तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लेबननी किशोरीले खिचेको सेल्फी भिडिओमा इजरेली हमला हुँदाको दृश्य
लेबननको राजधानी बेरुतमा बुधवार एक १३ वर्षे किशोरी सेल्फी भिडिओ खिच्दै थिइन्। त्यही बेला त्यहाँ इजरेली हवाई हमला भयो।
सोशल मिडियाका लागि फिल्टर प्रयोग गरेर उनले खिचेको भिडिओमा त्यसपछि उनी आत्तिएर भागेको देखिन्छ।
अमेरिका र इजरेलले झन्डै डेढ महिनाअघि इरानमाथि आक्रमण थालेपछि लेबनन पनि इजरेली निसानामा पर्दै आएको छ।
यो द्वन्द्व सुरु भएपछि बुधवार लेबननमा सबैभन्दा भीषण हमला गरिएको इजरेलले जनाएको छ। उसका अनुसार त्यस क्रममा लेबननी लडाकु समूह हिज्बुल्लाहलाई लक्षित गर्दै १० मिनटभित्र १०० भन्दा बढी स्थानमा हवाई हमला गरिएको थियो।
लेबननका अनुसार इजरेली हमलामा ३०० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ भने अरू सयौँ जना घाइते भएका छन्।
इजरेलले लेबननसँग प्रत्यक्ष वार्ता गर्ने
इजरेल र हिज्बुल्लाहबीच बिहीवार राति पनि लडाइँ जारी रह्यो। इजरेलले लेबननमा हवाई हमला गर्यो भने हिज्बुल्लाहले रकेट प्रहार गरेपछि तेल अभिभ र अरू स्थानमा सर्वसाधारण मानिसलाई सुरक्षित स्थानमा बस्न सूचना दिनुपर्ने अवस्था आयो।
इरानी अधिकारीहरूले लेबननमाथि भएको हमलाको निन्दा गर्दै इजरेलले युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। तर इजरेल र अमेरिकाले युद्धविरामको सहमतिमा लेबनन नपर्ने दाबी गर्दै आएका छन्।
अमेरिकी राष्ट्पति डोनल्ड ट्रम्पले इजरेल र लेबननबीचको द्वन्द्व इरानसँगको भन्दा भिन्न रहेको बताएका छन्।
नेतन्याहूले बिहीवार लेबननसँग प्रत्यक्ष वार्ता गर्न आफ्नो मन्त्रिपरिषद्लाई निर्देशन दिए। बेरुतले पनि आफू वार्ताका लागि तयार भएको जनाएको छ।
नेतहन्याहूका अनुसार लेबननले बारम्बार आह्वान गरेकाले आफूले प्रत्यक्ष वार्ता गर्न मन्त्रिपरिषद्लाई भनेको जनाएका छन्। उनका अनुसार वार्ता "हिज्बुल्लाहलाई निरस्त्र पार्न र इजरेल र लेबननबीच शान्तिपूर्ण स्थापना गर्न" केन्द्रित हुने छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।