के पानी इरान युद्धमा हतियारका रूपमा प्रयोग हुन सक्छ?

तस्बिर स्रोत, BBC and Getty Images
- Author, निक एरिक्सन
- Role, बीबीसी विश्व सेवा
- पढ्ने समय: ५ मिनेट
त्रासदीपूर्ण भविष्य चित्रण गरिएका उपन्यास र चलचित्रहरूमा रित्तिँदो प्राकृतिक स्रोतका कारण निम्तिने द्वन्द्वको दृश्य अब वास्तविक संसारमा पनि मात्र कल्पनाको विषय नहुन सक्छ, खास गरी इरानमा अमेरिका र इजरेलको द्वन्द्व अझै चर्किएको अवस्थामा।
अनुमान गरिएजस्तै अहिलेको युद्ध पनि यो क्षेत्रमा लामो समयदेखि पश्चिमा हस्तक्षेप निम्त्याइरहेको तेलकै विषय वरिपरि छ।
अहिले युद्ध व्यापक बन्दै गएर यसमा छिमेकी खाडी राष्ट्रहरू पनि तानिँदा कतिपय विश्लेषकहरूले अर्को जोखिमको विषय पानी हुन सक्ने बताएका छन्।
खाडी क्षेत्रसँग विश्वको २ प्रतिशत मात्रै मूलको पानी उपलब्ध छ। यो क्षेत्रको खानेपानीको मुख्य स्रोत समुद्रबाट पिउन योग्य बनाइने पानी हो। सन् १९५० को दशकदेखि तेल उद्योगको वृद्धिले यस क्षेत्रको सीमित जल आपूर्तिमा पनि प्रभाव परेको छ।
समुद्रमा निर्भरता

फ्रान्सको इन्टर्न्याश्नल रिलेशन्स इन्स्टिट्यूटका अनुसार कुवेतमा प्रयोग हुने ९० प्रतिशत पानी समुद्रको पानीमा लवण हटाएर पिउन योग्य बनाउने विधि (डीस्यालिनेशन)बाट तयार गरिन्छ। यो अनुपात ओमानमा ८६ प्रतिशत, साउदी अरबमा ७०प्रतिशत र यूएईमा ४२ प्रतिशत छ।
"सन् २०२१मा डीस्यालिनेशन प्लान्टहरूबाट खाडी राष्ट्रहरूमा प्रतिदिन दुई करोड घनमिटर पानी निकालिन्थ्यो। यो ८,००० वटा पौडीपोखरी भर्न पुग्ने परिमाण हो," ओमान जल तथा जलचर विज्ञ डा विल केन भन्छन्।

तस्बिर स्रोत, Fadel Senna / AFP via Getty Images
खाडी क्षेत्रमा जमिनमुनिको पानीको भण्डार पनि सुक्दै गएका कारण कृषि र खाद्य उत्पादनका लागि पनि समुद्रबाट नुनको मात्र हटाइएको पानीको भर पर्नुपर्ने अवस्था छ।
पानीको यो हदसम्मको परनिर्भरताले यस विधिका लागि प्रयोग हुने पूर्वाधारहरूलाई जोखिममा राखेको छ। यसको दोहन अमेरिका र इरान दुवैले गर्न सक्ने जोखिम छ।
निसानामा जलपूर्वाधार
विश्लेषकहरू तेहरानको शैली समानान्तर युद्ध बढाउनेखाले रहेको बताउँछन्। उसले अमेरिका र इजरेललाई सीधै प्रतिवाद गर्नुको सट्टा जलपूर्वाधारहरूलाई निसाना बनाइरहेको छ।
"यदि खाडी सरकारहरूले जलपूर्वाधारहरू आक्रमणमा परेको ठाने भने उनीहरूले युद्ध अन्त्यका लागि अमेरिकालाई दबाव दिने सम्भावना रहन्छ," कतारस्थित नर्थ वेस्टर्न विश्वविद्यालयका प्राध्यापक मार्क ओवेन जन्स भन्छन्। उनी इरानको आक्रमण त्रासको अवस्था सिर्जना गरेर मानिसहरूलाई तर्साउने खालको रहेको बताउँछन्।

तस्बिर स्रोत, Fadel Senna / AFP via Getty Images
बाहरेनले इरानमाथि डीस्यालिनेशन प्लान्टमा आक्रमण गरेको आरोप लगाएको छ। अर्कोतर्फ इरानले पनि यसअघिको अमेरिकी आक्रमणले स्ट्रेट अफ होर्मुजमा रहेको एउटा पानी प्रशोधन केन्द्रमा क्षति पुगेको बताएको छ।
दुबईको जेबल अलि बन्दरगाहमा भएको इरानी आक्रमण पनि विश्वकै सबैभन्दा ठूलो डीस्यालिनेशन केन्द्रनजिक थियो।
यूएईको एउटा पानी प्रशोधन केन्द्रनजिक शङ्कास्पद आगो देखिएको भए पनि अधिकारीहरूले उक्त केन्द्र चालु रहेको बताएका छन्।

कुवेतको दोहा वेस्ट प्लान्टमा पनि नजिकैको बन्दरगाहमा भएको आक्रमणका भग्नावशेषका कारण क्षति पुगेको विवरण आएका छन्।
"इरानका लागि यो तर्साउने खेल हो," संयुक्त राष्ट्रसङ्घको पानी, वातावरण र स्वास्थ्य विश्वविद्यालय इन्स्टिट्यूटका प्रमुख काभेह मदानी भन्छन्।

इरानको भनाइ
इरानले आफ्ना हरेक कदमलाई आफूमाथि भएको आक्रमणको स्वाभाविक प्रतिकारका रूपमा चित्रित गर्दै आएको छ।
संवेदनशीन जलपूर्वाधारमा हुने जुनसुकै आक्रमणले इरानको क्षमता र अमेरिकी एवं इजरेली सैन्य कदमको बदलामा यो देश कुन हदसम्म जान सक्छ भन्ने देखाउँछ।
तर मदानी यसको वास्तविक प्रभाव आक्रमण गर्नुभन्दा पनि खाडीका लागि संवेदनशील जलपूर्वाधारमा आक्रमणको धम्कीमा रहेको बताउँछन्।
"ऐतिहासिक रूपमा पनि पानीलाई सधैँ धम्की दिने हतियारको रूपमा प्रयोग गरिँदै आएको छ," उनी भन्छन्।

मदानी तेहरानले डीस्यालिनेशन केन्द्रहरूमा सीधै आक्रमण नगर्नुका पछाडि जेनीभा महासन्धिको धारा ४५ रहेको र उसले आफ्ना आक्रमणलाई प्रतिकारका रूपमा चित्रित गरिरहेको बताउँछन्।
"उक्त कानुनले गैरसैनिक पूर्वाधारमा आक्रमण गर्न रोक लगाएको छ। तर [इरानले] यसको सुरुआत गरेको होइन। त्यो अब्बास अग्चीको सामाजिक सञ्जाल पोस्टमा थियो," इरानी विदेशमन्त्रीको भनाइ उद्धृत गर्दै उनी भन्छन्।
यसले अमेरिकाका सहयोगी देशहरूको जलसुरक्षामा जोखिम देखाउने उनी बताउँछन्।
इरान पनि यो मामलामा जोखिममा छ। यद्यपि इरानको जलआपूर्ति अलि विविध रहेको र उसका छिमेकी खाडी राष्ट्रहरू जस्तो डीस्यालिनेशनमा कम निर्भर रहेको मदानी बताउँछन्।
खाडी राष्ट्रका संवेदनशील जलपूर्वाधारमा आक्रमण भए त्यसले इरानमाथि पनि जबाफी आक्रमणको जोखिम निम्त्याउने अरू पर्यवेक्षकहरू बताउँछन्।

इरानको जलसङ्कट
इरानले केही समयदेखि "पानीको अति अभाव" सामना गरिरहेको छ। न्यून वर्षा "राजधानीका शताब्दिऔँ पुराना संरचनामा पानीको चुहावट" र इजरेलसँगको युद्धका कारण अभाव निम्त्याएको अराग्ची बताउँछन्।
इरानको जल तथा सुक्खा व्यवस्थापन कार्यालयका अधिकारीका अनुसार देशका बाँधहरू पनि चिन्ताजनक अवस्थामा छन्।
पुराना बाँध, पानीमा आधारित कृषि र अव्यवस्थाले अवस्था थप खराब बनाएको छ। केही क्षेत्रमा जमिनमुनिको पानी दोहनले अझै गम्भीर अवस्था निम्त्याएको छ।
अधिकारीहरूले तेहरानले कुनै दिन पानीमा हदबन्दी तोक्ने वा निश्चित क्षेत्रका मानिसहरूलाई अर्को स्थानमा सार्नुपर्ने हुनसक्ने बताएका छन्।

तस्बिर स्रोत, Morteza Nikoubazl/NurPhoto via Getty Images
केही अनुसन्धानकर्ताहरूका अनुसार, यो वातावरणीय र राष्ट्रिय सुरक्षा दुवैका लागि खतरा हो र यसले अमेरिका र इजरेलसँग चलिरहेको द्वन्द्वका कारण झनै खराब भएको आन्तरिक स्थिरता र आर्थिक क्षमतालाई पनि असर गर्छ।
युद्धभन्दा अघिबाटै इरानमा पानीको अभावले आन्तरिक अशान्ति निम्त्याउन भूमिका खेलेको थियो। इस्फाहानसहितका केही ठाउँमा महँगी र राजनीतिक वातावरणप्रतिको व्यापक असन्तुष्टि मिसिएका विरोध प्रदर्शनहरू भएका थिए।
इरानको जल चुनौती क्षेत्रीय तनावमाथि थपिएको छ। यसको अफगानिस्तानसँग हेल्मन्ड नदीलाई लिएर, टर्कीसँग टाइग्रिस र युफ्रेटिस नदीका बाँधहरूलाई लिएर र इराकसँग साझा जलमार्गका विषयमा लामो समयदेखि विवाद चल्दै आएको छ।
विश्लेषकहरूका अनुसार यो युद्धले मध्यपूर्वको जलप्रणाली कति कमजोर भएको छ र यसले द्वन्द्वको दिशा र अवधिलाई कसरी प्रभाव पार्न सक्छ भन्ने उजागर गरिरहेको छ। तेल र ग्यास भण्डारजस्ता विषयहरूसँगै अब वातावरणीय दबावले पनि युद्ध झन् चर्किने जोखिम बढाएको छ।
यो क्षेत्रमा भविष्यमा हुने द्वन्द्वहरू पाइपलाइन वा ट्याङ्करका कारण मात्रै नभई नदीका कारण अनि डीस्यालिनेशन प्लान्टका कारण पनि निम्तिन सक्छन्।
यो युद्धपछि पनि पानी तेलभन्दा भारी विषय बन्न सक्छ।
बीबीसी पर्सिअनबाट थप रिपोर्टिङ
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























