इरान बाढी: ठूलो वर्षा हुने पूर्वानुमानपछि हजारौँ जनालाई सुरक्षित स्थलमा सारियो

बाढी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, खुजेस्तानमा एउटा परिवार आफ्नो सामान घरबाट सार्दै
पढ्ने समय: २ मिनेट

बाढीग्रस्त इरानमा शनिवार पनि ठूलो वर्षा हुने पूर्वानुमान गरिएपछि त्यहाँका नगर र गाउँहरूबाट मानिसहरूलाई अन्यत्र सारिँदैछ।

मुख्य नदीका बाँधमा त्यसको क्षमता जति पानी भरिने भएपछि अधिकारीहरूले पानीको निकास दिने योजना बनाइराख्दा देशको दक्षिणपश्चिम प्रान्तहरूमा असर गर्ने देखिएको छ।

उक्त क्षेत्रबाट महिला र बालबालिकालाई सुरक्षित स्थानतिर सारिँदै छ भने पुरुषहरूलाई उद्धार तथा राहतको काममा सहयोग गर्न तिनै क्षेत्रमा बस्न भनिएको छ।

केही सातादेखि भएको वर्षामा देशका केही भागहरू जलमग्न भएका छन्। हालसम्म मृत्यु हुनेको सङ्ख्या हालसम्म ७० पुगेको छ।

जोखिम

पचास हजार जनसङ्ख्या भएको सुसानगर्डजस्ता नगरहरू बाढीको जोखिममा छन्।

त्यहाँबाहेक खुजेस्तान प्रान्तका अन्य पाँच समुदायबाट पनि मानिसहरूलाई अन्यत्र सारिँदैछ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानभरि बाढी आएको छ

गत साता यो प्रान्तबाट करिब ७० गाउँहरू खाली गरिसकिएको छ।

यो क्षेत्र तेलका लागि धनी छ र यहाँ रहेका ऊर्जा कम्पनीहरूले पम्प प्रयोग गरेर पानी हटाउँदै राहतमा सघाइरहेका छन्।

मार्च १९ मा सुरु भएको वर्षाका कारण इरानका झन्डै १९ सय नगर, सहर र गाउँहरूलाई प्रभावित भएका छन्।

हजारौँ सडक, पुल र भवनहरू क्षतिग्रस्त भएका वा भत्किएका छन्।

बाढी प्रभावित क्षेत्रको नक्सा

अहिलेसम्म ८६ हजार मानिसहरू आपत्‍कालीन आश्रयस्थलमा बसिरहेका छन्।

तीमध्ये झन्डै एक हजार जनालाई हवाईमार्गबाट सुरक्षित स्थानमा सारिएको छ।

प्रतिबन्धको प्रभाव

सहायतासंस्थाहरू यति ठूलो सङ्कटको सामना गर्न सङ्‍घर्ष गरिरहेका छन्। अमेरिकाले ऊर्जा र ब्याङ्किङ क्षेत्रमा लगाएको प्रतिबन्धका कारण इरानलाई राहत तथा उद्धारमा स्रोत जुटाउन हम्मेहम्मे परेको छ।

इरानी विदेशमन्त्री जवाद जारिफले अमेरिकी प्रतिबन्धका कारण सहायताको प्रयासमा अवरोध पुगेको र उद्धारकार्यमा हेलिकप्टरको अभाव भएको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गत वर्ष इरानसँग गरिएको परमाणु सम्झौताबाट आफू फिर्ता भएको घोषना गरेपछि इरानमाथि अमेरिकाले पुन: प्रतिबन्ध लगाएको थियो।

एप्रिल १ मा ट्वीट गर्दै जारिफले लेखेका छन्, "यो केवल आर्थिक युद्ध होइन, यो आर्थिक आतङ्कवाद हो।"

सरकारले प्रभावित क्षेत्रका मानिसहरूलाई राहत दिने र खासगरी किसानहरूलाई क्षतिपूर्ति दिने बताएको छ।

इरानको रिभोलुशनरी गार्डस् का प्रमुखले सशस्त्र फौझले क्षति कम गर्नका लागि आफ्ना सबै शक्तिको प्रयोग गरेको बताएका छन्।

Presentational grey line

यो पनि पढ्नुहोस्

Presentational grey line

'बाढी र वनविनाशको सम्बन्ध'

पर्यावरणविद्हरूका अनुसार हालैका वर्षमा इरानमा आएका बाढीहरूको मुख्य कारक वनविनाश हो।

इरानको प्राकृतिक स्रोत तथा वन जङ्गलसम्बन्धी सङ्गठन न्याचुरल रिसर्सेज एन्ड फरेस्ट्री अर्गनाइजेशनका अनुसार बृहत् र अनियमित रूपमा भएको वनफँडानीले इरानको उत्तरी भेगको जङ्गलको झन्डै आधा भाग सखाप पारेको छ।

मुख्य बाढीहरू तिनै क्षेत्रमा आएका हुन्।

उक्त सङ्गठनका अनुसार पछिल्ला ४० वर्षमा उत्तरी वनक्षेत्र ३६ लाख हेक्टरबाट खुम्चिरएर १८ लाख हेक्टरमा सीमित भएको छ।