हजारौँ वर्ष पुरानो दाँतमा मान्छेले दूध सेवन गर्न थालेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण

    • Author, पोल रिन्कन
    • Role, विज्ञान सम्पादक, बीबीसी न्यूज

मानवजातिले दूध सेवन गर्ने गरेको सबैभन्दा पुरानो र स्पष्ट प्रमाण वैज्ञानिकहरूले फेला पारेका छन्।

ब्रिटेनमा प्रागैतिहासिक कालमा बसेका किसानका दाँतमा भेटिएको टाटोमा दूधमा हुने प्रोटीन भएको प्रमाणित भएको छ।

यसको अर्थ मानिसहरू छ हजार वर्षअघि देखि नै दुग्धपदार्थ सेवन गर्थे।

तर त्यति बेला उनीहरू दूधमा हुने ल्याक्टोज पचाउन सक्दैनथे। त्यसैले सोझै दूध सेवन नगरेर उनीहरूले दूधबाट दही, चीज वा फटाएर अरू केही परिकार बनाउने गरेको सम्भावना देखिन्छ। दूध फटाउँदा ल्याक्टोजको मात्रा घट्ने र स्वादिलो पनि भएको हुनसक्छ।

यो अनुसन्धान गर्ने समूहका सदस्यले दाँतको टाटा खुर्किएर त्यसमा भएका विभिन्न रासायनिक तत्त्व छुट्याए। पछि ती तत्त्वको म्यास स्पेक्ट्रमट्री विधि प्रयोग गरेर विश्लेषण गरियो।

त्यसो गर्दा उनीहरूले नीअलिथिक काल अर्थात् नवपाषाणयुगका सात जनाको दाँतबाहिरको सतहमा बीटा-ल्याक्टोग्ल्योब्युलिन (बीएलजी) नामक दूधमा मात्र पाइने प्रोटीन फेला पारे।

उक्त अध्ययन आर्कीअलोजिकल एन्ड एन्थ्रोपलजिकल साइअन्सेज मा प्रकाशित भएको छ।

अध्ययनमा सहभागी वैज्ञानिक एवं शोधकी सहलेखिका डा. सोफी चार्ल्टनका अनुसार दाँतका टाटाको प्रोटीन विश्लेषण गर्ने विधि नयाँ हो। उनी यूनिभर्सिटी अफ योर्कसँग आबद्ध छिन्।

उनी भन्छिन्, "पहिला पनि केही अध्ययन भएका छन्। तर प्राय: ती प्रागैऐतिहासिक सामग्रीमा नभएर ऐतिहासिक तथा पुरातात्त्विक सामग्रीमा हुन्थे।"

शैशवकालपछि कतिपय मानिसहरू ल्याक्टोज अर्थात् दूधमा हुने गुलियो पदार्थ पचाउन सक्दैनन्। ल्याक्टोज इन्टोलरन्स भनिने त्यो अवस्थामा दुग्धपदार्थ सेवन गर्दा पेट दुख्ने, पखाला लाग्ने र वाकवाक होला जस्तो हुने लक्षण देखिन्छ।

तर आनुवंशिक संरचनामा भएको परिवर्तनले आधुनिक युरोपवासीहरू दूध पचाउन सक्छन्।

डा. चार्ल्टनका अनुसार त्यो बेला मानिसहरूले सीमित मात्रामा मात्रै दुग्धपदार्थ सेवन गर्ने गरेको हुन सक्छ।

ल्याक्टोज इन्टोलरन्स भए पनि थोरै मात्रामा दूध सेवन गर्दा त्यसले खासै अप्ठेरो नपार्ने उनको भनाइ छ।

उनको अर्को सम्भावना पनि औँल्याएकी छन्।

"उनीहरूले ल्याक्टोजको मात्रा उल्लेख्य रूपमा घटाउनेगरी दूध प्रशोधन गर्ने गरेको हुनसक्छ। यदि तपाईँ दूधलाई चीज वा फटाएर अन्य कुरा वा दही बनाउनुहुन्छ भने त्यसले ल्याक्टोजको मात्रा घटाउँछ र तपाईँ सजिलै पचाउन सक्नुहुन्छ।"

प्रमाण

यसलाई युरोप र यूकेमा भेटिएका नवपाषाणयुगका माटाका भाँडाजस्ता पुरातात्त्विक प्रमाणले पनि पुष्टि गर्ने उनको भनाइ छ।

त्यस्ता केही प्रागैतिहासिक भाँडामा दूधको चिल्लो भेटिएको छ र ती भाँडा दूध तताउन प्रयोग गरिएको हुन सक्छ।

यो अध्ययनका लागि भेटिएका मानव अवशेष डोर्सिटको ह्याम्बल्डन हिल, ग्लोकस्टरशरको हेजल्टन नोर्थ र नोर्थएम्प्टनशरको ब्यान्बरी लेनमा फेला परेका थिए।

ह्याम्बल्डन हिलमा भेटिएका एकचौथाइ भाँडामा दूधको चिल्लो पाइएको छ। यसबाट त्यहाँ बस्ने मानिसको आहारामा दूध महत्त्वपूर्ण भएको देखाउँछ।

अरू स्थानमा पनि चौपायाको बथान भएको र तिनबाट दूध दुहिने गरिएको प्रमाण पाइएको छ।

ब्रिटेनमा ६,००० देखि ४,४०० सय वर्षअघिसम्म नवपाषाणयुग थियो।

त्यही अवधिमा मानिसहरूले गाई, भेडा, बाख्रा र सुँगर पाल्न थालेका हुन्।