माओवादी केन्द्रले सरकारबाट मन्त्रीहरूलाई फिर्ता बोलायो

तस्बिर स्रोत, CMPRACHANDA.COM
नेकपा एमाले नेतृत्वको सरकारमा सहभागी आफ्ना नेताहरूलाई मन्त्रिपरिषद्बाट फिर्ता हुन माओवादी केन्द्रले निर्देशन दिएको छ।
शनिवार बसेको पार्टीको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको नेता पम्फा भुसालले बताइन्।
"सरकारमा मन्त्री हुन गएका साथीहरू र सांसदहरूलाई तुरुन्त पार्टीमा फर्कन भनिएको छ," उनले भनिन्।
आफ्ना मन्त्रीहरूलाई फर्कन भनेको भए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता गरि नसकिएको भुसालले बीबीसीलाई जानकारी दिइन्।
"हामी विकास भइरहेका पछिल्ला केही राजनीतिक घटनाक्रमका आधारमा त्यसबारे निर्णय लिनेछौँ," उनले भनिन्
गृहमन्त्री रामबहादुर थापासहित ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रममन्त्री गौरीशंकर चौधरी सरकारमा छन्।
तीमध्ये केहीले सार्वजनिक रूपमै आफूहरू माओवादी केन्द्रमा नफर्कने बताउँदै आएका छन्।
शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रका २३ नेतालाई आफ्नो पार्टीको केन्द्रीय सदस्य मनोनित गरेका थिए।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी सर्वोच्च अदालतको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र कायम भएको भए पनि केही माओवादी केन्द्रका नेताहरू ओली समूहमा लागेका छन्।




























