तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आठ गोल गरेका रुसी राष्ट्रपति पुटिन चिप्लिएर लडे
रुसका शक्तिशाली राष्ट्रपति भ्लादिमिर पुटिन आइस हकीको प्रदर्शनी खेल सकिएपछि जितको खुसीयालीमा मैदान घुम्दै थिए।
अनि उनी चिप्लिएर लडे।
टेलिभिजनबाट समेत प्रत्यक्ष प्रसारण हुने यस्ता मैत्रीपूर्ण आइस हकी खेलमा राष्ट्रपति पुटिन नियमित भाग लिन्छन्।
आइस हकीको राष्ट्रिय लिगका पूर्व खेलाडी सम्मिलित टोलीबाट खेल्दै पुटिनले त्यस खेलमा आठ गोल गरेका थिए।
पुटिनको गोलको सहायताले सो खेलमा उनको टोली १४-७ ले विजयी भएको बताइएको छ। प्रतिद्वन्दी टोली भने सोखिन खेलाडीहरूको थियो।
भिडिओमा पुटिन खेलपछिको कार्यक्रमका लागि राखिएको रातो कार्पेटमा लडेको र तुरुन्तै उठेको देखिन्छ।
जुडोका ब्ल्याक बेल्ट
राष्ट्रपति पुटिन जुडोका पनि ब्ल्याक बेल्ट खेलाडी हुन्।
६६ वर्षीय पुटिन तत्कालीन लेनिनग्राद - जसलाई अहिले सेन्ट पिटर्सवर्ग भनिन्छ - मा हुर्किए जहाँ उनको आफूभन्दा ठूला स्थानीय किशोरहरूसँग झगडा पर्थ्यो। त्यसले उनलाई जुडो सिक्न उक्सायो।
क्रेमलिनको वेबसाइट अनुसार स्कूले शिक्षा नसकिकनै पुटिन तत्कालीन सोभियत जासुसी संस्थामा काम गर्न चाहन्थे।
सन् २०१५ को अक्टोबरमा एक अवसरमा बोल्दै पुटिनले भनेका थिए: "यदी झगडा अवश्यम्भावी छ भने पहिलो प्रहार आफैँ गर।"
पुटिनले आफ्नो बलियो पुरुषको छवि मनपराउँछन्। सन् २००० मा उनले चेच्न्यामा लडाकू जहाज उडाएका थिए भने सन् २०११ मा रुसी बाइकरहरूको मेलामा उनी पुगेका थिए।
खेलमा चाहिँ उनी आइस हकी र जुडोका सोखिन छन्।