सीको पुस्तक जलाएको घटना छानबिन गर्न समिति, अहिलेसम्म हामीलाई के थाहा छ

तस्बिर स्रोत, NurPhoto via Getty Images
- Author, अशोक दाहाल
- Role, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
पूर्वी नेपालस्थित एउटा शैक्षिक संस्थानमा चिनियाँ राष्ट्रपति सी जिन्पिङद्वारा लिखित पुस्तकका कैयौँ प्रतिहरू जलाइएको विषयमा बेइजिङले कूटनीतिक माध्यमबाट आपत्ति व्यक्त गरेपछि छानबिन सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
जिल्ला प्रशासन कार्यालय मोरङले कूटनीतिक संवेदनशीलतासँग जोडिएको उक्त विषयमा छानबिन समिति बनाएर अनुसन्धान सुरु गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए।
"हामीले सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाको नेतृत्वमा पाँचसदस्यीय छानबिन गर्ने टोली बनाएका छौँ। त्यसको म्याद १५ दिन छ," कट्टेलले बीबीसी न्यूज नेपालीसँग भने।
"त्यसलाई तीनवटा क्षेत्राधिकार छ। सत्यतथ्य अनुसन्धान गर्ने, दोषी देखिए के कसरी कारबाहीको दायरामा ल्याउनुपर्छ भनेर सुझाव दिने र आगामी दिनमा यस्ता घटना हुन नदिन गर्नुपर्ने उपाय सुझाउने।"
पुस्तक जलाइएको घटना के हो
मोरङको बूढीगङ्गामा भूतपूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता मनमोहन अधिकारीको नाममा स्थापना गरिएको मनमोहन प्राविधिक विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा सी जिन्पिङको तस्बिर अङ्कित पुस्तक जलाइएको भिडिओ 'लाइभ न्यूज रफ्तार' नामक फेसबुक पेजमा राखिएको थियो।
उक्त मिडियाका सञ्चालक सोनुकुमार दासले पुस्तकहरू जलाइएको भिडिओ फेसबुकमा प्रत्यक्ष प्रसारण गरिएको बताएका छन्। प्रमुख जिल्ला अधिकारीको आग्रहपछि अहिले फेसबुक पेजबाट उक्त भिडिओ हटाइएको जानकारी उक्त पेजमा राखिएको छ।
क्याम्पस प्रशासनका अनुसार घटना फागुन ३० गते शनिवारको हो।
"विद्यार्थीहरूलाई अध्ययन गराउने तीन वटामध्ये एउटा प्रयोगशालामा पुराना किताब र अन्य सामग्रीहरू पनि थिए। विद्यार्थीलाई पठनपाठन गराउन हामीलाई वर्कशप चाहियो। त्यस कारण चाहिने सामान सुरक्षित तरिकाले राख्ने र नचाहिने चिज छानेर हटाउने भनेर निर्णय गरेका थियौँ," विश्वविद्यालयका मुख्य अधिकृत सुजन भुर्तेलले बीबीसीसँग भने।
"जति राम्रो अवस्थामा छन् तिनलाई हामीले सुरक्षित रूपमा राखेकै छौँ। खास चाहिँ धमिरा लागेका मक्किएकाहरूलाई धुल्याइने एउटा विधि अनुसार नष्ट गर्ने क्रममा ती किताब पनि परेका रहेछन्।"
भुर्तेलले चैत १ गते जारी गरेको विज्ञप्तिअनुसार स्कूल अफ इन्जिनिअरिङअन्तर्गत रहेको सिभिल इन्जिनिअरिङ विभागमा प्रयोगशाला बनाउन उक्त स्थान खाली गरी सरसफाइ तथा व्यवस्थापन गर्ने कार्य गरिएको उल्लेख छ।

तस्बिर स्रोत, Screengrab
"सरसफाइको कममा पूर्ण रूपमा बिग्रेका एवम् अन्य कवाडी सामग्रीको व्यवस्थापन गर्ने क्रममा मक्किएका, बिग्रिएका तथा धमिरा लागेका केही पुस्तकहरू नष्ट भएका हुन्। राम्रो अवस्थामा रहेका पुस्तक तथा सामग्रीहरू भने छुट्ट्याई सुरक्षित रूपमा राखिएको बेहोरा जानकारी गराउँदछौँ," विज्ञप्तिमा भनिएको छ।
विश्वविद्यालयले विशेष पुस्तक वा सामग्रीलाई लक्षित गरेर नष्ट नगरिएको दाबी गरेको छ।
"नियतवश होइन, अरू पनि पुस्तक छन्। तिनलाई धमिराले असर नगरोस् भनेर मक्किएका, धमिरा लागेका नष्ट गर्ने कुरा भएको थियो," भुर्तेल भन्छन्।
विश्वविद्यालयमा कसरी पुगे सीका हजारौँ पुस्तक

तस्बिर स्रोत, MTU
उक्त स्थानमा विश्वविद्यालय स्थापना हुनुअघि मनमोहन प्रतिष्ठान सञ्चालनमा रहेको र शिक्षालयमै सीका ती पुस्तकहरू आएको प्रशासनले जनाएको छ।
"पहिले ९-१० वर्षअघि यहाँ प्रतिष्ठान थियो, त्यहाँ भरतमोहन अधिकारीहरू हुनुहुन्थ्यो। प्रतिष्ठानमै आएका हुन सक्छन्," मुख्य अधिकृत भुर्तेल भन्छन्।
चिनियाँ राष्ट्रपतिका पुस्तकहरू अध्ययन तथा वितरणका लागि पुराना कम्युनिस्ट नेताको नाममा स्थापना भएको प्रतिष्ठानलाई उपहार दिइएको आकलन अधिकारीहरूको छ।
प्रतिष्ठानले बाँडेर बाँकी रहेका पुस्तकहरू विश्वविद्यालयमा रहेका प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालयलाई दिएको आन्तरिक छानबिन प्रतिवेदनमा विश्वविद्यालयले अझै उक्त पुस्तकका हजारौँ प्रति रहेको जनाएको छ।
"अझै पनि हामीसँग १०-१२ हजार वटाभन्दा धेरै किताबहरू छन्," भुर्तेल भन्छन्।
चीनले के भन्यो

तस्बिर स्रोत, MTU
राष्ट्रपति सी जिन्पिङद्वारा चीनको शासनबारे लिखित पुस्तक जलाइएका विवरणबारे काठमाण्डूस्थित चिनियाँ दूतावासले परराष्ट्र मन्त्रालयमार्फत् आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेको अधिकारीहरूले बताएका छन्।
परराष्ट्र मन्त्रालयले उक्त विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराएको थियो।
गृहमन्त्री ओमप्रकाश अर्यालले घटनाबारे छानबिन गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए।
"के विषय हो सत्यतथ्य पत्ता लगाएर दोषीलाई कानुनी कारबाही गर्ने निर्देशन गृह मन्त्रालयबाट भएको छ," काफ्लेले भने।
गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको प्रमुख जिल्ला अधिकारी कट्टेलले बताएका छन्।
"सार्वभौम मुलुकको राष्ट्रप्रमुख, त्यसमाथि पनि छिमेकी राष्ट्रको राष्ट्रप्रमुखको पुस्तक नियोजित रूपमा जलाइएको भन्ने प्रारम्भिक छानबिनमा देखिँदैन। त्यो कसरी हुन गयो भन्ने विषयमा उहाँहरूले पनि छानबिन गरिरहेका छौँ भन्नुभएको छ," कट्टेल भन्छन्।
क्याम्पसले लिखित निर्णय नै गरेर काम नलाग्ने कुराहरू धुल्याइने उल्लेख गरेका कारण पुस्तक जलाएको विषय नियोजित नभएको आफ्नो आकलन रहेको अधिकारीहरूले बताएका छन्।
विराटनगरबाट विक्रम निरौलाको थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



























