क्रिस्टियानो रोनाल्डोः 'म छुट्टी मनाउन म्यान्चेस्टर यूनाइटेड फर्केर आएको होइन'

तस्बिर स्रोत, Martin Rickett/PA WIRE
क्रिस्टियानो रोनाल्डोले आफू म्यान्चेस्टर यूनाइटेडमा "छुट्टी मनाउन नआएको" बताएका छन्।
शनिवार ओल्ड ट्र्याफर्डमा हुने उनको स्वागतसहितको खेलका लागि तयारी गर्दै गर्दा पोर्चुगलको राष्ट्रिय टोलीका क्याप्टेन पनि रहेका रोनाल्डोले त्यस्तो टिप्पणी गरेका हुन्।
रेड डेभिल्स पनि भनिने म्यानचेस्टर यूनाइटेडमा छ वर्ष लामो आफ्नो पहिलो आबद्धताका बेला रोनाल्डोले २९२ खेल खेलेर ११८ गोल गरेका थिए।
क्लबको आधिकारिक वेबसाइटसँग बोल्दै उनले भनेका छन्, "म सक्षम छु र म खेल्नका लागि तयार छु।"
शनिवार म्यान्चेस्टर यूनाइटेडले प्रीमीअर लीगको खेलमा न्यूकासलसँग प्रतिस्पर्धा गर्दैछ।
पुरानो प्रतिस्पर्धी क्लब म्यान्चेस्टर सिटीले ती फर्वार्ड खेलाडीलाई भित्र्याउलान् कि भनेर ठूलो चर्चा भइरहेका बेला युभेन्टस्बाट एक करोड २८ लाख पाउन्डमा म्यान्चेस्टर यूनाइटेडले रोनाल्डोलाई पुनः आफ्नो टोलीमा ल्याउन सक्नु यो ग्रीष्मकालमा भएको सबैभन्दा ठूलो "ट्रान्स्फर" हो।
जित
फेरि पनि सात नम्बरको जर्सी लगाएर खेल्ने ती ३६ वर्षीय पोर्चुगिज स्टारले क्लबका भूतपूर्व प्रबन्धनक सर एलेक्स फर्गुसनको मातहतमा खेल्दा तीनवाट प्रीमीअर लीग उपाधि, एउटा च्याम्पीअन्स लीग, दुईवटा लीग कप अनि एउटा एफए कप प्रतियोगिता जितेका थिए।

तस्बिर स्रोत, Martin Rickett/PA Wire
जितमा फिफा क्लब वर्ल्डकप र कम्युनिटी शील्ड पनि पर्छन्।
सन् २००९ मा रोनाल्डो ठूलो स्पेनी क्लब रेआल मड्रिडबाट खेल्न गएयता यूनाइटेडले थुप्रै ट्रफीहरू जितेको छ तर सन् २०१२-१३ को सीजनयता उच्च उपाधि जितेको छैन।
"त्यसैले पनि म यहाँ आएको हुँ," उनले भने। "म यहाँ छुट्टी मनाउन फर्केर आएको होइन।"
"पहिला अवस्था निकै राम्रो थियो। महत्त्वपूर्ण प्रतियोगिताहरू जितियो। मैले यो जर्सी पहिले पनि लगाएको थिएँ धेरै वर्षअगाडि।"
"म अब फेरि पनि जित हासिल गर्न आएको छु। "



























