राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा जेल

- Author, प्रकाश पन्त
- Role, सुर्खेत
दुई जना राउटे युवतीलाई मदिरा खुवाएर यौन दुर्व्यवहार गरेको आरोपमा तीन जनालाई सुर्खेत जिल्ला अदालतले कैद र जरिवानाको सजाय सुनाएको छ।
अदालतले सुर्खेत गुर्भाकोट नगरपालिकाका चौमन घर्तीमगर र भूपेन्द्र बुढा मगरलाई सात/सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना गरेको हो।
त्यस्तै यौन दुर्व्यवहार भएको भनिएको होटलका सञ्चालक मनबहादुर पुनलाई तीन वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको अदालतका सूचना अधिकारी उज्ज्वल रावलले बताए।
फैसला अनुसार घर्ती र बुढाले जनही ८ हजार र पुनले ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नु पर्नेछ।
"अहिले संक्षिप्त फैसला आएको छ," सूचना अधिकारी रावलले भने, "फैसला चित्त नबुझे प्रतिवादी ७० दिनभित्र उच्च अदालतमा जान सक्छन्।"
जिल्ला न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले बिहीवार उक्त फैसला गरेको हो।
घटना विवरण
सुर्खेत गुर्भाकोटको एक होटलमा अभियुक्तहरूले २०७८ साल जेठ २१ गते राउटे युवतीहरूमाथि यौन हिंसा गरेको प्रहरीको दाबी छ।
राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि गत वर्ष जेठ २३ गते उनीहरू पक्राउ परेका थिए।
तीनै जनालाई २०७८ असार १६ गते अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।
राउटे समुदायको उत्थानमा सक्रिय सामाजिक कार्यकर्ताले फैसलाको स्वागत गरेका छन्।
राउटे समुदायबारे काम गर्ने सामाजिक सेवा केन्द्र दैलेखका अध्यक्ष हिरासिंह थापाले भने, "आगामी दिनमा यस्ता घटना दोहोरिने छैनन् भन्ने आशा राखेका छौँ।"
राउटे युवतीको उजुरीको आधारमा नेपालमा यस्तो फैसला भएको सम्भवत: यो पहिलो घटना हो।



























