निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा झन्डै ६० प्रतिशत मतदान भएको प्रारम्भिक आकलन गरेको छ। विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूका अनुसार केही जिल्लामा बिहीवार राति र कतिपय जिल्लामा शुक्रवार बिहान मात्र गणना सुरु हुँदै छ।
सारांश
कतिपय जिल्लामा बिहीवार राति र अन्य जिल्लामा शुक्रवार बिहान मतगणना सुरु हुने
प्रतिनिधिसभाको निर्वाचनमा झन्डै ६० प्रतिशत मत खसेको प्रारम्भिक आकलन
मतदान सम्पन्न भएकोमा राष्ट्रपति सन्तुष्ट, प्रधानमन्त्रीद्वारा सत्ता हस्तान्तरण गर्न आफू आतुर रहेको जानकारी
चुनावविरोधी गतिविधि गर्ने २४ जना पक्राउ परेको प्रहरीको भनाइ
यो निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित हुने छन्
निर्वाचनमा प्रत्यक्ष र समानुपातिक प्रणालीका लागि छुट्टाछुट्टै मतपत्र छन्
गत भदौ महिनामा जेन जी आन्दोलन भएपछि प्रतिनिधिसभा भङ्ग भएको थियो। त्यसैले निर्धारित समयभन्दा अगाडि नै अहिले निर्वाचन भएको हो
आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण वातावरणमा मतदान भएको जनाएको छ
लाइभ कभरेज
आजका लागि हाम्रो अपडेट समाप्त, भोलि भेटौँला
आज भएको प्रतिनिधिसभा निर्वाचनबारे बीबीसी न्यूज नेपालीको लाइभ पेजबाट आजलाई हामी बिदा चाहन्छौँ।
भोलि फेरी हामी मतगणनाको जानकारी दिन उपस्थित हुने नै छौँ।
थप समाचार तपाईँ हाम्रो होमपेजमा गएर हेर्न र पढ्न सक्नुहुन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।
शुभरात्रि!!
चुनावविरोधी गतिविधि गर्ने २४ जना पक्राउ
तस्बिर स्रोत, RSS
मतदानका दिन निर्वाचनविरोधी गतिविधिमा संलग्न २४ जनालाई नियन्त्रणमा लिइएको नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले जानकारी दिएका छन्।
प्रहरीका अनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै सात जना र लुम्बिनी तथा कर्णाली प्रदेशमा एक-एक जना पक्राउ परेका थिए।
त्यस्तै काठमाण्डू उपत्यकामा एक जना, कोशी प्रदेशमा तीन जना, मधेश प्रदेशमा चार जना, गण्डकी प्रदेशमा तीन जना र सुदूरपश्चिम प्रदेशमा चार जना पक्राउ परेका थिए।
प्रहरीले निर्वाचनको समयमा विना अनुमति चलाइएका २,५९७ वटा सवारी साधनहरूलाई होल्डमा राखिएको बताएको छ। काठमाण्डू उपत्यकामा मात्रै ८३० वटा सवारी साधन प्रहरीले होल्डमा राखेको थियो।
मतदानको दिन काठमाण्डू उपत्यकाका दुई स्थानमा समेत गरी देशभरका १५ ठाउँमा शङ्कास्पद वस्तु फेला परेको प्रवक्ता काफ्लेको कार्यालयले जनाएको छ।
कतिपय जिल्लामा बिहीवार राति र अन्य जिल्लामा शुक्रवार बिहान मतगणना सुरु हुने
तस्बिर स्रोत, RSS
समग्र देशभरि छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएपछि अब मतगणना कहिले हुन्छ र नतिजा कहिले आउँछ भन्ने चासो बढेको छ।
विभिन्न जिल्लास्थित हाम्रा संवाददाताहरूका अनुसार केही जिल्लामा आजै राति र कतिपय जिल्लामा भोलि बिहान मात्र गणना सुरु हुने अधिकारीहरूले बताएका छन्।
आयोगले सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा शुक्रवार मात्रै मतगणनास्थलमा मतपेटिका पुग्ने जनाएको छ।
सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकाे र कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था नदेखिएकाे निर्वाचन आयोगका प्रवक्ताले बताएका छन्।
मतगणना सुरु गर्नका लागि एउटा निर्वाचन क्षेत्रका सबै मतपेटिका तोकिएको गणनास्थलमा जम्मा गर्नुपर्छ। सबै दल तथा उम्मेदवारका प्रतिनिधि गणना सुरु गर्न एकमत भएपछि मात्र काम प्रारम्भ हुने कानुनी व्यवस्था छ।
भौगोलिक असहजता भएका मतदान केन्द्रहरूबाट मतपेटिका ल्याउन समय लाग्ने भएकाले अनि कतिपय क्षेत्रमा उम्मेदवारका प्रतिनिधिहरूबीच विवाद पनि हुन सक्ने भएकाले शुक्रवार मात्र मतगणना सुरु हुने अधिकारीहरू बताउँछन्।
'शान्तिपूर्ण' निर्वाचन भएकोमा राष्ट्रपतिको 'सन्तोष'
तस्बिर स्रोत, Office of the President
राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरेको भन्दै सरोकारवाला निकायलाई धन्यवाद दिएका छन्।
उनले चुनावबाट मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष व्यक्त गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।
"राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिपूर्ण रूपमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएर मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ," पोखरेलले भनेका छन्।
राष्ट्रपतिले निर्वाचन सफल बनाउन सक्रिय सरकार, निर्वाचन आयोग, सुरक्षाकर्मी, राजनीतिक दल, आम मतदाता, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध सबै पक्षसहित सम्पूर्ण नेपाली जनतालाई धन्यवाद प्रकट गरेको पोखरेलले जानकारी दिए।
'जेन जीले मलाई भव्य बधाई भन्नु भएको छ'
तस्बिर स्रोत, ECN
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन सम्पन्न गरेकोमा आफूलाई जेन जी नवयुवाहरूले धन्यवाद दिएको बताएका छन्।
जेन जीको निर्वाचनमा सहभागिताबारे पत्रकारले सोधेको प्रश्नमा भण्डारीले निर्वाचनबाट जेन जीहरू खुसी भएको बताए।
उहाँहरूको इच्छाशक्ति र निर्वाचनप्रतिको लगाव उच्च छ
"जेन जीका मसँग सम्पर्कमा रहेका युवाहरूले मलाई भव्य बधाई भन्नु भएको छ," उनले भने।
उनका अनुसार यो निर्वाचनमा थपिएका अधिकांश नयाँ मतदाता जेन जी थिए।
'निर्वाचन आयोगले दलका उच्च नेता र सहयोगी प्रचारकलाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको हो'
तस्बिर स्रोत, ECN
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बालेन्द्र शाह बालेनलाई आयोगले हेलिकोप्टर प्रयोगको अनुमति दिएको बताएका छन्।
झापा ५ का उम्मेदवार बालेन बीच बाटोबाटै फर्किएकोबारे पत्रकारले सोधेको प्रश्नमा बालेनको नाम नलिई उनले निर्वाचन आयोगले दलका उच्च नेता र सहयोगी प्रचारकलाई हेलिकोप्टर प्रयोगको अनुमति दिएको बताए।
“दलका उच्च नेतालाई अनुमति दिएको हो, केही नेता जानु पनि भएको छ। केही नेता सुरक्षाका कारण बीचबाटोबाटै फर्किनुभएको हामीले प्रारम्भिक जानकारी पाएका छौँ,” भण्डारीले भने।
निर्वाचन आयोगले मतदानको दिन तीन नेतालाई हेलिकप्टर चढ्ने अनुमति दिएको निर्वाचन आयुक्त सगुन शम्शेर जबराले आज दिउँसो बीबीसीलाई बताएका थिए।
उनका अनुसार नेपाली कांग्रेसका सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई हेलिकप्टर प्रयोग गर्ने अनुमति दिइएको थियो।
मतदान अस्वीकारका घटना ‘आयोगका कारण होइन’
तस्बिर स्रोत, ECN Nepal
निर्वाचन आयोगले केही ठाउँमा मतदाता भोट हाल्न नजानुमा आयोगको कमजोरी नभएको बताएको छ।
“केही ठाउँमा मतदाताहरूले मतदान गर्न अस्वीकार गर्नु भएको छ। त्यो हाम्रो कारण होइन,” कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने।
आयोगका अनुसार मतदाता मतदानका लागि नगएका केही ठाउँ आयोगबाट पहिचान भएका छन्। दाङ र ओखलढुङ्गा सहितका केही स्थानमा मानिसहरू भोट हाल्न नगएका विवरण सार्वजनिक भएका छन्।
प्रदेश सरकारबाट प्रतिबद्धता भएका काम पूरा नभएका कारण उनीहरूले सरकारप्रति असन्तुष्टि जाहेर मात्रै गरेको भण्डारीले बताएका छन्।
भिडिओ क्याप्शन सुरु हुँदैछ, चुनाव सकिएपछि प्रधानमन्त्रीसँग अन्तर्वार्ता
मतदानको लागि तोकिएको समय सकिए लगत्तै बीबीसीसँगको विशेष कुराकानी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनपछि विकसित "वातावरणलाई सुदृढ बनाउन चुनावबाहेक अर्को विकल्प नभएको भन्दै सुरुमा निर्वाचनप्रति अनिच्छुक दलहरूलाई निरन्तर मनाउने काम गर्न सकेको" बताएकी छन्।
धेरैपटक "निर्वाचन हुँदैन भन्दै आएका अवरोध र टिप्पणी"हरूलाई आफूहरूले ध्यान नदिएर "एकोहोरो लाग्दै" निर्वाचनको काम फत्ते गरेको उनले बताइन्।
निर्वाचनका क्रममा कुनै "रक्तपात हुने अवस्था हुन नदिन" आफूले सुरुदेखि नै ध्यान दिएको बताउँदै प्रधानमन्त्री कार्कीले त्यसो गर्न सकेकोमा प्रसन्नता व्यक्त गरिन्। उनले मितव्ययी रूपमा निर्वाचन गराएको समेत दाबी गरिन्।
"यही नै मलाई प्राप्ति जस्तो पनि लाग्छ। निर्वाचन सरल पनि भयो। जुन किसिमले यो निर्वाचन हुन सकिन्न भनिन्थ्यो। चुनौती नै थियो नि। तर सफल भयो," कार्कीले भनिन्।
"अब हामी [जाँचबुझ आयोगको] प्रतिवेदन पनि बुझ्छौँ…अरू प्रतिवेदनहरू पनि बाँकी छन् भने डिस्क्लोज गर्ने प्रयास हुन्छ। यही बेलामा हामी गर्छौँ।"
उनले आउने सरकारसँग "युवाहरूको आशा रहेको" बताउँदै आफ्नो सरकारले देखेका "कमीकमजोरीको एउटा फेहरिस्त श्वेतपत्रजस्तो बनाएर" नयाँ सरकारलाई छाड्ने बताइन्।
सत्ता हस्तान्तरण छिटोभन्दा छिटो गर्न आतुर रहेको कुरा दोहोर्याउँदै प्रधानमन्त्रीले अब आउने सरकारसँग "जेनजीहरूको विकास, परिवर्तनको आशा र विकासको मार्गचित्र" को आशा रहने औँल्याइन्।
तस्बिर स्रोत, Reuters
७ जिल्लाको मतपत्र भोलि मात्रै गणनास्थलमा पुग्ने
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले ७ जिल्लाको मतपत्र भोलि शुक्रवार बिहानसम्म मात्रै गणनास्थलमा पुग्ने बताएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही जिल्लाको मतपत्र आजै मतगणना स्थलमा नपुग्ने अवस्था देखिएको बताएका हुन्।
उनका अनुसार सङ्खुवासभा, सोलुखुम्बु, गोरखा, पश्चिम रुकुम, मनाङ, बाजुरा र हुम्लामा शुक्रवार बिहान मतगणनास्थलमा मतपेटिका पुर्याउने तयारी छ।
दुर्गमका १५ जिल्लामा हेलिकप्टरमार्फत् मतपेटिका ढुवानी
तस्बिर स्रोत, RSS
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दुर्गमका विभिन्न १५ जिल्लामा हेलिकप्टरमार्फत मतपेटिका ढुवानी गरिने बताएका छन्।
उनका अनुसार ताप्लेजुङ, रसुवा, दोलखा, बझाङ र पूर्वी रुकुम सहितका जिल्लामा हेलिकप्टर मार्फत् मतपेटिका ढुवानी गरिने हुँदै छ।
झण्डै ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान: निर्वाचन आयोग
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले देशभरि करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ। यो अनुपात यसअघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो।
मतदानपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभरि शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको बताए।
यसअघिका चुनावमा कहिले कति मत खसेको थियो
विसं २०७९: ६१.६३ प्रतिशत
विसं २०७४: ६८.६७ प्रतिशत
विसं २०७०: ७८.३४ प्रतिशत (दोस्रो संविधानसभा)
विसं २०६४: ६१.७० (पहिलो संविधानसभा)
विसं २०५६: ६५.७९ प्रतिशत
विसं २०५१: ६१.८६ प्रतिशत
विसं २०४८: ६५.१५ प्रतिशत
यो निर्वाचनमा १ करोड ९० लाख नागरिक मतदानका लागि योग्य थिए। यो निर्वाचनबाट प्रतिनिधिसभाका २७५ सदस्य चयन हुन्छन्। जसमध्ये निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनिएर १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सांसद छानिन्छन्।
प्रत्यक्ष तर्फ राजनीतिक दलका र स्वतन्त्र समेत गरी ३,४०० जना भन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
विवाद उत्पन्न भएको स्थानमा बाहेक अन्यत्र मतदान सम्पन्न, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगका अधिकारीहरूले दिउँसो मतदान अवरुद्ध भएको स्थानमा बाहेक अन्यन्त्र मतदान सम्पन्न भएको बताएका छन्।
केही समय मतदान अवरुद्ध भएको दोलखाको गोल्मेश्वर मावि मतदान केन्द्रमा ५ बजेसम्म लाम लागेका मतदातालाई समय सकिए पनि मतदानको अनुमति दिइएको मुख्य निर्वाचन अधिकृत रामप्रसाद न्यौपानेले जानकारी दिए।
मतदानको समय सकिएसँगै देशका विभिन्न मतदान केन्द्रबाट मतगणना स्थलतर्फ मतपेटिका ढुवानी सुरु गरिएको छ। निर्वाचन आयोगले आज बिहान ७ बजेबाटअपराह्ण ५ बजेसम्म मतदानको समय तोकेको थियो।
यो निर्वाचनमा झन्डै १ करोड ९० लाख नागरिक मतदानका लागि योग्य थिए।
यो निर्वाचनबाट प्रतिनिधिसभाका २७५ सदस्य चयन हुन्छन्। जसमध्ये निर्वाचन क्षेत्रबाट प्रत्यक्ष चुनिएर १६५ जना र समानुपातिक प्रणालीबाट ११० जना सांसद छानिन्छन्।
प्रत्यक्ष तर्फ राजनीतिक दलका र स्वतन्त्र समेत गरी ३,४०० जना भन्दा धेरै उम्मेदवारहरू प्रतिस्पर्धामा छन्।
सीलबन्द मतपेटिका सङ्कलन गर्ने काम सुरु
तस्बिर स्रोत, RSS
गृह मन्त्रालयले देशभरिका सबै स्थानमा शान्तिपूर्ण ढङ्गले निर्वाचन भएको भन्दै अपराह्ण दोलखामा अवरुद्ध भएको मतदान पनि साँझ सुरु भएको उल्लेख गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मतदानका लागि तोकिएको औपचारिक अवधि सकिएपनि त्यस अगावै मतदानस्थल पुगेका मतदाताहरूले भोट खसाल्न पाएको बताए।
उनका अनुसार मतपेटिकाहरूको ढुवानी सुरु भइसकेको छ।
हेलिकप्टरबाट रुकुमको एउटा क्षेत्रमा मत बाकसहरू ढुवानी भएको उल्लेख गरेका उनले देशभरिबाटै चाँडोभन्दा चाँडो मतपेटिका सङ्कलन गर्ने प्रयासमा सरकार रहेको बताए।
जुम्लाको चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रबाट सुरक्षाकर्मी र कर्मचारीले मतपेटिका बोकेरै मतगणना स्थल पुर्याएका छन्।
मतदान केन्द्रबाट जिल्ला अदालतमा रहेको मतगणनास्थलबीचको दूरी करिब ५० मिटर छ। अपराह्न ५ बजे मतदान सकिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ओसारिएको छ।
त्यसैगरी जुम्लाको अशाेक नमुना माध्यमिक विद्यालय मतदान केन्द्रको मतपेटिका पनि बोकेरै मतगणनास्थल ल्याइएको छ।
पर्सामा झण्डै ६७ प्रतिशत बढी मतदान, माधुरी महतो, वीरगञ्ज
पर्सा जिल्लामा चारवटा निर्वाचन क्षेत्र रहेका छन् र कुल मतदाता संख्या ३,७६,५३१ रहेको छ।
जिल्ला निर्वाचन अधिकृत गायत्री प्रसाद रेग्मीले दिएको प्रारम्भिक जानकारी अनुसार: क्षेत्र नं. १ मा करिब ६५ प्रतिशत मत खसेको छ।
क्षेत्र नं. २ मा करिब ६५–७० प्रतिशत मतदाताले मतदान गरेका छन्।
क्षेत्र नं. ३ मा कुल ९६,४५२ मतदाता मध्ये ५३,८०२ मत खसेको छ, जसअनुसार करिब ५५.७९% मत खसेको छ। महिला मतदाता २४,८९७ र पुरुष मतदाता २८,२०७ रहेका छन्।
क्षेत्र नं. ४ मा करिब ६० प्रतिशतभन्दा बढी मत खसेको छ।
प्रारम्भिक विवरण अनुसार, चारवटै निर्वाचन क्षेत्रमा करिब ६७ प्रतिशत मत खसेको देखिएको छ र यो प्रतिशत अझ बढ्न सक्ने बताइएको छ।
तस्बिर स्रोत, Madhuri Mahato
गण्डकीमा सबैभन्दा धेरै र मधेशमा सबैभन्दा कम मतदान, अशोक दाहाल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, RSS
निर्वाचन आयोगले गण्डकी प्रदेशमा सबैभन्दा धेरै मतदान भएको जनाएको छ।
दिउँसो २ बजेर ३० मिनेटसम्मको विवरण अनुसार काठमाण्डू उपत्यकामा ४६.६२ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
दिउसोसम्म मधेश प्रदेशमा सबैभन्दा कम २८.३२ प्रतिशत मतदान भएको छ।
देशभरि साढे २ बजेसम्म ३३.४१ प्रतिशत मतदान भएको र ६३ लाख मतदाताले भोट हालेको आयोगले जनाएको छ।
तस्बिरको क्याप्शन, सर्लाही क्षेत्र नम्बर ४ का मतदाता मतदान गरिसकेपछि
कोशी प्रदेशमा ३२.१६, बागमती प्रदेशमा ३६.६९, गण्डकीमा ३८.५८, लुम्बिनीमा ३०.०९, कर्णालीमा ३२.७६ र सुदूर पश्चिम प्रदेशमा ३३.९५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ।
आज जारी प्रतिनिधिसभा निर्वाचनमा मत हाल्न योग्य मतदाताको सङ्ख्या झन्डै १ करोड ९० लाख छ।
जसमध्ये पुरुष मतदाताको सङ्ख्या साढे ९६ लाख र महिला मतदाता करिब साढे ९२ लाख छन्।
यसअघि २०७९ मङ्सिरमा भएको प्रतिनिधिसभा निर्वाचनको तुलनामा यसपालि ९ लाख १५ हजारभन्दा बढी मतदाता थपिएका छन्।
मतदान गर्ने निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट हाल्न पाउने, प्रदीप बस्याल, बीबीसी न्यूज नेपाली
तस्बिर स्रोत, Reuters
प्रतिनिधिसभाको मतदान औपचारिक रूपमा सकिएको निर्वाचन आयोगले जनाएको छ। तर अपराह्ण ५ बजेसम्म मतदानस्थल पुगेर लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने सहायक प्रवक्ता कुलबहादुर जीसीले बताए।
आयोगले साँझ ६ः१५ बजे पत्रकार सम्मेलन गरेर थप जानकारी दिन लागेको छ। अहिले आयोगका अधिकारीहरू र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले छलफल गरिरहेका छन्।
दोलखाको एउटा मतदानकेन्द्रमा अवरुद्ध मतदानका सन्दर्भमा सम्बन्धित अधिकारीले बुझाएको विवरणको मूल्याङ्कनका आधारमा सक्दो छिटो निर्णय गरिने जीसीले बताए।
जेन जी आन्दोलनपछि विकसित घटनाक्रम र प्रतिनिधिसभा विघटनसँगै आजका लागि नयाँ निर्वाचनको मिति घोषणा भएको थियो।
देशभरि प्रत्यक्ष र समानुपातिकतर्फका दुई बेग्लाबेग्लै मतपत्रमा मतदाताले भोट हाले।
अधिकांश सुगम जिल्लामा बिहीवार अबेरबाटै मतपेटिकाहरू गणनास्थल पुर्याएर भोट गन्ने काम सुरु हुन सक्ने निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन्।
कतिपय हिमाली जिल्लाका हकमा हेलिकप्टरबाट मतपेटिका सङ्कलन गर्ने काम शुक्रवार बिहानबाट मात्र सुरु हुने छ।
आयोगले जुनसुकै ठाउँमा गणना थालेको २४ घण्टाभित्रै अन्तिम नतिजा सार्वजनिक गर्ने बताउँदै आएको छ।
समानुपातिक र प्रत्यक्षतर्फ निर्वाचन प्रणालीमा गरी कुल ६,५०० उम्मेदवार प्रतिस्पर्धामा छन्। योग्य मतदाताको सङ्ख्या भने एक करोड ८९ लाखभन्दा बढी छ।
पहिलो पटक मतदान गरेका जेन जी युवायुवती के भन्छन्
तस्बिर स्रोत, Getty Images/BBC
जीवनमा पहिलो पटक मतदान गरेपछि जेन जी युवाहरूले बीबीसीसँग कुरा गर्दै कौतूहल, डर अनि नागरिक बनेको मिश्रित अनुभूति आफूहरूले गरेको बताएका छन्।
यस पटक नौ लाखभन्दा केही बढी नयाँ मतदाता थपिएका थिए। तीमध्ये नवयुवाको सङ्ख्या उल्लेख्य छ।
मतदानपछि बीबीसीसँग कुरा गरेका युवाहरूले भ्रष्टाचारको अन्त्य, रोजगारीको अवसर र राजनीतिक स्थायीत्व कायम हुने परिस्थिति चाहिरहेको बताए।
गएको भदौमा भएको जेन जी प्रदर्शनमा सक्रिय एक नेत्रीले आफूहरूले अपेक्षा गरेभन्दा कम सङ्ख्यामा आफ्नो क्षेत्रमा युवाहरूले मतदान गरेको बीबीसीलाई बताइन्।
ओली र बालेनबीच प्रतिस्पर्धा भएको क्षेत्रमा अहिलेसम्म '६१ प्रतिशतले भोट हाले'
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह 'बालेन' उम्मेदवार रहेको झापाको निर्वाचन क्षेत्र नं ५ मा अपराह्ण ४ बजेसम्म ६१ प्रतिशतभन्दा बढी मतदान भएको छ।
जिल्ला प्रशासन कार्यालयलाई उद्धृत गर्दै हाम्रा संवाददाता विक्रम निरौलाले यस्तो जानकारी दिएका हुन्।
पाँचवटा क्षेत्र रहेको झापामा अपराह्न ४ बजेसम्म झन्डै ६० प्रतिशत मतदान भएको छ।
दाङको बबई गाउँपालिका वडा नं ७ मा दिउँसो अबेसम्म पनि मतदान सुरु भएको छैन।
वन्यजन्तुको समस्या झेलिरहेका त्यहाँका मतदाताहरूले सो समस्या समाधान नगरिएसम्म मतदानमा सहभागी नहुने चेतावनी दिँदै आएका थिए।
"बवईको वडा नं ७ को केन्द्रमा अहिले सम्म कोही पनि मतदाता मतदान गर्न आएका छैनन्," प्रदेश निर्वाचन कार्यालय लुम्बिनीका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने।
निर्वाचन गराउन पुगेका कर्मचारीहरू मतदाता कुरेर बसिरहेका छन्। यो केन्द्रमा ५ सय ३० जना मतदाताहरू रहेका छन्।
सोही गाउँपालिकाको वडा नं १ मा अहिले सम्म १० जनाले मात्र मतदान गरेको पनि निर्वाचन कार्यालयले जनाएको छ।
त्यस वडामा पनि वन्यजन्तुको समस्यालाई लिएर मतदान गर्न मानिसहरू नगएको बताइएको छ। सो वडामा ६सय ४२ जना मतदाता रहेका छन्।