तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अमेरिका-इरान तनाव: २२ वर्षदेखि इरानमा बस्दै आएका एक नेपाली भन्छन्, 'हामी सुरक्षित छौँ'
अमेरिकाले इरानका एक वरिष्ठ सैन्य नेताको हत्या गरिदिएपछि दुई देशबीच तनाव चुलिएको तथा मध्यपूर्वमा सम्भावित युद्धको सन्त्रास देखिएको छ।
तर इरानको राजधानी तेहरानमा सपरिवार बसोबास गर्दै आएका एक नेपालीले इरानमा भएको सबै नेपालीले आफू असुरक्षित भएको अनुभूति नगरेको बताएका छन्।
इरानमा अधिकांश नेपालीहरू विभिन्न देशका दूतावासमा कार्यरत रहेकाले "धेरै खतरा नरहेको" उनको भनाइ छ।
इरानबाट नेपाली नागरिकलाई केही गरी उद्धार गर्नुपर्ने अवस्था आएमा त्यसका लागि नेपाल सरकार सतर्क अवस्थामा बसेको अधिकारीहरूले बताएका छन्।
इरानमा नेपालको दूतावास छैन। तर इरान मामिला पनि हेर्ने पाकिस्तानस्थित नेपाली राजदूत सेवा लम्सालले "आफूहरू इरानस्थित नेपालीहरूसँग सम्पर्क र समन्वयमा रहेको" जानकारी दिएकी छन्।
उनले भनिन्, "हाल इरानमा २३ जना नेपाली छन्। उनीहरूसँग हामी नियमित सम्पर्क गरेर जानकारी लिइरहेका छौँ। केही परेमा तत्कालै उद्धार गर्न सक्ने अवस्थामा छौँ।"
इरानमा रहेका नेपाली र राजधानी तेहरानको पछिल्लो अवस्थाबारे बीबीसी न्यूज नेपालीका विष्णु पोखरेलले तेहरानमा कार्यरत नेपाली नागरिक शालिकराम बन्जाडेसँग टेलिफोनमा गरेको कुराकानी गरेका छन्।
बन्जाडे यसो भन्छन् -
पर्यटक भिसामा इरान
नेपालमा मेरो घर अर्घाखाँची हो। म इरानमा आएको २२ वर्ष भयो।
सुरुमा पर्यटक भिसामा आएको थिएँ।
पछि मैले यहाँस्थित मेक्सिकोको दूतावासमा जागिरका लागि आवेदन दिए। संयोगले जागिर पनि पाएँ। त्यसपछि म यतै काम गरेर बसेको छु।
म मेक्सिकन शेफ हुँ। त्यसैले पनि मलाई यहाँ जागिर पाउन सहज भयो।
म यतै रहेका बेला मेरा भाइ पनि कामका लागि यहाँ आएका थिए। यहाँ सिरियाली दूतावासमा झन्डै १३ वर्ष काम गरेर अहिले उनी नेपाल फर्किसकेका छन्।
मैले मेरो परिवारलाई पनि यतै ल्याएको थिएँ। मेरो कान्छो छोरा यतै जन्मिएको हो।
अहिले मेरी श्रीमती र कान्छो छोरो नेपालमै छन् भने जेठो छोरो भारतमा अध्ययन गर्दैछ।
अहिले अमेरिका र इरानबीच विवाद बढेको समाचार आइरहेको छ। समाचारमा स्थिति डरलाग्दो भए जस्तो चित्रण गरिएको छ। तर यहाँ त्यस्तो देखिएको छैन।
जनजीवन सामान्य छ। तेहरानका सडकमा अन्य दिनकै जस्तो अवस्था छ।
तेहरानमा शवयात्रा
अमेरिकी आक्रमणमा मारिएका सैन्य जनरल कासिम सुलेमानीको शवयात्रामा सहभागी हुन यहाँ मान्छेहरू घरबाट निस्किएका छन्।
सुरक्षाव्यवस्था खासै कडा पारिएको जस्तो अनुभूति भएको छैन।
सुलेमानीको शवयात्राका लागि तेहरानमा आज बिदा दिइएको छ। तेहरान बन्द नै छ आज।
सहरमा शवयात्रा गर्ने भनिएको छ। उनीप्रति श्रद्धा व्यक्त गर्दै मानिसहरूले नमाज पढिरहेको देखिन्छ।
इरानी जनताले यहाँको सरकारलाई समर्थन गर्छन्।
बाहिरका देशका मानिसले यहाँको व्यवस्थालाई मन नपराएकोले पनि इरानलाई नराम्रो देखाइएको हुन सक्छ।
यहाँका सर्वसाधारणले सुलेमानीको हत्यालाई एकदमै नराम्रो घटना मानेका छन्।
नेपालीको अवस्था
इरानमा रहेका सबै नेपालीहरू सुरक्षित छन्। मेरो पनि उनीहरूसँग नियमित कुराकानी भइरहेको छ।
यहाँका नेपालीहरू तेहरानमा मात्र छन्। तेहरानबाहिर नेपालीहरू छैनन्। हाल तेहरानमा २३ जना नेपाली छौँ। त्यसमध्ये केही परिवारसहित पनि छन्।
यहाँ सुरक्षाका हिसाबले कुनै खतरा छैन। नेपाल वा भारतमा भन्दा यहाँ सुरक्षित जस्तो लाग्छ मलाई त।
आइतवार पाकिस्तानस्थित दूतावासबाट नेपाली राजदूतले पनि मलाई फोन गर्नुभएको थियो।
उहाँले नेपालीहरूको सूची पनि माग्नुभएको थियो। त्यसअनुसार मैले सूची पनि पठाइसकेको छु। उहाँले नेपालीहरूको नेपालको ठेगानासहितको विवरण पनि माग्नुभएको छ। त्यो पनि म पठाइदिँदैछु।
अहिलेकै परिस्थितिमा नेपालीहरू सुरक्षित रहेकाले चिन्ता गर्नुपर्ने अवस्था छैन। अधिकांश नेपालीहरू प्राय: दूतावासहरूमै काम गर्ने भएकाले पनि सुरक्षा खतरा भए जस्तो लाग्दैन।
इरानमा रहेका नेपालीहरू दूतावासमा शेफ, वेटर आदि पदमा काम गर्छन्।
एकाध मात्र यहाँ बाहिर कम्पनीमा काम गर्छन्। उनीहरूको जागिर पनि दूतावासकै जस्तो छ।
त्यसैले गर्दा डराउनुपर्ने अवस्था छैन।