ध हुन्छ। तर भारतमा ती रोगहरू बढिरहेका छन्," उनले भने।

ढुसीको सङ्क्रमण पत्ता लगाउन त्यति सजिलो छैन। परीक्षणका लागि फोक्सोको भित्री भागबाट नमुना सङ्कलन गर्नुपर्ने हुनसक्छ। अनि औषधिहरू महँगा छन्।

यी सङ्क्रमणहरूको उपचार गर्न निकै गाह्रो हुने डा. कालान्तरी बताउँछन्।

"यो तीन किसिमले कठिन छ - कोभिड-१९ का कारण बिरामीको फोक्सो बिग्रिसकेको हुन्छ, तिनमा ब्याक्टेरियाको सङ्क्रमण भएको हुन्छ अनि अहिले ढुसीको सङ्क्रमण," डा. कालान्तरीले भने।

"यो लगभग युद्धमा परास्त हुनु जस्तै हो।"

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड-१९ हुँदा मान्छेको शरीरमा के हुन्छ?