मनीषा कोइराला: छोरीको कामबाट गौरवान्वित आमा सुषमा कोइरालाको मुखबाट मनीषाको कथा

    • Author, बिनिता दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

कुनै बेलाकी चर्चित बलिवूड अभिनेत्री मनीषा कोइरालाले आफ्नो ५१ औँ जन्मदिन मनाएको धेरै भएको छैन।

उनको व्यक्तिगत र व्यावसायिक जीवनका आरोह अवरोहलाई नजिकबाट नियालेकी उनकी आमा सुषमा कोइरालाले छोरी जन्माउँदाको समय सम्झिँदै भन्छिन्, "मेरा बुवाले धिक्कार भनेजस्तो भाव देखाउनुभयो। म बुवासँग त्यसपछि ३/४ महिना बोलिनँ।"

उनका बुवामात्रै नभइ ससुरा बुवा कांग्रेस नेता बीपी कोइरालाले पनि विदेशमा रहेका बेला के जन्मियो भन्ने जिज्ञासामा एउटा पोष्टकार्डसहित पत्र लेखेको सम्झना उनको मनमा ताजा छ।

"नानु, यति बेलासम्म त तिम्रो यस्तो छोरा जन्मिसक्यो होला?"

उनलाई लाग्छ छोरा र छोरीबारे त्यति बेलाको मानसिकता त्यस्तै थियो। सबैले छोरी होइन, छोरा नै हुनुपर्छ भन्थे। तर भर्खरै जन्मिएकी छोरीलाई अस्पतालको वार्डमा काखमा लिएपछि उनले दृढ अठोट गरिन् - 'दुनियाँलाई देखाउँछु। तँलाई म स्वीट्जरल्याण्ड पढ्न पठाउँछु।'

बलिवूड चलचित्र दंगलमा आमिर खानको चर्चित संवाद 'हमारी छोरी छोरो से कम हे के?' जस्तै गरी उनी प्रतिप्रश्न गर्छिन्, "मेरो छोरी छोराभन्दा कम छे र?"

डाक्टर बनाउने सपना

छोराभन्दा कम छैन छोरी भनेर त्यति बेला सुषमाले मनीषालाई विदेशमा पढाउने र त्यो पनि डाक्टर बनाउने इच्छा राखेकी थिइन्। उनका अनुसार मनीषा भर्खरै १२ कक्षा उत्तीर्ण गरेर बसेकी थिइन्।

किशोरावस्थामा रहेकी मनीषाले जन्मदिन नजिकिँदै गर्दा एकदिन भनिन्, "आमा म जन्मदिनको लागि एउटा उपहार माग्छु। दिने हो?"

छोरीले के उपहार माग्न लागेको अत्तोपत्तो नभएकी सुषमाले हत्तपत्त भनिन्- 'दिन्छु।'

मनीषाले जिद्दी कसेर आमालाई बचनबद्ध गराइन् - 'साँच्चै दिन्छौ? त्यसो भए मलाई बम्बई लग।'

काठमाण्डूमा आफ्नो पहिलो नेपाली चलचित्रमा अभिनय गरिसकेकी मनीषा आफ्नो उडान बलिवूडमा भर्न चाहन्थिन्।

बचनमा हारिसकेकी सुषमाले छोरी मनीषालाई त्यति बेलाकी चर्चित चलचित्र समीक्षक मिना ऐयरलाई चिनाइन्। छोरी अभिनयमा लाग्नुअघि नै बलीवूडमा सुषमाको थुप्रैसँग राम्रो चिनजान थियो।

तर मनीषालाई मिनासँग भेटाउनुअघि सुषमाले उनलाई छुट्टै राखेर भनेकी थिइन्, "मनीषाले मलाई फिल्म खेल्छु भनेर हैरान गरिसकी। यसलाई बम्बईको यस्तो तस्बिर देखाइदेउ ता कि यसले खेल्दिनँ भनोस्।"

साथीभाइबीचको एउटा जमघटका बेला सुषमाले मनीषा र मिनालाई भेट गराइन्। उनीहरूले लगभग डेढ घण्टा कुराकानी गरे। उनीहरूलाई टाढाबाट हेरिरहेकी सुषमा भित्रभित्रै मक्ख थिइन्, हिरोइन बन्ने जिद्दी गरेकी छोरीलाई अब डाक्टर बनाउनुपर्छ।

तर केही बेरपछि मक्ख पर्दै आएकी मनीषाले भनिन् -"आमा मलाई त मिना दिदीले तिमी त 'स्टार मटेरियल' हौ भन्नुभयो।"

सुषमाले मिनालाई केही नभनी हेरिन् - "हो उनी 'स्टार मटेरियल' हुन्। सुभाष घाईले आफ्नो चलचित्रका लागि नयाँ अनुहारको खोजी गरिरहेका छन्।"

त्यो रात मनीषा दङ्ग थिइन्। आमालाई अँगालो मारेर सुतिन्।

तर सुषमा अझै पनि मनीषालाई रोक्न चाहन्थिन्। उनले अन्तिम अस्त्रको रूपमा सासू बीपी पत्नी सुशीला कोइरालालाई सोध्न भनिन्।

जब हजुरआमा सुशीला कोइरालाले थाहा पाइन्। उनले मनीषालाई भनिन्- "तँलाई अभिनय गर्न मन छ। जा...गर्... एकदम गर्।"

सुषमालाई त्यतिबेला कस्तो आमा होला भन्ने लाग्यो। तर सुषमाले यो भन्न छुटाइनन्- 'मनीषा बीपी बाबा र सुशिला आमाकी असाध्यै प्यारी थिइ।

उनका अनुसार कोइराला परिवारमा छोरीको सङ्ख्या कम भएका कारण पनि धेरै प्यारो गरिन्थ्यो।

मनिषाले आफ्ना थुप्रै अन्तर्वार्ताहरूमा भनेकी पनि छन्- "सुशिला आमालाई मैले पहिला नै मनाइसकेकी थिएँ र उहाँले गर भन्नुभएको थियो। कतै न कतै वहाँलाई पनि उमेरमा हुँदा अभिनेत्री बन्ने मन थियो कि जस्तो लाग्छ।"

पहिलो चलचित्रबाटै चर्चामा

मनीषालाई बलिवूडमा पहिलो प्रवेश चलचित्र सौदागरमा मिल्यो। जुन मिना ऐयरले चिनाएकी सुभाष घाइले नै निर्देशन गरेका थिए। उक्त चलचित्र निकै चर्चित बन्यो र मनीषालाई बलिवूडमा चिनिने नाम बनायो।

केही चलचित्र खेलेपछि छोरी अघाउँछे कि भन्ने सुषमालाई सुरुमा लागेको थियो। तर उनले घर बस्दा पनि अभिनयको अभ्यास गर्ने, संवादहरू वाचन गर्ने गर्दै चलचित्रप्रति आफ्नो लगाव कायमै राखिन्।

एउटा घटना सुषमालाई निकै घत लागेको थियो। उनको सम्झनामा सन् १९९० को दशकको सुरुको त्यो साँझ अझै पनि ताजा छ।

मनीषा र सुषमा बम्बई विमानस्थलबाट आफू बस्ने ठाउँमा जाँदै थिए। मनीषाले चहकिला बत्ती नै बत्ती देखिने सहरको मध्य भागमा पुग्दा भनेकी थिइन् रे - "आमा एकदिन म यो सहरमा राज गर्नेछु।"

तर त्यति बेला पनि उनलाई डर लागेको थियो। उनी सम्झिन्छिन्- "डर त हुन्छ नि बा। बीपी कोइराला सुशीला कोइरालाको नातिनी हो। कहीँ यसको कुनै पनि यसको कदम गलत नहोस्। म आफैँले उदाहरण बनाउनु थियो।"

करिब तीन दशकअघि बम्बईको त्यो साँझ सम्झिरहँदा यता काठमाण्डूमा सुकेधारास्थित घरको बैठक कोठामा आमाको कुरा भुईँमा बसेर मनीषा सुनिरहेकी थिइन्।

आमाको जन्मदिन परेकाले मनीषा शुभकामना दिन आउने मानिसहरूको स्वागत गर्दै थिइन्। र, सँगै कोठाको साजसज्जामा खटिएकी महिलालाई अह्राइपह्राइ पनि गर्दै थिइन्।

आमा सुषमाले त्यहीबेला आफ्नी छोरीको स्वभावबारे भनिन्, "एकदमै एकलकाँटे छे। उसले गर्छु भनेको काम नगरी छोड्दिनँ। मेरो मालिक हो यो।"

उनले ठट्टैठट्टामा आफ्नो फोनको स्क्रिनमा छोरीको सेभ गरिएको नाम पनि देखाएर भनिन्- 'यी मैले उसको नाम यस्तो भनेर राखेकी छु।' मोबाइलको स्क्रिनमा 'हिटलर' लेखिएको थियो।

फिल्मी करिअर

कुनै पनि व्यवसायमा सफलता वा असफलता स्थायी हुँदैन। सुरुवात निकै सफल रहेको मनीषाको करिअर सन् २००० को दशकको पूर्वार्द्धसम्म राम्रै रह्यो। उनले करिअर सुरु भएदेखि सन् १९९० को दशकमा सौदागर, बम्बई, १९४२: अ लभ स्टोरी, खामोसी, दील से, मनजस्ता चलचित्रहरू निकै चर्चित बने। उनले उत्कृष्ट अभिनेत्रीका थुप्रै पुरस्कार पनि जितिन्।

मनीषाले सुरुवाती दिनमा देखेको सपना जस्तै उनी त्यो समय बम्बईमा 'राज' गरिरहेकी थिइन्। उनको अभिनयबाट बलिवूडका एक सय एक मानिसहरू प्रभावित बनेका थिए र प्रशंसा केवल मनीषाको अगाडि मात्रै गर्दैन थिए, सुषमालाई पनि भेटेका बेला वा फोन नै गरेर पनि भन्थे।

त्यसरी प्रशंसा गर्नेमा रेखा, शर्मिला टेगोर, पूजा भट लगायत निर्देशकहरू सुनिल दत्त, महेश भट, सुभाष घा, शेखर कपुर लगायत रहेको सुषमा सम्झिन्छिन्।

उनले अगाडि रहेकी मनीषालाई हेर्दै भनिन्, "अनि यो आमा... साधारण नेपाली भूसलाई गर्व हुँदैन। के कुरा गर्‍या? म यसको अगाडि पो भन्दिनँ तर भित्रभित्रै त गद्‌गद् भइहाल्छु नि।"

तर सन् २००० यता भने सङ्ख्यात्मक हिसाबले उनले थुप्रै चलचित्रमा अभिनय गरिन्। ती त्यति चर्चित बन्न सकेनन्। त्यसबीच उनको व्यक्तिगत जीवनबारे पनि अनेक थरीका समाचारहरू आउन थाले।

उनले त्यो बेला सम्झँदै भनिन्- "हाम्रो खुट्टा चाहिँ भुईँमा नै हुनुपर्छ। धेरै चर्चित हुन थालेपछि दिमाग त अलि उडेको हुन्छ हुन्छ। मलाई त्यो अनुभव त भइरहेको थियो तर ठिक गर्ली भन्ठानेँ।"

गुणात्मक हिसाबले काम भइरहेको भए पनि गुणस्तरीय नबनेको फिल्म आलोचकले बताउने गरेका थिए। मनीषा आफैँले पनि अन्तर्वार्ताहरूमा राम्रो चलचित्र चयन गर्न नसकेको स्वीकारेकी छन्।

मनीषाको सफलतालाई नजिकबाट नियालेकी सुषमालाई केही चलचित्र नचलेका बेला लाग्थ्यो रे- सफलता असफलता सधैँ रहिरहँदैन।

उनी भन्छिन्, "यो समय पनि बितेर जानेछ" भन्ने लाग्थ्यो।

चलचित्र नचलिरहेका बेला मनीषाले आमालाई सोधेकी पनि रहिछन्- कतै मैले गलत त गरिरहेकी छैन? तर सुषमाले उनलाई फिल्म चल्नु नचल्नुमा अभिनेत्रीको हात हुँदैन भनेर सम्झाएकी रहिछन्।

व्यक्तिगत जीवन

मनीषाको व्यावसायिक जीवनमा मात्रै उतारचढाव आएन। उनको व्यक्तिगत जीवन पनि त्यो ताका त्यति सुखद रहेन। उनले सन् २०१० मा विवाह गरिन्। तर दाम्पत्य जीवन लामो चलेन।

वैवाहिक जीवनमा उल्झन आएकै बेला उनको पाठेघरमा क्यान्सर भएको पत्ता लाग्यो।

काठमाण्डूको एक निजी अस्पतालमा भएको पहिचानमा विश्वास नलागेर उनीहरूले मुम्बईमा देखाए। त्यो पनि पत्यार नभएपछि न्यू योर्क पुगेकी उनी लामो समय उतै उपचार गरेर बसिन्।

जीवन मरणको दोसाँधमा रहेको त्यो क्षण सम्झिँदा आमाछोरी दुवै भावुक बन्छन्। तर आमा सुषमालाई भित्र हृदयमा कतै लागेको थियो रे - भगवान् छन् भने मेरी छोरीलाई केही हुँदैन। उनी अहिले भन्छिन् - आखिर निको पनि भयो।

मनीषाको सुन्दरताको तारिफ गर्नेहरू कवि तथा गीतकार जावेद अख्तरले रचेको "एक लडकीको देखा तो ऐसा लगा के जैसे खिल्ता गुलाब जैसे शायर का ख्वाब..." सम्झन्छन् जसमा उनी आफैँले अभिनय गरेकी छन्।

मनीषाले कुनै विषयमा बोल्ने चर्चित माध्यम टेडटकमा क्यान्सरसँगको आफ्नो लडाइबारे सुनाउँदा एउटा चर्चित भनाइ उल्लेख गर्दै भनेकी थिइन्- भविष्यबारे जब हामी अन्य योजना गर्न व्यस्त हुन्छौँ त्यही बेला जे हुन्छ त्यो नै हाम्रो जीवन हो।"

यही अनिश्चितताका कारण जीवनबारे केही तयारी गर्न नसकिने र त्यही कारण जीवन नाजुक हुँदाहुँदै पनि सुन्दर छ भन्ने उनको भनाइ थियो।

जब उनी किमोथेरापी गरिरहेकी थिइन् त्यतिबेला उनको कपाल, आँखीभौँ, आँखाका परेलाका रौँ सब झरेका थिए।

शरीरमा शक्ति थिएन, मुहारको कान्ति मृत्युको भयले छोपेको थियो।

उनलाई डाक्टरले एउटा पत्रमा हस्ताक्षर समेत गराएका थिए जसमा उनको मुटु, श्रवण शक्ति र नसामा स्थायी क्षति हुनसक्ने उल्लेख थियो।

उनलाई उपचारको त्यो क्षणमा जीवनको अन्तिम अवस्थामा छु भन्ने डर लागेको उनी बताउँछिन्।

तर उनले अस्पतालको शय्यामा बस्दा जीवनबारे धेरै बोध गरेको आमा सुषमा सुनाउँछिन्। स्वास्थ्य र परिवारको महत्त्व बुझ्न पाउने ठूलो अवसरको रूपमा लिन्छिन् उनी।

आमा सुषमाको भनाइमा परिवारका सबैको साथ रहे पनि त्यति बेलासम्म सम्बन्ध विच्छेद नभइसकेका उनका श्रीमान्‌ले भने मनीषाको ख्याल राख्नै छोडेका थिए। पछि उनीहरूले सम्बन्ध विच्छेद गरे।

सुषमाकै अनुसार त्यतिबेला मनीषा समाजले के भन्ला भनेर पनि चिन्तित थिइन्।

आफूले मनीषालाई सम्झाएकोबारे सुषमा भन्छिन्, "के समाज? हामी आमाबुवा तँ सँगै छौँ। यो नै समाज हो।"

मन मिल्दैन भने समाजलाई देखाउनका लागि सँगै बस्नुभन्दा छुट्टिनु नै ठिक हो भन्ने उनलाई लागेको थियो।

छोरीको भविष्यको चिन्ता

क्यान्सर मुक्त भएपछिको समयमा मनीषामा धेरै परिवर्तन आएको आमा सुषमाको अनुभव छ।

"अहिले उ सोध्छे आमा राति सुतिनौ कि क्या हो। सञ्चो भएन? खाना खायौ?," उनी भन्छिन्, "सबैले विगतको विश्लेषण त गर्छन् नि। उसले पनि गरेकी होली।"

छोरीले आमाबुवाको चिन्ता गरेजस्तै उनीहरूलाई (बुवा प्रकाश कोइराला र आमा सुषमा कोइराला) लाई पनि मनीषा भविष्यमा कतै एक्लै पो हुन्छे कि भन्ने चिन्ता लाग्छ।

खास गरी सुषमालाई छोरी मनीषाले बिहे गरून् र उनको परिवार होस् भन्ने लाग्छ।

उनी भन्छिन्, "मैले उसलाई भनेकी छु, खोज्दाखेरि राम्रो खोज्नु, राम्रो भनेको असल मान्छे। चिन्ता लाग्छ।"

तर उनले छोरी एक्लै पनि बस्न सक्ने आफूलाई लागेकोले त्यति चिन्ता नगरेको पनि बताइन्। मनीषाले अनाथालय खोलेर बच्चाहरूको आमा भएर बस्न सक्ने पनि बताइन्।

एउटा टेलिभिजन अन्तर्वार्तामा आफूलाई आमा बन्न मन लागेको तर पाठेघरकै क्यान्सर भएका कारण त्यो सम्भव नभएको भन्दै भावुक बनेकी थिइन्।

प्रेरणा

सिने क्षेत्रको तडकभडक देखेकी मनीषा पछिल्ला दिनमा स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने काममा सक्रिय देखिन्छिन्। उनले आफ्नै जीवन भोगाइ रहेको 'हील्ड' पुस्तक पनि लेखेकी छन्।

स्वास्थ्य र अध्यात्मलाई उनी जीवनको महत्त्वपूर्ण पाटो मान्छिन्। आमा सुषमा पनि मनीषालाई 'प्रकृतिकी छोरी' भन्न रुचाउँछिन्।

र, छुटिने बेला भन्छिन्, "मेरो छोरीले राजनीति गरी भने पनि शतप्रतिशत सिद्धान्तवादी नै गर्नेछे।"

चलचित्रमा पनि फेरि बेला बेला देखा पर्न थालेकी मनीषाले राजनीति गरून् भन्ने चाहिँ उनलाई कति लाग्छ?

जवाफमा उनी भन्छिन्, "अहिलेको राजनीति देखेर त मलाई लाग्दैन। यो कुनै राजनीति हो। राजनीतिले त बलिदान माग्दछ। मलाई कांग्रेसलाई पुरानो बाबावाला राजनीतिमा ल्याऊन् भन्ने लाग्छ।"