तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरान र अमेरिकाबीचको ऐतिहासिक शान्तिवार्ता 'निष्कर्षविहीन'
इरान र अमेरिकाबीच पाकिस्तानको इस्लामाबादमा भएको शान्तिवार्ता कुनै निष्कर्षमा नपुगेको अमेरिकी पक्षले जनाएको छ।
"हामी यहाँ २१ घण्टादेखि छौँ। तर दुःखद समाचार के छ भन्दा हामी सहमतिमा पुग्न सकेनौँ," अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तापछि एउटा पत्रकार सम्मेलनमा भने।
आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका उपराष्ट्रपति भान्सले अमेरिकी वार्ता टोली अब स्वदेश फर्कने बताए।
उनले संयुक्त राज्य अमेरिकाले उसका "लक्ष्मणरेखाहरू" प्रस्ट पारेको तर इरान ती शर्तहरूमा "सहमत नभएको" उल्लेख गरे।
"हामीले ती सब विषयमा कुरा गर्यौँ," भान्सले भनेः "त्यसबाहिरका पनि थुप्रै विषयमा हामीले कुराकानी गर्यौँ।"
"हामी त्यस्तो अवस्थामा पुग्न सकेनौँ, जहाँ इरानले हाम्रा शर्तहरू स्वीकार्न सक्थ्यो," उनले अगाडि थपे।
वार्ताप्रति अमेरिकी नीतिको चर्चा गर्दै भान्सले पत्रकारहरूलाई भनेः "मलाई लाग्छ हामी बिल्कुल लचिलो थियौँ, हामी एकदमै मिल्न सक्ने रूपमा थियौँ।"
उनले घण्टौँसम्म चलेको क्रममा राष्ट्रपति डोनल्ड ट्रम्पसँग कैयौँ पटक कुराकानी गरेको पनि जानकारी दिए।
"मलाई थाहा छैन कि यस बीचमा मैले राष्ट्रपतिज्यूसँग ठ्याक्कै कति पटक कुरा गरेँ, पछिल्लो २१ घण्टामा दर्जन पटक संवाद भएको हुनुपर्छ।"
ट्रम्पको 'मुख्य लक्ष्य'
उपराष्ट्रपति भान्सले वार्ताका लागि अमेरिका लचिलो र "सद्भावका साथ" पाकिस्तान आएको भन्दै दुर्भाग्यवश दुवै पक्ष सहमतिमा पुग्न नसकेको बताए।
"यो नै हाम्रो अन्तिम र सर्वोत्तम प्रस्ताव हो भन्ने एकदमै सरल प्रस्तावसहित हामी यहाँबाट बाहिरिँदै छौँ। इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भनी हामी हेर्छौँ," भान्सले भने।
इरानको पारमाणविक सामर्थ्यबारे पत्रकारहरूको जिज्ञासामा भान्सले इरानलाई पारमाणविक अस्त्र हासिल गर्नबाट रोक्नु राष्ट्रपति डोनल्ड ट्रम्पको वर्तमान र भविष्य दुवैको "मुख्य लक्ष्य" भएको बताए।
यसअघि ट्रम्पले युद्धमा अमेरिका जितिसकेको भन्दै वार्ताको नतिजा जेसुकै आए पनि आफूलाई "फरक नपर्ने" टिप्पणी गरेका थिए। "हेरौँ के हुन्छ, तर मेरो विचार म वास्ता गर्दिनँ," पत्रकारहरूसँग उनले भने।
इरानी पक्ष के भन्छ?
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघईले वार्ताहरू "सघन" भए पनि त्यसको "सफलता" अर्को पक्षको "गम्भीरता एवं असल नियतमा निर्भर गर्ने" बताएका छन्।
उनले "अत्यधिक माग तथा नाजायज आग्रहहरू" नगर्न तथा इरानका "वैध अधिकार एवं स्वार्थहरू स्वीकार्न" वाशिङ्गटनलाई आग्रह समेत गरे।
होर्मुज जलमार्ग, इरानको पारमाणविक कार्यक्रम, "इरानमा युद्धको पूर्णतः अन्त्य" लगायतका विषयमा आफूहरूले छलफल गरेको उनले बताए।
केही दिनअघि दुई साताका लागि युद्धविराम गर्न सहमत भएका अमेरिका र इरानबीच पाकिस्तानको मध्यस्थतामा शान्तिवार्ता भएको हो।
छ हप्ता लामो युद्ध अन्त्य गर्ने प्रयासमा दुवै देशका प्रतिनिधिमण्डल सन् १९७९ को इस्लामिक क्रान्तिपछि पहिलो पटक उच्चस्तरीय वार्ता गर्न पाकिस्तानको राजधानी इस्लामाबाद पुगेका थिए।
इरानका सभामुख समेत रहेका इरानी वार्ता टोलीका नेता मोहम्मद बाकर कलिबाफले वाशिङ्टनले सही सम्झौता प्रस्ताव गरेमा र इरानको अधिकार सुनिश्चित गरेमा तेहरान सहमतिका लागि तयार रहेको बताएका थिए।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।