आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बसेको नेकपा एमाले सचिवालय बैठकले पाँच प्रस्ताव पारित गरेको पार्टीका महासचिव शङ्कर पोखरेलले जानकारी दिएका छन्।
बैठकपछि पोखरेलले जारी गरेको विज्ञप्ति अनुसार ती प्रस्तावहरू यसप्रकार छन् -
१. पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई आज बिहान "सूर्योदयअगावै" गरिएको "प्रतिशोधपूर्ण, पूर्वाग्रही र गैरकानुनी" गिरफ्तारीको "निन्दा, भर्त्सना र विरोध" गर्दै उक्त गिरफ्तारी "लोकतान्त्रिक मूल्य र कानुनी शासनको मर्मविपरीत रहेको" ठहरसहित उनीहरूको तत्काल रिहाइको माग गर्ने,
२. २०८२ भदौ २३ र २४ गतेको घटनाको छानविनका लागि तत्कालीन सरकारले गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको आयोगप्रति पार्टीको सुरूदेखि नै असहमति र विरोध रहँदै आएको र आयोगद्वारा प्रस्तुत प्रतिवेदन "पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत" पार्टीको ठहर भएकाले उक्त घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गर्ने,
३. ओली र लेखकमाथि गरिएको "नियोजित, निर्देशित र गैरकानुनी" गिरफ्तारीको विरोध अनि उनीहरूको रिहाइ,कानुनी शासन, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्न संयुक्त एवम् प्रभावकारी पहलकदमीका लागि राजनीतिक दलहरू, नागरिक समाज र आमजनसमुदायलाई अनुरोध गर्ने,
४. आज बिहानको गिरफ्तारीले "संविधान, लोकतन्त्र र मानवअधिकारका पक्षधर राजनीतिक शक्तिहरू र आम नागरिकलाई चिन्तित तुल्याएको" हुनाले यस "प्रतिशोधपूर्ण" कारबाहीको दृढताका साथ कानुनी र राजनीतिक प्रतिवाद गर्ने; यस घटनाबाट कत्ति पनि "विचलित" नभई देश, जनता र लोकतन्त्रको पक्षमा एकता र दृढताका साथ अघि बढन समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्ने,
५. आजको गिरफ्तारीविरुद्ध भोलि चैत १५ गते आइतवार पार्टीका जिल्ला कमिटीहरूको आयोजनामा जिल्ला प्रशासन कार्यालयमार्फत् नेपाल सरकारलाई विरोधपत्र बुझाउने, आवश्यकताअनुसार अन्य राजनीतिक दलहरूसँग संवाद र समन्वय गरी विरोधका थप कार्यक्रमहरू तय गरिने।