नेकपा एमालेका दुई समूहको बैठक बिनानिष्कर्ष टुङ्गिएको सहभागी नेताहरूले बताएका छन्।
माधवकुमार नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष भीम रावलका अनुसार गएको शुक्रवार प्रधानमन्त्री ओली पक्षधर नेताहरूको बैठकले गरेको निर्णय खारेज गर्न गरिएको मागबारे प्रधानमन्त्री ओलीले कुनै प्रतिबद्धता जनाएनन्।
“करिब दुई घण्टा छलफल भयो। तर हाम्रो कुरा मिलेन,” उनले भने।
नेता रावलका अनुसार छलफल गर्दै जाने भनिए पनि अर्को बैठकको मिति निश्चित गरिएको छैन।
सर्वोच्च अदालतले फैसलाले अघिल्लो साता एमालेलाई ब्युँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपालसहित दुई पक्षका नेताहरूको बैठक पहिलो पटक बसेको थियो।
आजको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल भने अनुपस्थित थिए।
धुम्बाराहीस्थित पार्टी मुख्यालयमा आयोजित भेटघाटपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता रघुजी पन्तले "एकअर्काका कुरा सुन्ने, बुझ्ने काम" भएको बताए।
उनले भने, "हामीले आफ्ना अडान राख्यौँ।" आफूहरूले २८ गतेको निर्णय नमान्ने अडान राखेको उनले बताए।
नेता रावलले २८ गते ओली पक्षले गरेको केन्द्रीय सदस्य थप र पदाधिकारी खारेजीसहितका निर्णय नउल्टाइएसम्म आफ्नो पक्षका गतिविधि जारी रहने बताए।
शुक्रवार प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरूको बैठकले एमालेका अध्यक्ष र महासचिव पदलाई यथावत् राख्दै अन्य पदाधिकारी खारेज गरिएको विवरण आएको थियो।
नेपाल-खनाल पक्षका कतिपय नेताहरूको जिम्मेवारी खोस्दै ओलीले सातवटै प्रदेशको इन्चार्ज आफूलाई समर्थन गर्ने नेतालाई तोकेका छन्।
उक्त बैठकले नेकपा मओवादी केन्द्रबाट आएका २३ जना नेताहरूलाई केन्द्रीय समितिमा जिम्मेवारी दिने निर्णय गरेपछि नेपाल पक्षले आक्रोश व्यक्त गरेको थियो।
देशभरि समानान्तर सङ्गठन स्थापना गर्ने चेतावनी दिएको नेपाल पक्षले पूर्ववत् अवस्थामा समितिहरू कायम नभए चैत ७ का लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा भाग नलिने बताइरहेको छ।
ओली पक्षका नेताहरूले केही प्रतिक्रिया दिइसकेका छैनन्।