साउदी अरेबियाः कतारलाई थप एक्ल्याउँदै?

साउदी अरेबिया र कतारको सिमानामा प्रस्तावित नहर परियोजनासँगै दुई देशबीच जारी विवादमा एउटा नयाँ मोड आएको भन्न सकिन्छ।

सन् २०१७ को जून महिनादेखि साउदी अरेबियाले कतारलाई अन्य खाडी मुलुकबाट एक्ल्याउन शुरू गरेको थियो।

जसमा बहराइन, संयुक्त अरब इमिरेट्स् र इजिप्टले उसलाई साथ दिए।

साउदी अरेबियाले कतारमाथि अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, उग्रवादी संगठनहरूलाई सहयोग गरेको र इरानसँग निकटता बढाएको आरोप लगाएको थियो।

उद्देश्य

तर साउदी नेतृत्वको बहिष्कारका बावजुद इरान र टर्कीसँग कारोबारका लागि नयाँ सम्बन्ध विस्तार गर्न कतार सफल रह्यो।

साउदी अरेबिया र कतारको सिमानामा प्रस्तावित सलवा नहर परियोजनाको समाचार अहिले खाडी देशका सञ्चारमाध्यममा निकै चर्चामा छ।

उक्त परियोजनाको उद्देश्य कतारलाई भौगोलिक दृष्टिकोणले अलग्याउनु रहेको बुझिएको छ।

साउदी अरेबियाको सबक पत्रिकाका अनुसार ७५ करोड डलर लगानीमा एक वर्षभित्र उक्त परियोजना पूरा गर्ने लक्ष्य लिइएको छ।

६० किलोमिटर लम्बाइ, २०० मिटर चौडाइ र १५ देखि २० मिटर गहिराइ हुने प्रस्तावित नहरले कतारलाई उसका दक्षिणी छिमेकी मुलुकहरूसँग छुट्ट्याइदिनेछ।

सुरक्षा

साउदी अरेबियाको सलवा र खव्र अल-उदायत क्षेत्रबीच बनाइने उक्त नहरका कारण कतारले स्थलमार्गबाट अरू मुलुकसँग गर्ने व्यापार पूर्ण रूपमा बन्द हुनेछ।

त्यो नहर परियोजनाले सामाजिक सञ्जाल ट्विटरमा पनि बहस निम्त्याएको छ।

कतारका मानिसहरूले साउदी अरेबियाले उक्साउने र 'खाडी संकट' लाई बढाउने कदम चाल्न लागेको रूपमा अर्थ्याएका छन्।

कतारलाई बहिष्कार गर्ने मुलुकका नागरिकहरूले चाहिँ साउदी अरबको सत्ताले आफ्नो देशको सीमाको सुरक्षाका लागि त्यस्तो कदम चालेको तर्क गरिरहेका छन्।

फोर्ब्स म्याग्जिनको एउटा रिपोर्ट अनुसार साउदी नागरिकहरू चाहन्छन्, मरूभूमिमा एउटा नहर बनाइयोस् जसले कतारसँग सीमाको रूपमा काम गरोस्।