प्रधानमन्त्री ओलीको गृह जिल्लास्थित सरकारी विद्यालयमा लिम्पियाधुरासम्म देखिने नक्सा बनाउन सिकाइयो

पूर्वी नेपालको झापास्थित भारतसँग सीमा जोडिएको गाउँमा अवस्थित एउटा विद्यालयमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सार्वजनिक गरिएको नेपालको नक्सा विद्यार्थीलाई बनाउन सिकाइएको छ। झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला हो।

सामाजिक शिक्षा विषयको अध्यापन गराउने क्रममा लक्ष्मी माध्यामिक विद्यालय कचनकवलका विद्यार्थीलाई काठमाण्डूमा नागरिक स्तरको सीमा बचाऔँ अभियानले हालै सार्वजनिक गरेको नक्सा बनाउन सिकाइएको हो।

बीबीसीसँग कुरा गर्दै उक्त विद्यालयका प्रधानाध्यापकले विद्यार्थीलाई "राष्ट्रियतासम्बन्धी विषयमा जनचेतना जगाउन" नयाँ नक्सा कोर्न सिकाइएको बताए।

नागरिकस्तरीय उक्त अभियानले सार्वजनिक गरेको नक्सामा नेपाल सरकारले प्रयोग गर्ने गरेको नक्सामा अङ्कन नभएका स्थानहरू पनि छन्।

सीमा बचाऔँ अभियानले दुई दिनअघि गृहमन्त्री रामबहादुर थापालाई नक्सा हस्तान्तरण गर्दै नेपाली भूभाग फिर्ता गराउन आग्रह गरेको थियो।

केही साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिचिने नदिने भन्दै अतिक्रमित भूमि फिर्ता गराइने बताएका थिए।

कसरी सिकाइयो नयाँ नक्सा बनाउन?

लक्ष्मी माध्यमिक विद्यालय झापाको केचनकवल गाउँपालिकामा छ। त्यहाँ झन्डै ९,०० विद्यार्थी अध्ययनरत छन्।

झन्डै ८० जना विद्यार्थी भएको कक्षा सातमा बिहीवार सामाजिक शिक्षा पढाउने क्रममा नयाँ नक्सा बनाउन सिकाइएको उक्त विद्यालयले जनाएको छ।

सामाजिक शिक्षा विषयका शिक्षक रत्न बुढाथोकी भन्छन्, "हामीले ग्राफ विधिबाट नक्सा बनाउन सिकाउने क्रममा पश्चिमतिर अतिक्रमित लिम्पियाधुरासम्मको क्षेत्रलाई पनि नेपालको नक्सामा थप्न सिकाएका हौँ।"

उनका अनुसार सामाजिक शिक्षामा सधैँ नक्सा बनाउने विधि सिकाइन्छ।

"आफ्नो देशको माटोबारे प्रत्येक नागरिकलाई जानकारी गराउनु आफ्नो कर्तव्य सम्झेर हामीले यस्तो गरेका हौँ," बुढाथोकीले भने।

उनका अनुसार पहिला उक्त कक्षाका विद्यार्थीहरूलाई लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा खासै जानकारी थिएन।

नागरिक स्तरमा गठित सीमा बचाउ अभियानले बनाएको नक्सा चलनचल्तीको आधिकारिक नक्साभन्दा फरक छ।

उक्त नक्सामा दार्चुला जिल्लामा जोडिएको एउटा लामो भाग देखिन्छ। त्यो भाग सरकारी नक्सामा छैन।

किन विद्यालयमा अनौपचारिक नक्सा?

नयाँ नक्सासहित कक्षाकोठामा छलफल भएपछि विद्यार्थीहरूले सीमा अतिक्रमणसँग सम्बन्धित प्रश्नहरू सोधेका र आफूले नयाँ नक्साका आधारबारे सैद्धान्तिक जानकारी गराएको बुढाथोकीले बताए।

अनौपचारिक प्रकृतिको नक्सा किन विद्यार्थीहरूलाई पढाएको भन्ने बीबीसीको प्रश्नमा लक्ष्मी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु बुढाथोकीले भने, "अहिले सीमाको मुद्दा उठिरहेको छ त्यही भएर लिम्पियाधुरासम्मको भूभाग हाम्रो हो भन्ने किसिमले विद्यार्थीमा चेतना जगाउन खोजेका हौँ।"

"राष्ट्रियताको भावना जगाउने किसिमले सामाजिक शिक्षा पढाउँदा सम्बन्धित शिक्षकले नयाँ नक्सा समेट्नु भएको हो जस्तो मलाई लाग्छ," उनले भने।

किन भयो नक्साबारे विवाद?

कश्मीरको विशेष मान्यता समाप्त भएपछि भारत सरकारले देशको अन्तर्राष्ट्रिय सीमा देखिनेगरी आफ्नो नक्सा सार्वजनिक गर्‍यो।

त्यो नक्सामा कालापानी, लिम्पियाधुरा र लिपुलेक भएको क्षेत्र भारतमा देखिएपछि नेपालमा विरोध सुरु भयो।

तर विगतका नक्साबाट अन्य कुनै परिमार्जन नगरिएको भन्दै भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको भन्ने आरोपको खण्डन गरेको छ।

नेपालले कालापानी सहितका आफ्ना भूभाग उक्त नक्सामा परेको भन्दै त्यसलाई सच्याउन भारतसँग माग गर्दै आएको छ।

नापी विभागका पूर्वमहानिर्देशक पुण्यप्रसाद ओलीका अनुसार उक्त क्षेत्रमा झन्डै ४०० वर्ग किलोमिटर नेपाली भूभाग भारतको अतिक्रमणमा परेको छ।

तीनतिर भारत र उत्तरमा चीनसँग सीमा भएको नेपालले बेइजिङसँग सीमासम्बन्धी सम्झौता गरेको भए पनि भारतसँग सीमाको नक्साङ्कनलाई अन्तिम रूप दिन सकेको छैन।

नेपाल र भारतका अधिकारीहरूले कालापानी र सुस्ताबाहेक ९८ प्रतिशत सीमा क्षेत्रको नक्साङ्कनलाई अन्तिम रूप दिइसकिएको बताउने गरेका छन्।

दुवै देशले कालापानी र सुस्ताबारे दुवै देशका परराष्ट्रसचिवको तहमा सहमति गर्ने बताएको पनि हालसम्म त्यसबारे औपचारिक वार्ता हुन सकेको छैन।