नयाँ सांसदहरू नेपालीबाहेकका भाषामा पनि शपथ लिँदै, कसको रोजाइ के

संसद् सचिवालयले बनाएको अस्थायी हल

तस्बिर स्रोत, Nepal Photo Library

तस्बिरको क्याप्शन, अस्थायी हलमा शपथ हुने अधिकारीहरूले बताएका छन्
    • Author, गनी अन्सारी
    • Role, बीबीसी न्यूज नेपाली
  • पढ्ने समय: ३ मिनेट

नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराउने तयारी अन्तिम चरणमा पुगेको सङ्घीय संसद्‌ सचिवालयका प्रवक्ताले बताएका छन्।

सिंहदरबार परिसरभित्र निर्माणाधीन सड्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ।

नवनिर्वाचित सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यका हैसियतमा नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बाँकी सदस्यहरूलाई शपथ गराउने छन्।

त्यसका लागि पहिला उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट चैत ११ गते राष्ट्रपति भवन शीतल निवासमा शपथ गराउने कार्यक्रम रहेको उनको कार्यालयले जनाएको छ।

त्यसपछि केसीले बाँकी सांसदहरूलाई चैत १२ गते दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने संसद् सचिवालयस्थित अधिकारीहरूले बताएका छन्।

संवैधानिक व्यवस्थाअनुसार सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्छ।

सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ।

कसले कुन भाषा रोजे?

प्रचलित अभ्यासानुसार नेपाली भाषाबाहेक मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउँछन्।

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले जानकारी गराउनुपर्ने प्रवक्ता गिरीले बताए।

मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन,२०७४ को अनुसूची-३ को ढाँचाको शपथको ब्यहोरा सम्बन्धित भाषामा अनुवाद गरी सो अनुवादको प्रति शपथ कार्यक्रमभन्दा तीन दिनअगावै सड्घीय संसद् सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखामा वा सो शाखाको इमेलमा उपलब्ध गराउन अधिकारीहरूले अनुरोध गरेका थिए।

त्यसअनुसार सोमवार १२ बजे रातिसम्म सांसदहरूले शपथको भाषाबारे जानकारी गराउन सक्ने प्रवक्ता गिरीले बताए।

उनका अनुसार सोमवार साँझ ६ बजेसम्म नेपाली भाषाबाहेक विभिन्न १० वटा भाषामा शपथ लिने जानकारी सांसदहरूले गराएका छन।

निर्माणाधीन नयाँ संसद्‌ भवन

तस्बिर स्रोत, Ashok Dahal/BBC

अहिलेसम्म २४ जना सांसदले नेपालीबाहेकका भाषामा शपथ लिने जानकारी संसद्‌ सचिवालयलाई गराएकामा मैथली र नेपाल भाषा धेरैको रोजाइमा रहेको छ।

राप्रपाकी खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिने जानकारी गराएकी छन् भने छ/छ जनाले नेपाल भाषा र मैथली भाषा रोजेका छन्।

त्यसबाहेक भोजपुरी, मगही, थारू, डोटेली, अवधिलगायत भाषा शपथका लागि सांसदहरूले रोजेका छन्।

रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेका उसका वरिष्ठ नेता बालेन्द्र शाह बालेनले अहिलेसम्म आफ्नो रोजाइबारे केही जानकारी नगराएको संसद्‌ सचिवालयका अधिकारीहरूले बताएका छन्।

"मातृभाषामा शपथ लिने जानकारी नआए स्वतः नेपाली भाषामा हुने बुझिन्छ। तर अहिले समय बाँकी छ। हेरौँ के हुन्छ?," एक अधिकारीले भने।

काठमाण्डू महानगरपालिकाका मेअरमा निर्वाचित हुँदा बालेनले नेपालीमा शपथ लिएर फेरि त्यसलाई नेपाल भाषामा दोहोर्‍याएका थिए।

कसरी उपस्थित हुनुपर्छ?

शपथका लागि सङ्घीय संसद्‌ सचिवालयले तोकेबमोजिमका कागजपत्र तथा पोसाकमा सांसदहरू उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ।

त्यसअनुसार सदस्यहरूले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नागरिकताको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजका दुईप्रति फोटो लिएर जानुपर्ने हुन्छ।

औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा निर्धारित समयभन्दा दुई घण्टाअगावै उपस्थिति हुन संसद्‌ सचिवालयले अनुरोध गरेको छ।

संसद्‌ अधिवेशनको व्यवस्था

प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिनाभित्र संसद्को अधिवेशन आह्वान हुनुपर्ने संविधानको धारा ९३ मा उल्लेख छ।

"राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्‌को अधिवेशन आह्वान गर्ने छ," संविधानमा भनिएको छ।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपतिले चैत मसान्तअगावै प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने अनुमान गरिएको छ।

संसदीय दलको कार्यालय

संसदीय दलको कार्यालयका लागि सङ्घीय संसद्‌ सचिवालयस्थित पुरानै हलहरूको व्यवस्थापन गरिएको सचिवालयले जनाएको छ।

प्रवक्ता गिरीका अनुसार संसदीय दलका पुरानै कार्यालयहरू दलहरूलाई उपलब्ध गराइएको छ।

"त्यसमध्ये ठूलो दललाई अलि ठूलो हल उपलब्ध गराइएको छ," उनले अगाडि थपे।

"नेपाली कांग्रेस र नेकपा एमालेले पहिलाकै आआफ्नो संसदीय दलको कार्यालय पाउने भएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाली कम्युनिस्ट पार्टीको र उसले रास्वपाको पहिलाको संसदीय दलको कार्यालय पाउने छ।"

राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टीले विगतमा साना दलले पाएका संसदीय दलका कार्यालय पाउने प्रवक्ता गिरीले जानकारी दिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।