पक्राउ पुर्जी जारी भएपछि देउवाको प्रतिक्रिया, 'वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ'

    • Author, फणीन्द्र दाहाल र अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ७ मिनेट

भूतपूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी एवम् भूतपूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू अहिले कहाँ छन् भन्ने कुराको खोजीनिती गर्न थालिएको अधिकारीहरूले बताएका छन्।

सरकारले देउवा दम्पतीको नाममा पक्राउ पुर्जी जारी भएको विषयमा औपचारिक रूपमा केही बताएको छैन। तर बीबीसीले कुरा गरेका एक अधिकारीले मङ्गलवार साँझ काठमाण्डू जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ पुर्जी जारी गरिएको जानकारी दिए।

न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले पक्राउको अनुमति दिएको ती अधिकारीले बताए।

भदौ महिनामा भएको जेन जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले देउवा दम्पत्तिको घरमा आक्रमण गर्दै उनीहरूमाथि हातपात पनि गरेका थिए।

भदौ २४ गते देउवा निवासमा जलेका विदेशी र स्वदेशी मुद्रा फेला परेको दाबीसहित कैयौँ भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भए। पछि देउवाले ती भिडिओहरू एआईबाट तयार पारिएका दाबी गरे।

तर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यस विषयमा अनुसन्धान थालेको अधिकारीहरूले बताएका थिए।

सम्पत्ति शुद्धीकरण विभागले यसअघि उक्त कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत् पुर्जी दिने र पक्राउ गर्ने गर्दै आएको थियो।

केही दिनअघि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भूतपूर्व ऊर्जामन्त्री दीपक खड्कालाई पक्राउ गरेको थियो।

देउवाद्वारा आरोपको प्रतिवाद, नेपाल फर्कनेबारे मौन

देउवाले आफूलाई सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिएको सञ्चारमाध्यमबाट जानकारी पाएको भन्दै आफू र आफ्नो परिवारका बारेमा सम्पत्तिसम्बन्धी विषयमा 'भ्रामक र झूटा प्रचारबाजी' भएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा राखिएको पोस्टमा देउवाले भनेका छन्, "नेपालको कानुनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेस गरेको अवगत गराउन चाहन्छु।"

"देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायपालिका, पारदर्शितासँगै राज्यका अङ्गहरू स्वतन्त्र र सक्षम हुनुपर्छ भन्ने मान्यताका लागि मैले सिङ्गो जीवन सङ्घर्षमै व्यतीत गरेको हुँ। वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्छु।"

देउवाले थपेका छन्, "भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ।"

देउवाले आफ्नो जीवन एउटा खुला पुस्तकका रूपमा रहेको भन्दै आफू अहिले स्वास्थ्य उपचारको क्रममा विदेशमा रहेको र उपचारको क्रम जारी नै रहेको बताएका छन्।

के भन्छ नेपाल प्रहरी

केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक मनोज केसीले देउवा दम्पतीको विषयमा आफूहरूसँग कुनै सहयोग माग नगरिएको बताए।

उनले विभागबाट सहयोग माग भएको अवस्थामा मात्रै आफूहरूले सहयोग गर्ने बताए।

"कतिपय अवस्थामा उहाँहरूलाई आवश्यक परेको सहायता गर्ने गर्छौँ। यो विषयमा चाहिँ मलाई जानकारी छैन," केसीले भने।

बीबीसीले कुरा गरेका अधिकारीहरूका अनुसार काठमाण्डू जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

नेपाल प्रहरीका प्रवक्ताले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धानमा सहयोग माग भए उपलब्ध गराउन प्रहरी सधैँ तयार रहेको बताए।

"हामीले गर्नुपर्ने सहयोग कानुनबमोजिम हामी गरिहाल्छौँ। अरू प्रक्रिया उहाँहरूले नै गर्नुहुन्छ। त्यहाँ (सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग)मा पनि प्रहरी छ," प्रवक्ता अबिनारायण काफ्लेले भने।

देउवा दम्पतीको यात्रा विवरण माग

सम्पत्ति शुद्धीकरण विभागले केही दिनअघि अध्यागमन विभागलाई पत्र लेखेर देउवा दम्पतीको यात्रा विवरण र उनीहरू पछिल्लो समय रहेको स्थानका बारेमा जानकारी माग गरेको थियो।

अधिकारीहरूले त्यस्तो जानकारी माग गरिनुलाई आफूहरूले "सामान्य प्रक्रिया" का रूपमा लिने र उत्तर दिने गरेको बताएका छन्।

त्यस्तो जनकारी माग गरिएको खण्डमा आफूहरूले राहदानी नम्बरका आधारमा 'ट्राभल हिस्ट्री'को अभिलेख तयार पार्ने र अन्तिम पटक उपस्थित देखिएको स्थानबारे अनुसन्धान निकायलाई अवगत गराउने ती अधिकारीले बताए।

पक्राउ पुर्जी जारी भएसँगै यो विषयमा 'इन्टरपोलमार्फत् पक्राउ पुर्जी जारी गर्ने' तयारी भएका विवरणहरू पनि आएका छन्।

नेपाल प्रहरीभित्र रहेको न्याश्नल सेन्ट्रल ब्यूरोमार्फत् त्यसका लागि जाहेरी दरखास्तसहित उपलब्ध प्रमाण र सम्बन्धित कागजपत्र इन्टरपोल मुख्यालयलाई बुझाउनुपर्ने प्रावधान छ।

ती कागजपत्रको जाँच गरेर पक्राउ पुर्जी जारी गर्न मिल्ने वा नमिल्नेबारेमा इन्टरपोल स्वयंले निर्णय लिने नेपाल प्रहरीका प्रवक्ता बताउँछन्।

"अहिलेसम्म यसबारेमा त्यस्तो प्रक्रिया अघि बढेको वा यसमा सीआईबीको केही सहयोग मागिएको मेरो जानकारीमा छैन।"

देउवानिकट मानिने नेता भन्छन्,'सामना गर्न तयार'

देउवानिकट मानिने नेता मीनबहादुर विश्वकर्माले सरकारले लगाएका आरोप विधिसम्मत नपाइएमा राजनीतिक र कानुनी रूपमा प्रतिवाद गरिने बताए।

उनी भन्छन्, "राजनीतिक, कानुनी र अहिलेको यो गतिविधिलाई एक राजनेताका रूपमा सामना गर्न उहाँ तयार हुनुहुन्छ। मलाई लाग्छ, उहाँ उपचार सक्ने बित्तिकै आउनुहुन्छ। उहाँ यसबाट भाग्नुहुन्छ भन्ने म कल्पना पनि गर्दिनँ।"

उनले पक्राउ पुर्जी जारी भएको विषय 'हल्लाका रूपमा' आएको भन्दै वैधानिक ढङ्गले त्यो जारी गरिएको भए सघाउने नत्र कानुनी प्रतिवाद गर्ने बताए।

नेता विश्वकर्मा भन्छन्, "अभियोजन दर्ता भइसकेपछि सम्पत्ति शुद्धीकरण वा अन्य मुद्दामा पनि अभियोजन दर्ता हुन्छ होला। अभियोजन दर्ता भइसकेपछि सम्बन्धित व्यक्तिलाई जानकारी हुन्छ होला। त्यसपछि मात्रै पक्राउ पुर्जी हुन्छ होला। पक्राउ पुर्जी पहिला अनि त्यसपछि मात्रै प्रक्रिया हुँदैन। विधि प्रक्रियाको कुरा त्यही भएर मैले उठाएको हुँ। हामी सबै कुराको कानुनी उपचार नै खोज्छौँ।"

उपचार सम्पन्न गराएर देउवा दम्पती चाँडै नेपाल फर्कने विश्वास पनि उनले गरे।

"शेरबहादुर देउवा एउटा वचनका पक्का, निर्भीक, विधि, प्रक्रिया र राज्यका वैधानिक निकायहरूको निर्णयलाई मान्ने निडर नेता हो। भदौ २४ गतेको घटनामा पनि सबै भागे, उहाँ भाग्नुभएन।"

"भौतिक आक्रमण भोगे पनि आग्रह पूर्वाग्रह नराखी आफ्नो अभिव्यक्ति उहाँले राख्नुभयो। अहिले उपचारका लागि जानुभएको हो। यो समाचार आउनुभन्दा पहिला हप्ता १० दिन लाग्छ भनेको सुनेको हो। ३-४ दिन गइसक्यो, शायद सक्ने बित्तिकै उहाँ आउनुहुन्छ।"

भूतपूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित देउवापक्षीय नेताहरूलाई टेलिफोन गर्दा कुराकानी हुन सकेन। उक्त समूहले पछिल्ला दिनमा पार्टीभित्र समानान्तर राजनीतिक गतिविधि गरिरहेको छ।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले चाहिँ राज्यले पूर्वाग्रही ढङ्गले अनुसन्धान गर्न नहुने भन्दै कानुनसम्मत कदमहरूमा आफ्नो समर्थन रहने बताए।

"राज्यले गर्ने कुराहरू आफ्नो पूर्वाग्रह राखेर गर्नु भएन। कानुनसम्मत विधिसम्मत गर्ने कुरा जुनसुकै सरकारले पनि गर्न सक्छ। सबै कामहरू विधिसम्मत प्रक्रियागत कानुनी राज्यको परिस्थितिलाई दृष्टिगत गरेर गर्नुपर्छ। राजनीतिक आस्था वा पूर्वाग्रहको आधारमा हुनु हुँदैन। तथ्यमा हुनुपर्‍यो," चालिसेले भने।

कांग्रेस प्रवक्ताले भ्रष्टाचार र अनियमिततामा राजनीतिक आस्थाका आधारमा आफूहरूले प्रतिवाद नगर्ने बताए।

"भ्रष्टाचार र अनियमितता भनेका सामाजिक समस्या हुन्। त्यसमा दल, नातागोता भन्ने कुरा केही पनि हुँदैन," उनले भने।

चालिसेले आफूहरू राज्यले गर्ने अनुसन्धानबारे आस्थाका आधारमा टिप्पणी गर्ने पक्षमा नरहेको बताए।

चुनाव हुनु एक साताअघि फागुन १३ गते पूर्वप्रधानमन्त्री देउवा उपचारको निम्ति भनेर सिङ्गापुर गएका थिए। त्यहाँबाट पछि उनी सपरिवार हङ्‌कङ पुगेको विवरण सार्वजनिक भएको थियो।

त्यति बेला बीबीसीसँग कुरा गर्दै नेपाली कांग्रेसमा देउवासँग निकट मानिने नेता प्रकाशशरण महतले देउवा कहिले फर्किने हुन् भन्नेबारे सूचना नभएको बताएका थिए।

देउवा प्रधानमन्त्री छँदा उनका प्रेस सल्लाहकार रहेका गोविन्द परियारले सोमवार बीबीसीसँग कुरा गर्दै देउवा केही दिनमा फर्किने बताएका थिए।

"कुनै कानुनी झमेला आइपर्‍यो भने त्यसबाट पन्छिने भन्ने कुरा छैन," उनले भने, "उहाँले पञ्चायतकालदेखि जेलनेल, अनेक तनाव बेहोरिसक्नुभएको छ, उहाँ सबै (चुनौती) सामना गर्न तयार हुनुहुन्छ। यद्यपि उहाँको त्यस्तो (मुद्दा बेहोर्नुपर्ने आधार) खासै केही छैन," उनले भनेका थिए।

कार्की आयोगको 'प्रतिवेदन'मा के छ

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगलाई दिएको बयानमा देउवाले नेपाल प्रहरीले गरेको मुचुल्कामा आफ्नो निवासमा भेटिएको रकमबारे जबाफ दिएको बताइन्छ।

कति रकम बरामद भएको थियो भनेर नखुलाइएको उक्त प्रतिवेदन विभिन्न सञ्चारमाध्यममार्फत् सार्वजनिक भएको छ। अहिलेसम्म सरकारी निकायले औपचारिक रूपमा सार्वजनिक नगरेको उक्त प्रतिवेदनको आधिकारिकता बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न सकेको छैन।

"...ठूलो परिमाण थिएन। सामाजिक सञ्जालको विवरण एआई जेनरेटेड हुनुपर्छ। सो सम्बन्धमा कुनै प्रहरी कार्यालयमा रिपोर्ट गरेको थिएन। यो नितान्त षड्यन्त्र हो तर कसले गर्‍यो थाहा भएन," सञ्चारमाध्यममा प्रकाशित प्रतिवेदनमा देउवालाई उद्धृत गरिएको छ।

उक्त प्रतिवेदनका अनुसार देउवाले तोडफोड, लुटपाट र आगजनी गर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने माग समेत आफ्नो बयानमा गरेका थिए।

आयोगले आफ्नो सिफारिसमा भदौ २४ गते देउवालगायत अन्य व्यक्तिहरूको घरमा आक्रमण हुँदा फेला परेको रकमका बारेमा कानुनबमोजिम विस्तृत अनुसन्धान गर्न सिफारिस गरेको थियो।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।