नेपाल- यूएईबीच हुन लागेको क्रिकेट शृङ्खलाको विशेषता कस्ता

- Author, निरञ्जन राजवंशी
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
नेपाल र यूएईबीच सोमवार र मङ्गलवार हुने 'अन्डर लाइट्स टी-२० क्रिकेट' शृङ्खला तीन कारणले नेपालको लागि महत्त्वपूर्ण मानिन्छ।
पहिलो : दुई वर्षपछि नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको आयोजना हुँदै छ।
दोस्रो : कीर्तिपुर रङ्गशालाको कृत्रिम प्रकाश मुनि आयोजना हुन लागेको यो पहिलो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो ।
तेस्रो : स्ट्रेलियाली प्रशिक्षक स्टुअर्ट लले नेपाली राष्ट्रिय पुरुष टोली सम्हालेयता घरेलु मैदानमा यो पहिलो प्रतियोगिता हो।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा आज साँझ ५ बजे खेल सुरु हुने छ र टिकटको मूल्य ७५० राखिएको छ।
शृङ्खलाको मुख्य आकर्षण नेपाल र यूएई बीचको प्रतिद्वन्द्वता नै हो, जुन खेल हेर्न दर्शक सधैँ उत्साहित हुने गरेको इतिहास छ।
कैयौँलाई याद होला, नेपाल र यूएई बीचको पछिल्लो भेट टी २० विश्वकप छनोट २०२६ को लागि ओमानमा भएको थियो।
जहाँ एक रोमाञ्चकारी खेलमा नेपालले अन्तिम ओभरको अन्तिम बलमा यूएईलाई १ रनले पराजित गर्दै विश्वकपको टिकट काटेको थियो।
दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपाली टोली पहिलो पटक टी २० शैलीमा उत्रिँदै छ। यो पनि नयाँ र रोमाञ्चक विषय बनेको छ।
के के छन् प्रतियोगिताका विशेषताहरू?

फ्लड लाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल
नेपाल प्रिमिअर लीग एनपीएल सीजन-२ लाई लक्षित गर्दै नेपाल सरकारले रातारात कीर्तिपुर क्रिकेट मैदान तयार पारेको थियो। ठेकेदार कम्पनीले समय गुजारेपछि दैनिक लाखौँ जरिवाना गराएर फ्लड लाइट सहितको नेपालको पहिलो अन्तर्राष्ट्रिय रङ्गशाला तयार भएको थियो।
एनपीएल सीजन-२ को खेल १० हजार सीट क्षमता भएको कीर्तिपुर रङ्गशालामा सम्पन्न भयो। त्यसपछि दर्शकको प्रतीक्षा अन्तर्राष्ट्रिय क्रिकेटको खेलबारे भइरहेको ठानिएको थियो।
मुम्बईमा टी-२० विश्वकप २०२६ खेलेर फर्किएको नेपाली टोलीले त्यस लगत्तै कीर्तिपुर मैदानमा आइसीसी विश्वकप लीग-२ अन्तर्गत ओमान र यूएई सँग खेल्नुपर्ने थियो।
तर अमेरिका र इरान युद्धका कारण मध्यपूर्वमा समस्या थपिएपछि उक्त शृङ्खला स्थगित हुन पुग्यो। सोही स्थगित खेल अब अर्को हप्तादेखि सुरु हुँदै छ।
त्यसअघि नेपाल र यूएईबीच फ्लड लाइटमा खेल्नका लागि २० ओभरको अन्डर लाइट्स क्रिकेट हुन लागेको हो।
दुई वर्षपछि कीर्तिपुरमा खेल
कीर्तिपुर मैदानमा नेपाली राष्ट्रिय टोलीले २ वर्षपछि अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो।
यसबीचमा नेपाली टोली निकै व्यस्त रहेको थियो तर टोलीले सबै प्रतियोगिताहरू नेपालबाहिर खेलेको थियो। सो क्रममा नेपालले दुई वटा टी-२० विश्वकपमा प्रतिस्पर्धामा सहभागी भइसकेको छ।
नेपालले सन् २०२४ को जुन महिनामा टी-२० विश्वकप अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेलेको थियो भने यसै वर्ष २०२६ को फेब्रुअरीमा मुम्बईको वानखेडे रङ्गशालामा अर्को विश्वकप खेलिसकेको छ।
नेपालले पछिल्लोपटक कीर्तिपुरमा खेलेको सन् २०२४ को मार्च महिनामा थियो।
सोही वर्ष टोलीले एसीसी प्रिमिअर कप ओमानमा र विश्वकप लीग-२ को खेल अमेरिकामा खेलेको थियो।
नेपालले नियमित ४ वर्ष खेल्ने नियमित प्रतियोगिता विश्वकप लीग-२ नै हो। गत वर्ष जुनमा टोली स्कटल्यान्डमा गएर नेदरल्यान्डस सम्मिलित तथा अक्टोबरमा नेपालले यूएईमा अमेरिका सम्मिलित त्रिकोणात्मक लीग-२ शृङ्खला खेलेको थियो।
त्यसपछि टोलीले अक्टोबर/ नोभेम्बर मा टी- २० विश्वकप छनोटको एसिया र इस्ट एसिया प्यासिफिक छनोट प्रतिस्पर्धा ओमानमा खेलेको थियो। त्यहीँबाट विश्वकपको टिकट काटेको थियो। यसबीच टोलीले हङकङ अन्तर्राष्ट्रिय शृङ्खला पनि खेल्यो।
गत फेब्रुअरीमा मुम्बईमा विश्वकप खेलेर फर्किएपछि बल्ल टोलीले घरेलु भूमिमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको हो।

तस्बिर स्रोत, CAN
स्टुअर्ट ल को घरेलु परीक्षा

तस्बिर स्रोत, CAN
अस्ट्रेलियाका स्टुअर्ट ल योग्य प्रशिक्षकमा गनिन्छन्। उनले प्रतियोगिता पूर्व एक दिवसीय र टी २० आई गरी दुई वटा राष्ट्रिय टोलीको निर्माण गरेर छुट्टै रणनीति कोर्ने स्पष्ट सङ्केत दिइसकेका छन्।
छरिता दीपेन्द्र सिंह ऐरीलाई टी-२० को जिम्मा दिएर रोहित पौडेल लगायतका सिनिअर खेलाडीहरूलाई आराम गर्न दिँदै उनले टोलीको संरचना परिवर्तन गरिसकेका छन्।
दुई वर्षका लागि नेपाली टोली सम्हाल्न आएका प्रशिक्षक ल एक वर्ष बितेपछि बल्ल घरेलु मैदानमा नेपाली दर्शक सामु परीक्षामा उभिएका छन्। त्यो पनि त्यस्तो बेला, जहाँ विश्वकप लीग-२ मा नेपालको अवस्था नाजुक अवस्थामा छ।
अन्डर लाइट्सको टी-२० भन्दा स्टुअर्ट ल को ध्यान पक्कै पनि लीग-२ को खेलमा हुने छ। लीग-२ उनका लागि वास्तविक चुनौती हुने देखिएको छ। अब ५ हप्ताको बीचमा उनले लीग-२ को ८ खेलमा शत प्रतिशत नतिजा निकाल्नुपर्ने अवस्था रहेको देखिन्छ।
गत लीग-२ मा यसै मैदानमा खेलेको १२ मा ११ खेल जित्दै भारतीय प्रशिक्षक मन्टी देशाईले चमत्कार गरेका थिए।
घरेलु मैदानमा घरेलु दर्शकका माझ त्यस्तै नतिजा निकाल्ने पालो अब स्टुअर्ट ल को हो भन्दै प्रतीक्षा भइरहेको देखिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



















