बालेन शाह विजयी घोषित, रास्वपाले घोषणा गरेबमोजिम भावी प्रधानमन्त्री बन्ने ढोका खुला
फागुन २१ गते भएको मतदानको हालसम्म प्राप्त मतपरिणाममा रास्वपाले अग्रता कायम गरेको छ। बालेन शाह विजयी घोषित हुँदा नेकपा एमालेका केपी ओली निकटतम प्रतिद्वन्द्वी बनेका छन्।
सारांश
रास्वपाका उम्मेदवार बालेन्द्र शाह ६८,३४८ मतका साथ झापा ५ बाट विजयी भएका निर्वाचन आयोगले जनाएको छ, दोस्रो स्थानमा रहेका केपी शर्मा ओलीले १८,७३४ मत पाएका छन्
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएपछि अहिले देशका विभिन्न निर्वाचन क्षेत्रहरूमा मतगणना जारी छ
प्रत्यक्षतर्फ प्रारम्भिक मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टी अधिकांश स्थानमा अगाडि छ, रास्वपाले अहिलेसम्म ७१ स्थानमा जित र ५१ स्थानमा अग्रता लिएको छ
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १० स्थान, तेस्रो स्थानको एमालेले ४ र चौथो स्थानको नेकपाले २ पाँचौँ स्थानको राप्रपाले १ स्थानमा जित हासिल गरेका छन्
म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन निर्वाचित भएका छन्
बिहीवार देशैभरि प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि एकै चरणमा मतदान भएको थियो
बिहीवार भएको प्रतिनिधिसभा निर्वाचनको मतगणनाबारे बीबीसी न्यूज नेपालीको लाइभ पेजबाट आजलाई हामी बिदा चाहन्छौँ। भोलि फेरि हामी मतगणनाको जानकारी दिन उपस्थित हुने नै छौँ।
थप समाचार तपाईँ हाम्रो होमपेजमा गएर हेर्न र पढ्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
शुभरात्रि!!
ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी, सीता निरौला, इलाम
ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार क्षितिज थेवे १३,९६२ मत प्राप्त गर्दै विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी गजेन्द्रप्रसाद तुम्याङ लिम्बू (नेपाली कांग्रेस) लाई २,२५१ मतान्तरले पराजित गरेका हुन्। गजेन्द्रले कुल ११,७११ मत पाएका छन्।
समानुपातिक प्रणालीतर्फ ८ लाख मत गन्दा आधाभन्दा धेरै रास्वपाको पक्षमा
प्रत्यक्षतर्फको मतगणनामा करिब तीनचौथाइ सीटमा जित या अग्रता पाइरहेको रास्वपाले समानुपातिकतर्फ पनि आधाभन्दा धेरै मत बटुलिरहेको देखिन्छ।
निर्वाचन आयोगले साँझ ८ बजेसम्म राखेको विवरणमा करिब सवा ८ लाख मत गनिसक्दा रास्वपाले सवा ४ लाख पाइसकेको देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख ४३ हजारभन्दा धेरै अनि त्यसपछि क्रमश: नेकपा एमालेले १ लाख १५ हजारभन्दा धेरै, नेपाली कम्युनिस्ट पार्टीले ५८ हजारभन्दा धेरै र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३० हजारभन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले १५ हजारभन्दा बढी मत ल्याएको देखिन्छ जुन दुई प्रतिशतभन्दा अलि कम हो।
राष्ट्रिय मान्यता प्राप्त दल बन्नका निम्ति समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत पाउनु पर्छ भने प्रत्यक्षतर्फ कम्तीमा एक सीट जित्नुपर्छ।
झापा ५ मा पराजित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यस क्षेत्रका विजेता रास्वपा नेता बालेन्द्र शाह 'बालेन'लाई सामाजिक सञ्जालमार्फत् बधाई दिएका छन्।
उनको नामको 'भेरिफाइड' फेसबुक पेजमा लेख्दै ओलीले भनेका छन्, "बालेन बाबु, विजयको लागि तपाईंलाई बधाई!" , "तपाईंको पॉचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्- हार्दिक शुभकामना!" ओलीले लेखेका छन्।
विसं २०७९ असारमा आफ्नो निवास बालकोटमा बालेनलाई भेट्दा तबला उपहार दिएको तस्बिर पनि उनले पोस्ट गरेका छन्।
तस्बिर स्रोत, KP Sharma Oli/Facebook
डडेलधुरामा रास्वपाका ताराप्रसाद जोशी निर्वाचित, प्रकाश पार्की, डडलेधुरा
प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेलधुराबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. ताराप्रसाद जोशी विजयी भएका छन्।
उनले १९,१३१ मत प्राप्त गर्दै जित हात पारेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नैनसिंह महरले १२,१२१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
त्यस्तै नेकपाका मानसिंह मालले ६,८३४ मत पाएका छन् भने एमालेका चक्रप्रसाद स्नेहीले २,९२६ मत प्राप्त गरेका छन्।
तस्बिर स्रोत, BBC/Prakash Parki
समानुपातिक प्रणालीतर्फ ६.५ लाख मत गन्दा आधाभन्दा धेरै रास्वपाको पक्षमा, कोको बन्दैछन् राष्ट्रिय दल
प्रत्यक्षतर्फको मतगणनामा करिब तीनचौथाइ सीटमा जित या अग्रता पाइरहेको रास्वपाले समानुपातिकतर्फ पनि आधाभन्दा धेरै मत बटुलिरहेको देखिन्छ।
निर्वाचन आयोगले शनिवार साँझसम्म राखेको विवरणमा ६ लाख ५१ हजारभन्दा केही बढी मत गनिसक्दा रास्वपाले ३ लाख ४४ हजार पाइसकेको देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ लाख छ हजारभन्दा धेरै अनि तीन प्रतिशत कटाउनेहरूमा त्यसपछि क्रमश: नेकपा एमालेले ८६ हजारभन्दा धेरै, नेपाली कम्युनिस्ट पार्टीले ४० हजारभन्दा धेरै र राष्ट्रिय प्रजातन्त्र पार्टीले २६ हजारभन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले १२ हजारभन्दा बढी मत ल्याएको देखिन्छ, जुन दुई प्रतिशत जति छ।
राष्ट्रिय मान्यताप्राप्त दल बन्नका निम्ति समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत पाउनुपर्छ भने प्रत्यक्षतर्फ कम्तीमा एक सीट जित्नुपर्छ।
बालेन शाह विजयी घोषित, नेकपा एमालेका केपी ओली पराजित
सर्वाधिक चासो भएको झापा क्षेत्र नम्बर ५ मा रास्वपाका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका उम्मेदवार केपी ओलीलाई ठूलो मतान्तरले जितेका छन्।
पछिल्लो मतपरिणामअनुसार उनले ६८,३४८ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका ओलीले १८,७३४ मत पाएका छन्।
काठमान्डूको मेअर पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उनले पूर्व प्रधानमन्त्री केपी ओलीलाई टक्कर दिन उम्मेदवारी दिएका थिए।
माघ ६ गते दमकमा पुगेर उम्मेदवारी दर्ता गराएका बालेनले त्यसयता देशैभरि चुनाव प्रचारमा सामेल भएका थिए।
उनले झापामा पुगेर ओलीले जित्दै आएको क्षेत्रलाई रोज्दा धेरैले आश्चर्य प्रकट गरेका थिए।
सर्लाही १ र २ मा रास्वपा विजयी, माधुरी महतो, वीरगन्ज
सर्लाही क्षेत्र नम्बर १ मा नीतिमा भण्डारी (कार्की) ४४,१८१ मतका साथ विजयी भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार हुन्।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका शम्भुलाल श्रेष्ठ ७,८७१ र नेकमा एमालेका मनोजकुमार देवकोटा ६,१०१ मतका साथ क्रमशः दोस्रो र तेस्रो भएका छन्।
सोही जिल्लाको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रबिन महतो ४२,५१२ मतका साथ विजयी भएका छन्। नेपाली कम्युनिस्ट पार्टीका महेन्द्र राय यादव ८,९२४ र राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो ६,९९२ मतका साथ क्रमशः दोस्रो र तेस्रो भएका छन्।
बारा ३ र ४ मा रास्वपा विजयी, माधुरी महतो, वीरगन्ज
बारा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अरविन्द साह विजयी भएका छन्।
आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मन्सुरलाई पछि पार्दै उनी ४०,६९७ मतसहित विजयी भएका हुन्। मन्सुरले १०,०५२ मत प्राप्त गरेको उक्त क्षेत्रको निर्वाचन कार्यालयले बताएको छ।
सँगैको बारा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाकै रहबर अन्सारीले निर्वाचन जितेका छन्।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार किसान श्रेष्ठलाई पछि पार्दै ४१,२०० मतसहित विजयी भएका हुन्। श्रेष्ठले ११,६३९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ।
राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानबहादुर शाही विजयी, कृष्णमाया उपाध्याय, जुम्ला
तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, फाइल तस्बिर
प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिलो विजय हासिल गरेको छ। जुम्ला जिल्लाको एक मात्र निर्वाचन क्षेत्रमा उक्त पार्टीका उम्मेदवार ज्ञानबहादुर शाही विजयी भएका छन्।
ज्ञानबहादुर शाही, राष्ट्रिय प्रजातन्त्र पार्टी - १४,८१६
नरेश भण्डारी, नेपाली कम्युनिस्ट पार्टी - ११,६६५
दीपबहादुर शाही, नेपाली कांग्रेस - ७,१४३
स्रोत : मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त
भक्तपुर २ मा जितेपछि राजीव खत्री के भन्छन्?
भिडिओ क्याप्शन सुरु हुँदैछ, भक्तपुर २ मा जितेपछि राजीव खत्री के भन्छन्?
भक्तपुर २ मा जितेपछि राजीव खत्री भन्छन्, ‘हार्ने उम्मेदवारका सही अजेन्डाले पनि जिते’
भिडिओ : नेपाल फोटो लाइब्रेरी
चितवन ३ मा जितेपछि सोविता गौतम के भन्छिन्?, ईश्वर जोशी, चितवन
भिडिओ क्याप्शन सुरु हुँदैछ, चितवन ३ मा जितेपछि सोविता गौतम के भन्छिन्?
अमरेश सिंह र गगन थापाको क्षेत्रको पछिल्लो अपडेट, माधुरी महतो, वीरगन्ज
दिउँसो ३ः४० को अपडेट -
अमरेशकुमार सिंह (रास्वपा) - १९,२१३
गगन थापा (कांग्रेस) - ११,११३
अमनिशकुमार यादव (नेकपा एमाले) : ३,५२९
समानुपातिक तर्फ तीन लाख मत गन्दा आधाभन्दा धेरै रास्वपाको पक्षमा, को को बन्लान् राष्ट्रिय दल
प्रत्यक्षतर्फको मतगणनामा करिब तीन चौथाइ सिटमा जित या अग्रता हासिल गरेको रास्वपाले समानुपातिकतर्फ पनि आधाभन्दा धेरै मत बटुलिरहेको देखिन्छ।
निर्वाचन आयोगले दिउँसो साढे ३ बजेसम्म राखेको विवरणमा करिब सवा ३ लाख मत गनिसक्दा रास्वपाले झन्डै पौने २ लाख पाइसकेको देखिन्छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ५२ हजारभन्दा धेरै अनि तीन प्रतिशत कटाउनेहरूमा त्यसपछि क्रमश: नेकपा एमालेले ४० हजारभन्दा धेरै, नेपाली कम्युनिस्ट पार्टीले १६ हजारभन्दा धेरै र राष्ट्रिय प्रजातन्त्र पार्टीले १४ हजारभन्दा धेरै ल्याएको देखिन्छ। श्रम संस्कृति पार्टीले साढे ७ हजारभन्दा बढी मत ल्याएको देखिन्छ जुन करिब साढे दुई प्रतिशत जति छ।
राष्ट्रिय मान्यता प्राप्त दल बन्नका निम्ति समानुपातिकतर्फ कम्तीमा तीन प्रतिशत मत पाउनु पर्छ भने प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्नु पर्छ।
तीन दशकपछि जाजरकोटमा कांग्रेसको जित, प्रकाश पन्त, सुर्खेत
तस्बिर स्रोत, Khadka Bahadur Budha/FB
जाजरकोटमा तीन दशकपछि नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको चुनाव जितेको छ।
कांग्रेसका खड्कबहादुर बुढाले पूर्वगृहमन्त्री तथा नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई हराउँदै तीन दशकपछि पार्टीलाई जित दिलाएका हुन्।
कांग्रेस जाजरकोटका उपसभापति समेत रहेका बुढाले तीन पटक चुनाव जितेका बस्नेतलाई २,७३५ मतान्तरले चुनाव हराएका हुन्।
खड्कबहादुर बुढा, कांग्रेस - २०,१४२
शक्तिबहादुर बस्नेत, नेकपा - १७,४०७
डम्बरबहादुर सिंह, एमाले - १६,८८३
स्रोत : निर्वाचन आयोग
भिडिओ क्याप्शन सुरु हुँदैछ, तीन दशकपछि जाजरकोटमा कांग्रेसले जितेपछि विजयी उम्मेदवार के भन्छन्?
एमालेका महेश बस्नेत रास्वपाका राजीव खत्रीसँग पराजित
भक्तपुर २ मा नेकपा एमालेका सचिव महेश बस्नेतलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका राजीव खत्री विजयी भएका छन्।
पूर्वपत्रकार खत्रीले पूर्वमन्त्री बस्नेतलाई ३१ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
राजीव खत्री, रास्वपा : ४२,३३४
महेश बस्नेत, एमाले : १०,९९६
सोबिता गौतम 'हालसम्मकै सबैभन्दा धेरै' मत ल्याएर विजयी
तस्बिर स्रोत, Shobita Gautam/FB
चितवनको क्षेत्र ३ नम्बरमा रास्वपाकी साेबिता गौतम यस चुनावमा हालसम्मकै सर्वाधिक मत ल्याएर विजयी भएकी छिन्।
गौतमले ५९,२७७ मत प्राप्त गरेकी छन्। गौतमले भरतपुर महानगरपालिकाकी पूर्वमेअर रेणु दाहाललाई पराजित गरेकी हुन्। मेअरबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार बनेकी दाहाललाई गौतमले ३८ हजार भन्दा धेरै मतान्तरले पछि पारेकी छन्।
दाहालले २०,६१५ मत प्राप्त गरेकी छिन्।
नेपाली कांग्रेसका टेकप्रसाद गुरुङले ८,३४४ मत प्राप्त गरेका छन्। भने नेकपा एमालेका शंकर थपलियाले ५,००४ मत प्राप्त गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा उक्त क्षेत्रमा राप्रपाका विक्रम पाण्डेले ३५,०६० मतले जितेका थिए ।
सोबिता गौतम : ५९,२७७
रेणु दाहाल : २०,६१५
‘जनताले दिएको जिम्मेवारी चाहे भने खोस्न पनि सक्छन्’- रवि लामिछाने
चुनाव जितेपछि रास्वपा सभापति रवि लामिछानेले के भने?
भिडिओ : ईश्वर जोशी
भिडिओ क्याप्शन सुरु हुँदैछ, चुनाव जितेपछि रास्वपा सभापति रवि लामिछानेले के भने?
डोल्पामा धाँधलीको उजुरीपछि मतगणना स्थगित, प्रकाश पन्त, सुर्खेत
मतगणनामा विवाद भएपछि डोल्पा जिल्लामा सात घण्टादेखि मतगणना स्थगित भएको छ।
काइके गाउँपालिकाको वडा नं ४ र ५ को मतगणनाका क्रममा पाँच वटा मतपत्रमा मतदान अधिकृत र मतदाताको हस्ताक्षर नभएको तथा सात वटा मतपत्रका अर्धकट्टीमात्र भेटिएपछ विवाद भएको हो।
यस्ता मतपत्र भेटिएपछि नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र एक स्वतन्त्र उम्मेदवारले निर्वाचन रद्द गर्न माग गर्दै सामूहिक रूपमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी दिएका छन्।
यहाँ जारी मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर बुढा अरू उम्मेदवारहरूभन्दा धेरै अगाडि थिए।
उजुरी गर्ने उम्मेदवारहरूले केही व्यक्तिले पूरै मतपत्रको ठेलीमा स्वस्तिक छाप लगाई हतारहतार मत पेटिकामा खासालेको भन्दै उक्त केन्द्रमा पुनः मतदानको माग गरेका छन्।
मतदानस्थलमा रहेका पत्रकार रामचन्द्र न्यौपानेका अनुसार विवाद समाधान गर्न दिउँसो २ बजेतिर सर्वदलीय बैकठ बोलाइएको छ।
रवीन्द्र मिश्रले लिए तत्कालका लागि 'पार्टी राजनीति' बाट बिदा
तस्बिर स्रोत, Rabindra Mishra/FB
राजनीतिमा जोडिएपछिका तीनवटै निर्वाचनमा पराजय बेहोरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी राजनीतिबाट तत्कालका लागि बिदा लिएको घोषणा गरेका छन्।
"विचारभन्दा माथि देश, देशका लागि नरेश, नवीन समझदारी र संरचनागत पुनरावलोकनको मार्गबिना बदलिँदो भूराजनीति र क्षयीकृत हुँदै गएको चौतर्फी आन्तरिक परिस्थितिका माझ भावी पुस्ताका लागि देश बचाउन र बनाउन सकिँदैन भन्नेमा म विश्वस्त छु। सो परिप्रेक्ष्यमा मैले निम्न दुई निर्णय लिएको छु," उनले फेसबुकमा पोस्ट गरेका छन्।
मिश्रले "आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको" घोषणा गरेका छन्।
उनले राजसंस्था पुनर्स्थापना तथा सुशासन लगायतका मुद्दाहरूमा आफ्ना अडान यथावत् रहने र "तत्कालका लागि गैर दलीय (स्वतन्त्र) रूपमा विचार र अडानहरू मुखरित गरिरहने" घोषणा गरेका छन्।
काठमाण्डू क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका मिश्र यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शनासँग पराजित भएका थिए।
यसअघिका दुई निर्वाचनमा कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका मिश्र यो चुनावमा तेस्रो स्थानमा रहे। उनले चुनावी सफलताका लागि रास्वपालाई बधाई दिएका छन्।