सगरमाथा: नयाँ कीर्तिमानको तयारी गरेकी नेपाली महिलाले फहराउने छिन अमेरिकी झन्डा

    • Author, स्वामिनाथन नटराजन
    • Role, बीबीसी वर्ल्ड सर्भिस

लाक्पा शेर्पाको जन्म ओडारमा भएको थियो। उनले औपचारिक शिक्षा हासिल गरेकी छैनन्। पहिले उनी चौकीदारको रूपमा काम गर्थिन्। एकल आमा रहेकी उनले सर्वाधिक पटक सगरमाथा आरोहण गर्ने महिलाको कीर्तिमान बनाएकी छन्।

अहिले उनी आफ्नो वर्चस्व बढाउने अभियानको उत्कर्ष नजिक छिन्।

"म आफ्नो उद्देश्य प्राप्ति र पर्वतारोहणमा इतिहास बनाउने कामको निकै नजिक छु। म दशौँ पटक सगरमाथा आरोहण गर्नका निम्ति तयारी गरिरहेकी छु," आरोहण सुरु गर्नुअघि शेर्पाले बीबीसीलाई बताइन्।

पन्ध्र वर्षीय उनकी कान्छी छोरी शाइनी यति बेला आधारशिविरमा छिन्। उनी बढो उत्सुकतापूर्वक र रोमाञ्चित हुँदै आफ्नी आमाको प्रगति नियालिरहेकी छिन्।

"म सधैँ मेरी आमाको सम्मान र प्रशंसा गर्छु। उनले रित्तो छँदा पनि धेरै कुरा हासिल गरेकी छन्," शाइनीले भनिन्।

तर शेर्पाको कडा मिहिनेत र उपलब्धिहरूले अझै पनि व्यावसायिक उडान दिलाएको छैन। उनले पाउनु पर्ने जति चर्चा र सम्मान पाएकी छैनन्।

ओडारमा जन्म

शेर्पाको जीवनको सुरुवात समुद्री सतहबाट ४,००० मिटरमा अवस्थित हिमाली गाउँमा भएको हो।

"म ओडारमा जन्मिएकी हुँ। मलाई त मेरो जन्म मिति समेत थाहा छैन। पासपोर्टका अनुसार म ४८ वर्षकी भएँ," उनले भनिन्।

उनी शेर्पा जातीय समुदायकी हुन्।

फिरन्ते तिब्बतीहरूको वंश मानिने शेर्पाहरू प्राय: विकट उच्च भूभागमा बसोबास गर्छन्।

विद्यालयदेखि टाढा

"विद्यालय पुग्न घण्टौँ हिँड्नु पर्थ्यो। कहिलेकाहीँ मैले आफ्ना भाइहरूलाई बोकेर विद्यालय पुग्थेँ तर म पुग्नेबित्तिकै साथ फर्कनु पर्थ्यो किनकि त्यस समय छोरीहरू विद्यालय जानबाट वञ्चित थिए।"

पूर्वी नेपालको मकालु क्षेत्रमा अवस्थित उनको गाउँमा अधिकांश मानिस कृषि गर्थे। त्यहाँ बिजुली र विद्यालय थिएन।

यद्यपि त्यहाँ यस्तो जादु थियो जसले उनलाई ऊर्जा दिइरह्यो।

"म सगरमाथाको सामुन्ने हुर्किएँ। मेरो घरबाटै सगरमाथा देखिन्थ्यो। सगरमाथाले अझै पनि मलाई प्रेरित र उत्साहित बनाउँछ।"

सन् १९५३ मा सगरमाथाको सफल आरोहण भएयता धेरै मानिसहरूले शिखर चुम्न प्रयासरत छन्।

जो सफल हुन्छन् उनीहरूले शेर्पा पथप्रदर्शक र भरियाहरूको साथ लिन्छन्।

सहयोगीमा सीमित रहन नचाहने लाक्पाजस्ता केही शेर्पा आरोही बनेका छन्।

"तँसँग कसैले विवाह गर्दैनन्"

उनको यात्रा सहज भने थिएन किनकि उनलाई आफ्नै आमाबुवाले साथ दिएका थिएनन्।

"मेरी आमा सधैँ मेरो विवाह कहिल्यै हुँदैन भन्नुहुन्थ्यो। उनले मलाई म पुरुषजस्तो देखिने र कसैले नचाहनेबारे चेतावनी दिनुहुन्थ्यो।"

"गाउँलेहरू भन्थे यो पुरुषको काम हो र मैले प्रयास गरेको खण्डमा ज्यान गुमाउने बताउँथे।"

कीर्तिमान बनाउँदै

उनले ती सारा चिन्ताहरूलाई पाखा लगाइन् र सन् २००० मा सगरमाथाको शिखर चुमिन्।

"पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला राख्दा मलाई सपना पूरा गरेझैँ महसुस भयो। मैले मनमनै सोचेँ म अब गृहिणी होइन। मलाई लाग्यो मैले शेर्पा संस्कृति तथा शेर्पा र नेपाली महिलाहरूको अवस्था परिवर्तन गरेँ।"

"म घरबाट टाढा हुँदा रमाएँ र मैले त्यो अनुभूति सबैसँग साट्न चाहेँ।"

सन् २००३ मा सगरमाथा तीन पटक आरोहण गर्ने उनी प्रथम महिला बनिन्। त्यसपश्चात् पनि उनले कयौँ कीर्तिमानहरू बनाइन्।

सन् २००३ को आरोहणमा उनीसँगै उनका भाइ र बहिनी पनि थिए।

यसले एकै समयमा एकै परिवारका तीन सन्तान ८,००० मिटरभन्दा माथिको चुचुरोमा पुग्ने कीर्तिमानी बनायो। गीनीज बुक अफ वर्ल्ड रेकर्डले यस कार्यलाई दर्ता गर्‍यो।

"मेरा तीन भाइहरूले सगरमाथा आरोहण गरेका छन्। मेरी एक बहिनीले दुई पटक चढेकी छ।"

त्यसपछि उनले अमेरिकानिवासी रूमेनियन मूलका आरोही जर्ज डिमारेस्कुसँग विवाह गरिन् जोसँग उनले पाँच पटक सगरमाथा आरोहण गरिन्।

अमेरिकामा नयाँ घर

विवाहपछि उनी अमेरिका गइन्। तर सन् २०१५ मा उनको तिक्ततापूर्ण वैवाहिक जीवनको अन्त्य भयो।

उनी हाल आफ्ना दुई छोरीहरूसँग कनेक्टिकटमा बस्छिन्।

उनको पुरानो श्रीमानसँगको एक छोरा पनि छ।

पहिले उनी आरोहणको सफलतासँगै नेपालको झन्डा फहराउँथिन्। यस पटक उनी अमेरिकी झन्डा लिएर जाँदै छिन्।

'कपाल काट्न समेत पैसा थिएन'

उनको उपलब्धिहरू सञ्चारमाध्यम र प्रायोजकहरूको ध्यानाकर्षण गर्न विफल रह्यो। धेरै वर्ष उनी अपरिचित मानिसको रूपमा सक्रिय रहिन् र न्यून ज्यालामा काम गरिन्।

"मेरो काम वृद्ध मानिसको हेरचाह, घर सफा गर्ने र भाडा माझ्ने थियो। ती काममा धेरै कमाइ थिएन।"

"मैले आफ्ना लागि लुगा किन्न र कपाल काट्न समेत पैसा जुटाउन सकिनँ। मैले मेरा सन्तानको रेखदेखमा ध्यान दिनु पर्थ्यो। लाग्थ्यो सगरमाथामा फर्कनका निम्ति पुग्ने रकम होस्।"

यस परिस्थितिले उनको रहर मर्न दिएन। उनी दुई पटक आरोहण पथप्रदर्शकको रूपमा सगरमाथा चढिन्। केही पटक उनको परिवार र साथीभाइले उनको यात्राको लागि सहयोग गरे।

"यो केही फरक किसिमको खेल हो। यो मेरो रहर हो। यद्यपि यसको जोखिमको तुलनामा त्यति सन्तोषजनक छैन।"

पर्वतारोहणले आफूलाई सामान्य गाउँले जीवनभन्दा माथि उकासेको उनको विश्वास छ।

सामूहिक सहयोग

जब उनले अङ्ग्रेजी भाषामा संवाद गर्न सक्ने भइन् तब उनको आर्थिक अवस्था सुध्रियो। उनले अन्तर्वार्ताहरू दिइन् र कार्यक्रमहरूमा पनि बोलिन्।

उनले आफ्नो नवौँ आरोहणका निम्ति प्रायोजक भेटिन्। यस पटक उनले जनसहयोगमार्फत रकम जुटाइन्।

उनी सगरमाथाको भूगोलसँग परिचित छिन् र उनलाई यसबाट के अपेक्षा गर्ने भन्ने थाहा छ।

"हामीले शरीरलाई मौसम अनुकूल बनाउन पटकपटक तलमाथि गर्नु पर्ने हुन्छ।"

उनी आफ्नो पदयात्राको सुरुवात परम्परागत प्रार्थनाबाट सुरु गर्छिन्। सुरक्षा उनको प्राथमिकतामा पर्छ।

"हरेक पटक सगरमाथा चढ्ने मेरो प्रयास सफल भएको छ। कहिल्यै पनि दुर्घटना भएको छैन।"

जमेका शरीरहरू

सगरमाथा आरोहण गर्ने क्रममा अहिलेसम्म ३०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क छ। त्यसैले शेर्पा र उनको समूहले आरोहणका क्रममा चिसोले जमेका शवहरूको साक्षात्कार गर्नुपर्छ।

सन् २०१४ मा हिमपहिरोमा परेर १६ जना शेर्पा आरोहण सहयोगीको मृत्यु भएको थियो। सन् २०१५ मा अर्को हिमपहिरोमा परी २१ जनाको मृत्यु भयो।

"पहाडले मौसमको निर्धारण गर्छ। खराब मौसमको बेलामा मसँग पर्खिनुको विकल्प हुँदैन। हामी पहाडसँग लड्न सक्दैनौँ," उनी भन्छिन्।

जति माथि पुगिन्छ अक्सिजनको मात्रा घट्दै जान्छ।

"८,००० मिटरभन्दा माथि पुगेपछि खाना खान सकिँदैन र सबै कुरा जमेको हुन्छ। आरोहणलाई राति अघि बढाउनु पर्छ। त्यसो हुँदा हामी शिखरमा पुगेर दिउँसो फर्कन सक्छौँ," उनी भन्छिन्।

सर्वोच्च शिखरमा केही क्षण

हालसम्म ६,००० भन्दा बढी मानिसले सगरमाथा आरोहण गरिसकेका छन्। निकै कठिन र मिहिनेतपूर्ण पदयात्रापछि त्यहाँ पुग्ने आरोहीहरूले शिखरमा निकै कम समय बिताउन पाउँछन्।

शेर्पाका अनुसार उनले शिखरमा पाँचदेखि दश मिनेट मात्र व्यतीत गर्न पाउँछिन्।

"त्यहाँ पुगेपछि सुरुमा फोटो खिच्छु," उनले भनिन्। "म प्राय: मेरो परिवार, साथीभाइ, आमाबुवा, छोरीहरू र मलाई साथ दिनेहरूलाई सम्झन्छु।"

"म पनि सुरक्षित रूपमा फर्कनेबारे सोच्छु।"

आमाको पाइला पच्छ्याउँदै

छोराछोरीले आफ्नो बारेमा सोच्ने उनी बताउँछिन्।

शेर्पाले आफ्ना छोरीहरूलाई मकालु आधारशिविरसम्म लिएर गएकी छिन्। आफ्नी जेठी छोरी सन्नी पनि आरोहणमा रुचि राख्ने कुराले उनलाई खुसी दिन्छ।

कान्छी छोरी शाइनी हजारौँ मिटर तल आफ्नी आमालाई बधाई दिन पर्खिरहेकी छिन्।

"मेरी आमा यात्रामा हुँदा म उनको बारेमा धेरै सोचिरहेकी हुन्छु। हामी केही समयको अन्तरालमा एक पटक कुरा गर्छौँ। तर हिमाली भेगहरूमा इन्टरनेट भरपर्दो हुँदैन। म आफूलाई मन लाग्दा उनीसँग कुरा गर्न पाउँदिन," शाइनीले भनिन्।

उनी अमेरिकामा हुर्किएकी हुन्। त्यसैले उनीसँग सगरमाथासँग जोडिएका यादहरू छैनन्।

यद्यपि आफ्नो पुर्ख्यौली घरमा जाँदा आफू निकै भावुक हुने उनी बताउँछिन्।

शाइनी आफ्नो करियरबारे निर्णय गर्न केही वर्ष पर्खन चाहन्छिन्।

उनलाई साहसिक खेलमा संलग्न हुँदाका ठूला जोखिमहरू बारे थाहा छ। तर उनकी आमा लाक्पा भने आफ्नी छोरी कुनै पनि किसिमका चुनौतीहरू पार गर्न सक्षम हुनेमा विश्वस्त छिन्।

कर्मलाई निरन्तरता

शेर्पाको तत्काल अवकाश लिने योजना छैन। उनी विश्वको दोस्रो उच्च शिखर केटू हिमाल चढ्न चाहन्छिन्।

"मेरो जीवन चुनौतीपूर्ण थियो। हिमालहरूले मलाई खुसी र आनन्द दिए। म कहिल्यै पनि हार मान्ने पक्षमा छैन। म अरू युवा महिलाले पनि हरेस नखाउन् भन्ने चाहन्छु।"

लाक्पाले आफ्ना सन्तानसँग पनि सगरमाथा चढ्नेबारे योजना बनाएकी छन्।

"आरोहण मेरो रहर हो र म यसैमा रमाउँछु।"