किम यो-जङः उत्तर कोरिया र दक्षिण कोरियाबीच युद्ध अन्त्य घोषणा गर्न यस्ता छन् सर्त

उत्तर कोरियाका नेता किम जङ-अनकी बहिनीले दक्षिण कोरियाले आफ्ना "शत्रुतापूर्ण नीतिहरू" परित्याग गर्‍यो भने उससँग पुनः वार्ता गर्न सकिने बताएकी छन्।

कोरियाली युद्ध अन्त्य भएको घोषणा गर्न दक्षिण कोरियाले फेरि आह्वान गरेपछि किम यो-जङले त्यस्तो प्रतिक्रिया दिएकी हुन्।

कोरियाली प्रायःद्वीपलाई दुई देशमा विभक्त गर्ने युद्ध सन् १९५३ मा एउटा युद्धविरामपछि रोकिएको थियो। तर उनीहरूबीच कुनै शान्तिसन्धि भएको छैन।

त्यतिबेलादेखि नै दुई कोरिया प्राविधिक रूपमा युद्धमा छन्। बेलाबेलामा उनीहरूको सम्बन्धमा तनाव उत्पन्न हुने गरेको छ।

यो साता दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले दुवै कोरिया र तिनका सहयोगी राष्ट्र - दक्षिण कोरियालाई सहयोग गर्ने अमेरिका र उत्तर कोरियाको सबैभन्दा ठूलो आर्थिक साझेदार चीन - लाई द्वन्द्व अन्त्य भएको औपचारिक घोषणा गर्न र कोरियाली प्रायःद्वीपमा शान्ति स्थापना गर्न आह्वान गरे।

उक्त आह्वानलाई उत्तर कोरियाका एक वरिष्ठ मन्त्रीले "अपरिपक्व" को सङ्ज्ञा दिएका थिए।

तर शुक्रवार अनपेक्षित रूपमा सरकारी सञ्चारमाध्यममार्फत् एउटा विज्ञप्ति प्रकाशित गर्दै किम यो-जङले उक्त आह्वान "सराहनीय" भएको टिप्पणी गरिन्।

उनलाई उत्तर कोरियामा शक्तिशाली व्यक्तिका रूपमा लिइन्छ।

के भनिन् किम यो-जङले?

यद्यपि दक्षिण कोरियाले "शत्रुतापूर्ण नीतिहरू" रोकेको खण्डमा मात्र उत्तर कोरिया उक्त प्रस्तावबारे कुरा गर्न इच्छुक रहेको उनको भनाइ छ।

"आफ्ना गतिविधिलाई न्यासङ्गत देखाउन खोज्ने तर हाम्रो आत्मरक्षाको अधिकारको उचित अभ्यासमा खोट देख्ने दोहोरो मानसिकता, असङ्गत पूर्वाग्रह, नराम्रो बानी तथा शत्रुतापूर्ण अडान परित्याग गरिनुपर्छ," उनले विज्ञप्तिमा भनेकी छन्।

"त्यस्तो पूर्वसर्त पालना भएको अवस्थामा मात्र आमुन्नेसामुन्ने बस्न र युद्ध अन्त्य भएको घोषणा गर्न सम्भव हुन्छ।"

केही साताअघि उतर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेपछि दक्षिण कोरियाले पनि पनडुब्बीबाट प्रहार गर्न सकिने आफ्नो बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

दक्षिण कोरियाले अमेरिकासँग मिलेर गर्ने वार्षिक सैन्य अभ्यासको प्योङ्याङले आलोचना गर्ने गरेको छ।

सन् २०१९ मा किम र तत्कालीन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच आयोजित आणविक निरस्त्रीकरण वार्ता असफल भएको थियो। त्यसपछि ती दुई देशबीच सम्बन्धमा सुधार आएको छैन।

मूनले आफ्नो राष्ट्रपतीय कार्यकालमा उत्तरसँग वार्ता गर्ने प्रयास गर्दै आएका छन्। कोरियाली युद्ध अन्त्य भएको घोषणा गरिए त्यसले उत्तर कोरियालाई निरस्त्रीकरणका लागि प्रोत्साहित गर्ने तर्क उनको छ।

उत्तर कोरियाले भने आफूविरुद्ध लगाइएको आर्थिक नाकाबन्दी पहिला हटाइनुपर्ने माग राख्ने गरेको छ।

तर अमेरिकाले उत्तर कोरियाले पहिला आणविक अस्त्र परित्याग गर्नुपर्ने बताउँदै आएको छ।

को हुन् किम यो-जङ?

नेता किम जङ-अनकी कान्छी बहिनी उनको निकट र शक्तिशाली सहयोगी हुन्।

सन् १९८७ मा जन्मिएकी चार वर्ष कान्छी हुन् र दुवैले एकै समयमा स्विट्जरल्यान्डमा पढेका हुन्।

किमवंशको पहिलो सदस्यको रूपमा सन् २०१८ मा दक्षिण कोरियाको भ्रमण गरेपछि उनले अन्तर्राष्ट्रिय ध्यान तानेकी हुन्।

उनी दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा सहभागिता जनाएको शीतकालीन ओलम्पिकमा गएको प्रतिनिधिमण्डलमा सहभागी थिइन्।

उनी दक्षिण कोरियाली नेता मून जे-इन, चीनका राष्ट्रपति सी जिन्पिङ र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको बैठक सहितका अन्तर्राष्ट्रिय सम्मेलनहरूमा दाजु किमको नजिक रही सहभागी भएकी थिइन्।