तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
लोखर्के, बाँदर र न्याउरी मुसोले आफ्ना लागि बनाइएको पुलको उपयोग यसरी गरेका छन्
- Author, विमला चौधरी
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा पहिलो पटक जङ्गली जनावरका लागि निर्माण गरिएको पुल प्रयोगमा आएको छ।
जनावरहरूले राजमार्ग वारपार गर्दा हुने दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने राजमार्गमा पुल प्रयोगमा ल्याइएको अधिकारीहरूले बताएका छन्।
अधिकारीहरूका अनुसार गत असोजमा राजमार्गमा पर्ने विभिन्न स्थानमा पुल निर्माण गरिएको हो।
बाँके राष्ट्रिय निकुञ्जमा प्रयोगात्मक रूपमा छ वटा यस्ता पुल बनाइएको छ।
खास गरी बाँदर प्रजातिका जनावरलाई लक्षित गरेर नेपालमा पहिलो पटक बाँके राष्ट्रिय निकुञ्जमा निर्माण गरिएको पुलको प्रयोग लोखर्के, बाँदर र न्याउरी मुसो लगायतका जनावरले प्रयोग गरिरहेको पाइएको उनीहरूको भनाई छ।
बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व पश्चिम राजमार्ग ७२ किलोमिटर लामो छ। त्यस्तै कोहलपुर देखि बबईसम्मको राजमार्गको लम्बाइ ३० किलोमिटर छ।
निकुञ्जमा राजमार्गको दुरी लामो भएको र सवारी साधनको चाप बढ्दै गएका कारण जनावरका लागि पुल निर्माण गरिएको बताइएको छ।
क्यामरा सहित पाँच स्थानमा ६ वटा पुल राखिएको निकुञ्जले जनाएको छ।
निकुञ्जका सहायक संरक्षण अधिकृत पुरुषोत्तम शर्माका अनुसार पुल क्रमिक रूपमा प्रयोगमा आउँदै छ।
"यो परीक्षणको लागि राखेका हौँ। छ महिनासम्म यसको अनुगमन गर्छौँ," शर्माले भने।
"हालसम्म दुई पटक 'क्यामरा ट्रयाप मनिटरिङ' गरिसकेका छौँ। त्यसमा मुगुवा क्षेत्रमा दुई वटा बाँदरले प्रयोग गरेको देखिएको छ भने क्यामरा ट्रयापमा ७ वटा बाँदर देखिएको छ।"
त्यस बाहेक उक्त पुल एउटा लोखर्केले प्रयोग गरेको र क्यामरा ट्रयापमा ८ वटा लोखर्के देखिएको उनले बताए।
दुर्घटना न्यूनीकरण हुँदै
निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा २६४ जनावरको मृत्यु भएको छ।
गत वर्ष दुर्घटनाको जोखिममा परेका ४३१ वन्यजन्तुको उद्धार गरिएको निकुञ्जले जनाएको छ।
खाद्यान्न ढुवानी गर्ने सवारीबाट खसेका बस्तु र यात्रुले जथाभाबी फ्याँकेका खानेकुरा खान जाँदा केही जनावर गाडीको ठक्करले मारिएको निकुञ्ज अधिकारीहरू बताउँछन्।
यस वर्ष भने सवारी दुर्घटनाबाट मारिने वन्यजन्तुको सङ्ख्यामा कमी आएको बताउँदै शर्माले गत साउनदेखि हालसम्म २१ वटा जनावर मात्र दुर्घटनामा परेर मरेको जानकारी दिए।
त्यसमा पाँच वटा स्याल, तीन वटा चित्तल, तीन वटा गिलहरी, दुई वटा बाँदर, तीन-तीन वटा सरीसृप र हरिण लगायतका जङ्गली जनावर दुर्घटनामा मारिएको निकुञ्जले जनाएको छ।