कोरोना भाइरस: नेपालगञ्जमा १६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि, नेपालमा कुल सङ्क्रमित १०२

अस्पताल

नेपालगञ्जमा एक १६ वर्षीय पुरुषमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ।

यससँगै नेपालमा कुल सङ्क्रमित व्यक्तिको सङ्ख्या १०२ पुगेको छ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा. प्रकाश थापाका अनुसार पछिल्लो पटक लिइएको १३० वटा स्वाब परीक्षण गर्दा एक १६ वर्षका किशोरमा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप सङ्क्रमणको पुष्टि गर्दै ३० जना निको भएको बताएका छन्।

को हुन् नयाँ सङ्क्रमित?

सङ्क्रमित किशोर पनि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ जोलहन पुर्वाकै रहेको बताइएको बीबीसी सम्वाददाता विमला चौधरीले जनाएकी छन्।

योसँगै नेपालगञ्जमा सङ्क्रमितको संख्या २४ पुगेको छ।

बाँकेमा बुधवारको १०२ र बिहीवारको १४८ वटा नमूनामध्ये १३० वटाको रिपोर्ट आएको डा. थापाले बताए।

थापाले आजै अन्य छ जनाको परीक्षणको रिपोर्ट आउने बताए।

नेपालगञ्जमा सङ्क्रमितको सम्पर्कमा रहेका सबै व्यक्तिको अझै स्वाब सङ्कलन हुन सकेको छैन। उनीहरूको खोजी गर्दै स्वाब लिने काम भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

कोरोना

विराटनगरमा थप आठ जना निको

नेपालमा सबैभन्दा बढी कोरोनाभाइरस सङ्क्रमित पुष्टि भएको प्रदेश नं १ मा कोभिड-१९ निको हुनेको सङ्ख्या १४ जना पुगेको बीबीसी सम्वाददाता बिक्रम निरौलाले जनाएका छन्।

विराटनगरस्थित कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रबाट शुक्रवार थप आठ जना निको भएपछि अस्पतालबाट बिदाइ गरिएको अधिकारीहरूले जनाएका छन्।

तीन दिनअघि बुधवार त्यहाँ उपचाररत छ जना निको भएर क्वारन्टीनमा फर्किएका थिए ।

पछिल्लो दुई पटक पीसीआर विधिबाट गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनीहरु कोरोनाभाइरसमुक्त भएको निष्कर्ष निकालिएको प्रदेशिक सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए।

निको भएका क्वारन्टीनमा

कोरोनाभाइरसमुक्त भएर घर फर्कने सबै उदयपुरको भुल्केका हुन्।

शुक्रवार निको हुने एक जना महिला हुन्।

Coronavirus test
BBC
नेपालमा कोरोनाभाइरस

वैशाख २६ शुक्रवार अपराह्ण ४:३० बजेसम्म प्राप्त तथ्याङ्क

  • १०२कुल सङ्क्रमित

  • ‌‌+१अघिल्लो दिनबाट वृद्धि

  • जना निको भएका व्यक्तिमा फेरि भाइरस देखियो

  • १५,४९२वटा परीक्षण - पीसीआर विधिबाट

  • ३०जना निको भएर अस्पतालबाट फिर्ता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

सात जना पुरुषलाइ विराटनगरकै एक मस्जिदमा क्वारन्टीनमा पठाइएको छ भने महिलालाइ भने क्वारन्टीनमा बस्ने गरी उदयपुर नै पठाइएको अधिकारीहरूले जनाएका छन।

पछिल्लो पटक निको हुने पाँच जना समुदायमै सङ्क्रमित भएका व्यक्तिहरू हुन्। यसअघि निको भएका छ जना भुल्केस्थित एक मस्जिदमा बस्ने भारतीयहरू थिए।

अझै १७ जना उपचाररत

अब विराटनगरमा एक महिलासहित १७ जना उपचाररत रहेको चिकित्सकहरूले जनाएका छन्।

सङ्क्रमित भएर निको भएका र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रदेश १ मा कुल सङ्क्रमितमध्ये उदयपुरको भुल्केका २८, झापाका दुई र एक जना भोजपुरका हुन्।

प्रदेश १ मा पीसीआर विधिबाट हालसम्म १,७८९ जनाको परीक्षण गरिएको र आरडीटी विधिबाट ६,८३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर