इरानमा सैन्य कारबाही रोक्नेबारे विचार गरिरहेको ट्रम्पको भनाइ

तस्बिर स्रोत, Getty Images
राष्ट्रपति डोनल्ड ट्रम्पले इरानमा अमेरिकाले आफ्नो सैन्य कारबाही अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले अमेरिका आफ्नो उद्देश्य पूरा गर्नेतर्फ निकै नजिक पुगेको बताए। तर त्यसअघि पत्रकारहरूसँग कुरा गर्ने क्रममा उनले "युद्धविराम नचाहेको" बताएका थिए।
"तपाईंले अर्को पक्षलाई वास्तवमै मेटाइरहँदा युद्धविराम गर्नुहुन्न," ट्रम्पले भने।
बीबीसीको अमेरिकी साझेदार सीबीएसले अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना खटाउने सम्भावनाको लागि विस्तृत तयारी गरिरहेका भन्ने विवरण सार्वजनिक गरिरहँदा ट्रम्पका यी मिश्रित सन्देशहरू आएका छन्।
कैयौँ स्रोतहरूसँग कुरा गरेको सीबीएसले उक्त योजनाका क्रममा इरानी सैनिकहरू पक्राउ परेमा अमेरिकाले उनीहरूलाई हिरासतमा राख्ने कुरा कसरी सम्हाल्ने छ भन्ने बारेमा छलफलहरू समेत भएका छन्।
के स्थल कारबाहीको योजना बनिरहेको हो?
अमेरिकी सैन्य अधिकारीहरूले इरानमा स्थल सेना तैनाथ गर्ने सम्भावनाको लागि विस्तृत तयारी गरिरहेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले उक्त छलफलको बारेमा जानकार कैयौँ नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै समाचार प्रकाशन गरेको छ।
सीबीएसको उक्त खबरमा पेन्टागनका वरिष्ठ अधिकारीहरूले यस्तो कदम चाल्ने योजना बनाउन विशेष अनुरोध गरिरहेको जनाइएको छ।

तस्बिर स्रोत, Reuters
शुक्रवार राष्ट्रपति ट्रम्पले इरानविरुद्धको आफ्नो कारबाही "बन्द" गर्नेबारे विचार गरिरहेको बताइरहँदा उक्त खबर आएको हो।
ट्रम्पले त्यसअघि पत्रकारहरूसँग बोल्ने क्रममा उनी "कहीँ पनि" स्थल सेना पठाउने योजनामा नरहेको जनाएका थिए।
रक्षा मन्त्रालयले शुक्रवार आएका सेना खटाउने बारेका खबरमा टिप्पणीको लागि गरिएको बीबीसीको अनुरोधको जबाफ दिएको छैन।
मध्य पूर्वमा वाशिङ्गटनको सैन्य कारबाहीको जिम्मेवारीमा रहेको यूएस सेन्ट्रल कमान्डले सम्भावित सैन्य तैनाथीका बारेमा आकलन गर्न अस्वीकार गर्यो।
ऊर्जा बजारमा दबाव, के गरिँदै छ?
आफ्नो पछिल्लो पोस्टमा ट्रम्पले स्ट्रेट अफ होर्मुज जलमार्ग प्रयोग गर्ने अन्य राष्ट्रहरूले त्यसको सुरक्षा गर्नुपर्ने र अमेरिका तीमध्ये एक नरहेको बताएका थिए।
यसअघि ब्रिटेनले हर्मुजलाई लक्षित गर्ने इरानी साइटहरूमा आक्रमण गर्न आफ्नो सैन्य आधारहरूको प्रयोग गर्न अमेरिकालाई स्वीकृति दिएको थियो। तर ट्रम्पले उक्त निर्णय "निकै ढिलो" आएको बताए।

तस्बिर स्रोत, EPA
इरानका विदेशमन्त्रीले ब्रिटिश प्रधानमन्त्री किअर स्टार्मरलाई "ब्रिटिश नागरिकहरूको जीवनलाई खतरामा पारेको" आरोप लगाउँदै "इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्ने" बताएका छन्।
होर्मुज जलमार्ग विश्वको लगभग २० प्रतिशत तेलको लागि एक महत्त्वपूर्ण ढुवानी मार्ग हो।

ऊर्जा बजारमा जारी युद्धको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा अमेरिकाले समुद्रमा पहिले नै रहेको इरानी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको छ।
मार्च २० तारिखअघि पानीजहाजहरूमा लोड गरिएको तेलमा तीस दिनको फुकुवा लागु हुने छ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार त्यसले विश्व बजारमा १४० मिलियन ब्यारेल तेल ल्याउने छ।
यसअघि नै अमेरिकाले समुद्रमा रहेका रुसी तेलमाथिको प्रतिबन्धहरू हटाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



























