तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।

मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।

हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।

लाइभ, मतदाताको 'उत्साहजनक सहभागिता', दोलखा र सर्लाहीमा मतदान केही बेर अवरुद्ध

नेपालमा गत भदौ महिनामा जेन जी आन्दोलन आज बिहान ७ बजेदेखि देशभरि प्रतिनिधिसभाको निर्वाचनका लागि मतदान भइरहेको छ।

सारांश

  • प्रतिनिधिसभाको निर्वाचनमा आज बिहान ७ बजेदेखि देशभरि एकै चरणमा मतदान सुरु भएको छ
  • यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
  • निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र छन्
  • गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
  • मतदान केन्द्रमा दिउँसो ५ बजेसम्म भोट हाल्न पाइने आयोगले जनाएको छ
  • निर्वाचनलाई निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था मिलाइएको सरकारले जनाएको छ

लाइभ कभरेज

  1. भोट हाल्न आएनन् देउवा, ‘सिङ्गापुरमा उपचार गराउँदै’, प्रकाश पार्की, डडेलधुरा

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा भोट हाल्न गृहजिल्ला डडेलधुरा आएका छैनन्।

    विसं २०४८ सालयताका सबै संसदीय निर्वाचन जित्दै आएका देउवा यस पटक भोट खसाल्न नआएका हुन्।

    नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउदले देउवा सिङ्गापुरमा रहेकाले भोट हाल्न नआएको बताए।

    "उहाँ उपचार गराइराख्नुभएको छ," उनले भने, "बाहिर चुनाव बहिष्कार भन्ने हल्ला छ तर उहाँ निकै बिरामी हुनुहुन्छ।"

    देउवाले डडेल्धुराबाट सात पटक चुनाव जितेका थिए। उनी पाँच पटक देशको प्रधानमन्त्री बनेका थिए।

    जेन जी आन्दोलनका बेला देउवा र उनकी श्रीमती आरजु देउवामाथि साङ्घातिक आक्रमण भएका भिडिओहरू सोशल मिडियामा देखिएका थिए। उनको घर पनि आगलागी भएको थियो।

    देउवाको संलग्नता र स्वीकृतिबिना पार्टीको विशेष महाधिवेशन आयोजना भएपछि नेपाली कांग्रेस पार्टीको सभापति पद पनि गुमाउन पुगेका थिए।

    विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगन थापालाई सभापति बनाएको थियो।

  2. हेलिकप्टर सन्दर्भमा बालेनको सचिवालय र प्रहरीको फरकफरक भनाइ, गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेन चढेको हेलिकप्टर झापामा अवतरण नहुनुका कारणबारे उनको सचिवालय र झापा प्रहरीले फरकफरक अभिव्यक्ति दिएका छन्।

    बालेनको सचिवालयका एक सदस्य सुरेन्द्र बजगाईँले सुरक्षा निकायकै आग्रहमा बालेन सवार हेलिकप्टर काठमाण्डू फर्केको बीबीसीलाई बताए।

    “तपाईँ आउनुभयो भने वातावरण बिथोलिन सक्छ भनी सुरक्षा निकायले भनेपछि उहाँ चढेको हेलिकप्टर अवतरण नगरी फर्कियो,” बजगाईँले बीबीसी न्यूज नेपालीसँग भने।

    तर झापा जिल्लाकी प्रहरी प्रमुखले त्यो अस्वीकार गरेकी छन्। आफूहरूले त्यस्तो केही नभनेको बीबीसीलाई उनले बताइन्।

    “त्यो उहाँहरूलाई लागेको होला। हेलिकप्टर ल्यान्ड भएर हामीले सुरक्षा दिन नसक्ने होइन,” बसुन्धरा खड्काले बीबीसी न्यूज नेपालीसँग भने।

    “ल्यान्ड नगर्नूस् भनेर हामीले त्यस्तो केही भनेका छैनौँ। यहाँको माहोल एकदम राम्रो छ। मानिसहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्,” उनले अगाडि थपिन्।

    बिहीवार बिहान काठमाण्डूबाट झापाका लागि उडेको बालेन सवार हेलिकप्टर एक घण्टापछि काठमाण्डू फर्केको थियो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीलाई बताएअनुसार बिहान ९:११ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर १० बजेर ९ मिनेटमा अवतरण गरेको थियो।

  3. शोक र अशक्तताबीच मतदान गर्नेहरू

    आजको मतदानमा शोकमा रहेका र शारीरिक रूपमा अपाङ्गता भएकाहरूले पनि मतदान गरेका छन्।

  4. ८५ वर्ष माथिका २ जना उम्मेदवार

    आज जारी प्रतिनिधिसभाको निर्वाचनमा मतदाताहरूले प्रत्यक्ष मत दिएर १६५ सांसद र समानुपातिक प्रणालीबाट ११० सांसद छान्ने छन्।

    प्रत्यक्ष प्रणालीबाट प्रतिनिधिसभामा पुग्न ३,४०० भन्दा बढी उम्मेदवारहरू प्रतिस्पर्धामा छन्। जसमध्ये धनुषा क्षेत्र १ का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको छ।

    यो निर्वाचनमा प्रत्यक्षतर्फ ३५ देखि ५४ वर्ष उमेर समूहका पुरुष उम्मेदवारको बाहुल्य छ।

    ८५ वर्ष माथिका २ जना उम्मेदवार छन्

  5. आज भोट हाल्न योग्य मतदाता कति छन्

    आज जारी प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न योग्य मतदाताको सङ्ख्या झन्डै १ करोड ९० लाख छ।

    यसअघि २०७९ मङ्सिरमा भएको चुनावको तुलनामा यसपालि ९ लाख १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।

    यस पटक पुरुष मतदाताको सङ्ख्या साढे ९६ लाखभन्दा केही बढी छ।

    महिला मतदाता करिब साढे ९२ लाखको सङ्ख्यामा छन्।

  6. ९९ देखि १०५ वर्षका मतदाताहरू

    जारी मतदानमा विभिन्न जिल्लाहरूमा वयोवृद्ध मतदाताहरू पनि सहभागी भएका छन्। ती मध्ये केही एक सय वर्ष हाराहारी र केही एक सय वर्षमाथिका छन्।

  7. बालेनलाई हेलिकप्टर चढ्न दिइएको अनुमतिपत्रमा के छ, गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनलाई निर्वाचन आयोगले हेलिकप्टर प्रयोग गर्न अनुमति दिएको पाइएको छ।

    बीबीसीलाई प्राप्त अनुमतिपत्रमा आयोगका कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेका छन् र त्यसबारे निर्वाचन आयुक्त सगुन शम्शेर जबरालाई अवगत गराएका छन्।

    आयुक्त जबराले पनि बालेनलाई हेलिकप्टर प्रयोगका निम्ति आफूले अनुमति दिएको बीबीसीसँग पुष्टि गरे।

    बिहीवार बिहान काठमाण्डूबाट झापाका लागि उडेको बालेन सवार हेलिकप्टर एक घण्टापछि काठमाण्डू फर्केको थियो।

    “उपर्युक्त विषयमा तहाँको प.सं. ०८२/८३, च.नं. २७२, मिति २०८२/११/२० को 'हेलिकप्टर प्रयोग गर्ने अनुमति सम्बन्धमा" विषय पत्र आवश्यक कारवाहीको लागी पेश हुँदा माग भई आएबमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं. ५ को उम्मेदवार रहनुभएका तहाँ दलका वरिष्ठ नेता श्री बालेन्द्र शाहलाई मिति २०८२/११/२१ गते काठमाण्डौ-झापा रूटमा मात्र हेलिकप्टर प्रयोग गर्न अनुमति प्रदान गरिएको बेहोरा अनुरोध गर्दै सो रूटमा हेलिकप्टर प्रयोग गर्दा लाग्ने खर्चको छुट्टै अभिलेख आयोगले मागेका बखत उपलब्ध गराउने गरी राखे व्यवस्था गर्न समेत निर्णयानुसार अनुरोध छ,” पत्रमा उल्लेख छ।

    बालेनसँगै नेपाली कांग्रेसका सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई बिहीवार हेलिकप्टर प्रयोग गर्ने अनुमति दिएको पनि आयुक्त जबराले बताए।

  8. निर्वाचनले देशमा 'लोकतन्त्र र सुव्यवस्था फर्काउने' ओलीको विश्वास

    निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनले लोकतन्त्रको पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

    भक्तपुरको बालकोटमा आज मध्याह्न मतदान गरेपछि संवाददाताहरूसँग कुरा गर्दै ओलीले निर्वाचनपछि देशमा शान्ति सुव्यवस्था हुने आशा आफूले गरेको बताए।

    “शान्ति सुव्यवस्था वापस गर्नुपर्ने छ र जनता डरत्रासबिना हिँड्न सक्छ भन्ने विश्वास दिलाउनुपर्छ,” ओलीले भने।

    “यस निर्वाचनले देशमा लोकतन्त्रको पुनर्स्थापना गर्नुपर्छ। अराजनीतिक अराजक क्रियाकलाप र हिंसात्मक गतिविधि नियन्त्रण गर्न महत्त्वपूर्ण दिशा दिन योगदान गर्नुपर्छ।”

    भदौ २३ र २४को जेन जी आन्दोलनले पदच्युत गरेका ओलीले असाधारण अवस्थामा भएको निर्वाचनले देशलाई साधारण अवस्थामा ल्याउने आफूले ठानेको प्रतिक्रिया दिए।

    “असाधारण अवस्थालाई साधारण अवस्थामा परिणत गर्ने उत्तर दायित्व यो निर्वाचनले वहन गर्नुपर्छ।”

    चार पटक प्रधानमन्त्री बनेका ओलीले “देश बचाउने” विषय प्रमुख रहेको बताए।

    “देशको अस्थित्व सार्वभौमसत्ता स्वाधीनता स्वतन्त्रता र राष्ट्रिय हितको रक्षा गर्ने कुरा महत्त्वपूर्ण छ,” ओलीले भने।

    उनले यसअघिका निर्वाचनभन्दा यो पटकको निर्वाचनमा मतदातालाई दिग्भ्रमित बनाउने प्रयास धेरै भएको आफूलाई लागेको बताए।

    उनले आफ्नो दलले बहुमत ल्याउने दाबी समेत गरे।

    “एमालेले भरसक बहुमत ल्याउँछ कथम कदाचित ल्याएन भने प्रमुख पार्टीको रूपमा आउँछ,” उनले भने।

  9. मतदान कसरी गर्ने सिक्न चाहनुहुन्छ?

    आज जारी निर्वाचनका लागि मताधिकार पाउने मतदाताहरूमध्ये नौ लाखभन्दा बढी नयाँ हुन्। तीमध्ये भर्खरै उमेर पुगेका नवयुवाको सङ्ख्या उल्लेख्य छ.

    तपाईँ यदि पहिलो पटक मतदान गर्दै हुनुहुन्छ वा पुरानै मतदाता भए पनि अलमलमा पर्नुभएको छ भने हामीले तपाईँका लागि यो उपयोगी सामग्री बनाएका छौँ।

  10. १२ बजेसम्म १८ प्रतिशत मतदान

    निर्वाचन आयोगले सबै जिल्लामा उत्साहजनक मतदान भइरहेको बताएको छ।

    आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार दिउँसो १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ जनाले मतदान गरेका छन्।

    यो सङ्ख्या कुल मतदाताको करिब १८ प्रतिशत रहेको आयोगले जनाएको छ।

  11. एमाले अध्यक्ष केपी ओलीद्वारा भक्तपुरमा मतदान

    एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले भक्तपुरस्थित बालकोटमा मतदान गरेका छन्।

    उनी झापा ५ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' पनि सोही क्षेत्रबाट उठेका छन्।

    दुवै जनालाई आफ्ना पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका छन्।

    भक्तपुरबाट मतदाता नामावलीमा सूचीकृत भएकाले ओलीले आफैँलाई मतदान गर्न पाएनन्।

  12. बालेन, गगन र प्रचण्डलाई 'हेलिकप्टर चढ्ने अनुमति', गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    निर्वाचन आयोगले मतदानको दिन तीन नेतालाई हेलिकप्टर चढ्ने अनुमति दिएको एकजना आयुक्तले बीबीसीलाई बताएका छन्।

    “गगन थापा [नेपाली कांग्रेसका सभापति], बालेन शाह [राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता] र पुष्पकमल दाहाल प्रचण्ड [नेपाली कम्युनिस्ट पार्टीका संयोजक] लाई हेलिकप्टर प्रयोग गर्ने अनुमति मैले दिएको हुँ,” निर्वाचन आयुक्त सगुन शम्शेर जबराले बीबीसी न्यूज नेपालीसँग भने।

    तीनैजना नेतालाई हेलिकप्टर प्रयोग गर्न बुधवार अनुमति दिइएको उनले जानकारी दिए।

    “संयमित भएर अनि सुरक्षा एवं मौसमलगायत पक्षको विचार गरी हेलिकप्टर प्रयोग गर्न हामीले भनेका छौँ,” जबराले अगाडि थपे।

    गाडी प्रयोगको हकमा जिल्लाबाट नेताहरूले अनुमति लिनुपर्छ भने हेलिकप्टर प्रयोग गर्ने अनुमति आयोगले केन्द्रीय कार्यालयले दिने गर्छ।

    प्रचण्ड चितवनका मतदाता हुन् भने बालेन र गगन थापा काठमाण्डूका मतदाता हुन्। तीनै जनाले आफ्नो जिल्लाबाहिर प्रतिस्पर्धामा छन्।

  13. झापामा २० प्रतिशत मत खस्यो

    झापाको क्षेत्र नं ५ मा विहान ११ बजेसम्म २० प्रतिशतभन्दा बढी मत खसेको उक्त क्षेत्रका निर्वाचन अधिकृत विदुर कार्कीले बीबीसीलाइ बताएका छन्।

    विराटनगरस्थित बीबीसी संवाददता विक्रम निरौलासँग निर्वाचनअधिकृत कार्कीले भने, "एकदमै" उल्लासपूर्ण वातावरणमा मतदान भइरहेको छ। धेरै मतदाता लाइनमा मत खसाल्न बसिरहनुभएको छ"।

    स्थानीय पत्रकार राजु पोखरेलका अनुसार सबैजसो मतदान केन्द्रहरूमा मतदाताको भीड देखिएको छ।

    झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले जिल्लामा शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको बताए।

    झापा ५ मा एक लाख ६३ हजारभन्दा बढी मतदाता छन्।

    उक्त क्षेत्रबाट एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वापाका वरिष्ठ नेता बालेन्द्र शाहसहित दुई दर्जन उम्मेदवार छन्।

    यसैबीच रास्वपाका वरिष्ठ नेता शाह चढेको हेलिकप्टर भद्रपुर विमानस्थलमा अवतरण हुन नसकेर काठमाडू फर्किएको उनको पार्टीका केन्द्रीय सदस्य रोहन कार्कीले बीबीसीलाई बताए।

    उनी काठमाण्डूमा मतदान गरेर आफू उम्मेदवार भएको क्षेत्रमा आउन लागेका थिए। झापा ५ कै अर्का उम्मेदवार केपी शर्मा ओलीले पनि भक्तपुरको बालकोटबाट मतदाता गरेका छन्।

    अन्यक्ष क्षेत्रबाट उम्मेदवार बनेका कारण ओली र शाह दुवैले आफूलाई मत हाल्न पाएनन्।

  14. विभिन्न दलका प्रमुख नेताहरूले कसले कहाँ गरे मतदान

    विभिन्न राजनीतिक पार्टीका मुख्य नेताहरूले आफू स्थायी मतदाता रहेका विभिन्न जिल्लास्थित मतदानकेन्द्र पुगेर भोट खसालेकाा छन्।

    मतदान गर्नेहरूमा उम्मेदवार रहेका र नरहेका नेताहरू पनि छन्।

    त्यस्तै सुनसरीबाट उम्मेदवारी दिएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ ले धरान उपमहानगरपालिका–१८ स्थित मतदान केन्द्रमा मतदान गरेको राष्ट्रिय समाचार समितिले जनाएको छ।

    राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले चितवनको भरतपुर महानगरपालिका वडा नं १४ स्थित मतदानकेन्द्रबाट मतदान गरेका छन्।

    पूर्वसभामुख देवराज घिमिरेले झापा २ अन्तर्गत अर्जुनधारामा मतदान गरेका छन्। उनी त्यहाँ उम्मेदवार छन्।

  15. अधिकांश स्थानमा अवस्था शान्तिपूर्णः गृह मन्त्रालय, १०:३० बजेसम्म औसतमा ९ प्रतिशत मतदान

    गृह मन्त्रालयले आज बिहान १०:३० बजेसम्म औसतमा ९ प्रतिशत मतदान भएको जनाएको छ।

    त्यसअघि निर्वाचन आयोगले करिब ६ प्रतिशतले बिहान १० बजेसम्म भोट खसाएको जनाएको थियो।

    झन्डै १ करोड ९० लाख मतदाताहरू रहेको चुनावमा अपराह्ण ५ बजेसम्म भोट खसाल्ने समय तोकिएको छ।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले अधिकांश क्षेत्रमा शान्तिपूर्ण ढङ्गले नै मतदान भइरहेको बताए।

  16. सर्लाही ४ को मतदानकेन्द्रमा झडपपछि बिथोलिएको मतदान पुनः सुरु

    नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नं ४ को बलारा नगरपालिकास्थित एउटा मतदानकेन्द्रमा झडप हुँदा झन्डै १५ मिनेट रोकिएको मतदान पुनः सुरु भएको अधिकारीहरूले बताएका छन्।

    प्रमुख निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले दुवै पक्षलाई सम्झाई बुझाइ गरिएको र मतदान सुरु भएको जानकारी दिए।

    गृह मन्त्रालयका अधिकारीले पनि त्यहाँ सामान्य झडप भएको बताएका छन्।

    उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट अमरेशकुमार सिंह उम्मेदवार छन्।

  17. ६५ प्रतिशतभन्दा बढी मत खस्ने निर्वाचन प्रमुखको अपेक्षा, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली

    बिहीवार मतदान गरेपछि पत्रकारहरूसँग बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६५ प्रतिशतभन्दा बढी मत खस्ने अपेक्षा गरिएको बताएका छन्।

    उनले बिहानैदेखि एक दर्जनभन्दा बढी हिमाली जिल्लाका अधिकारीसँग सम्पर्कमा रहेको भन्दै त्यहाँ मौसम अनुकूल रहेको र मतदान जारी रहेको बताए।

    तर विगतका चुनावमा पाँच प्रतिशतजित मत बदर भएको देखिन्छ।

    यस निर्वाचनका लागि १ करोड ८९ लाख ३ हजार ६८९ जना योग्य मतदाता छन्।

    त्यसैले यस पटक निर्वाचन सचेतना कार्यक्रमलाई समेत व्यापक रूपमा सञ्चालन गरिएको निर्वाचन आयोगका अधिकारीहरूले बताउँदै आएका छन्।

    यसअघिका चुनावमा कहिले कति मत खसेको थियो

    • विसं २०७९: ६१.६३ प्रतिशत
    • विसं २०७४: ६८.६७ प्रतिशत
    • विसं २०७०: ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
    • विसं २०६४: ६१.७० (पहिलो संविधानसभा)
    • विसं २०५६: ६५.७९ प्रतिशत
    • विसं २०५१: ६१.८६ प्रतिशत
    • विसं २०४८: ६५.१५ प्रतिशत

    स्रोत: निर्वाचन आयोग

  18. झापा जान बालेन चढेको हेलिकप्टर किन काठमाण्डू फर्कियो, गनी अन्सारी, बीबीसी न्यूज नेपाली

    झापाबाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' चढेको हेलिकप्टर झापा नपुगी काठमाण्डू फर्केको अधिकारीहरूले बताएका छन्।

    त्रिभुवन विमानस्थलबाट झापाका लागि उडेको एक घण्टापछि काठमाण्डू नै फर्किएको विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले बीबीसीलाई बताए।

    उनका अनुसार बिहान ९ः११ बजे त्रिभुवन विमानस्थलबाट उडेको हेलिकप्टर १०ः०९ बजे अवतरण गरेको थियो।

    “प्राविधिक कारणले होइन। ‘अपरेशनल रिक्वाअरमन्ट’ का कारण अवतरण हुन नसकेको एटीसीले जनाएको छ,” बीबीसी न्यूज नेपालीसँग बस्नेतले भने।

    जानकारहरूका अनुसार हवाई सञ्चालनका लागि अनुकूल अवस्था नहुनुलाई 'अपरेशनल रिक्वाअरमन्ट' भनेर बुझिन्छ।

    काठमाण्डूमा मतदान गरेर आफू उठेको झापास्थित निर्वाचन क्षेत्रतर्फ जान लागेका थिए। एमाले अध्यक्ष केपी शर्मा पनि उम्मेदवार रहेको झापा ५ चर्चामा छ।

    यो पनि पढ्नुहोस्

  19. भोट हाल्ने सही तरिका

    मतदान गर्न जान लाग्नुभएको छ तर कसरी गर्ने भन्नेमा अलमलमा हुनुहुन्छ भने भिडिओ तपाईँका लागि उपयोगी हुन सक्छ।

Trending Now