तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्रतिनिधिसभाको अधिवेशन आह्वान, प्रधानमन्त्री केपी शर्मा ओलीले 'विश्वासको मत लिने'
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छन्।
आइतवार अपराह्ण बसेको मन्त्रिपरिषद्को बैठकले उक्त मितिमा प्रतिनिधिसभाको अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा १०० को उपधारा (१) बमोजिम आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन राष्ट्रपतिले आह्वान गरेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेको जानकारी आइतवार मन्त्रिपरिषद्लाई गराएको सहरी विकासमन्त्री प्रभु शाहले बीबीसीलाई बताए।
गत फागुन महिनामा सर्वोच्च अदालतले संसद् विघटन गर्ने निर्णयलाई बदर गरिदिएको थियो।
त्यसको लगत्तै सर्वोच्च अदालतको अर्को फैसलाबाट नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपूर्वको अवस्थामा भिन्नाभिन्नै दलको अस्तित्वमा फर्किएका थिए।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइरहेका बेला ओलीले संसद्बाट विश्वासको मत लिने मनसाय व्यक्त गरेका हुन्।