लेबननमा इजरेल र हिज्बुल्लाहबीच द्वन्द्व, अमेरिका-इरान युद्धविराम दबावमा

तस्बिर स्रोत, Reuters
अमेरिका र इरानबीच दुई साता युद्धविरामको सहमति गरिएपछि पनि इजरेलले लेबननमा शृङ्खलाबद्ध आक्रमण गरिरहेको छ।
हिज्बुल्लाह लक्षित भनिएको इजरेली आक्रमणमा १८२ जना मारिएका छन्। बुधवार १० मिनेटसम्म इजरेलले लेबननमा ठूलो मात्रामा गोलाबारी गरेको थियो। लेबननबाट सञ्चालित लडाकु समूह हिज्बुल्लाहले पनि इजरेलतर्फ जबाफी रकेट प्रहार गरिएको जनाएको छ।
सामाजिक सञ्जालमा पोस्ट गरिएको विज्ञप्तिमा हिज्बुल्लाहले युद्धविराम उल्लङ्घन भएको जबाफमा उत्तरी इजरेलमा प्रहार गरिएको उल्लेख गरेको छ।
इरजरेलले लेबननमा आक्रमण नरोके प्रतिवादमा उत्रने चेतावनी इरानी सेनाले दिएको छ। इरानको इस्लामिक रेभलूशनरी कार्ड कोरले इजरेलबाट आक्रमण जारी रहे "निशाना साँधेर जबाफी आक्रमण" गरिने चेतावनी दिएको छ।
अमेरिका र इजरेलले युद्धविराम सम्झौतामा लेबनन संलग्न नभएको बताएका छन्।
पछिल्ला गतिविधिले कमजोर ठानिएको अमेरिका र इरानबीचको युद्धविरामलाई थप जोखिममा पारेको विश्लेषण गरिएका छन्।
वार्ताका लागि अमेरिकी उपराष्ट्रपति पाकिस्तान आउने

तस्बिर स्रोत, Reuters
अमेरिका र इरानबीचको युद्धबारे दीर्घकालीन समाधान खोज्न पाकिस्तानमा हुन लागेको वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स नेतृत्वको प्रतिनिधिमण्डल पाकिस्तान आउने भएको छ।
वार्ता टोलीमा अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विट्कोफ र ट्रम्पका ज्वाइँ जारेड कुश्नर छन्।
युद्धविरामको मध्यस्थता गरेका पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले दुई पक्षबीच शुक्रवार इस्लामाबादमा वार्ता हुने बताएका थिए।
विश्वका कैयौँ देशले मध्यपूर्वमा भएको युद्धविरामको स्वागत गरेका छन्। तर कुवेतले आफ्नो देशमा बुधवार बिहानसम्म पनि इजरेली ड्रोनबाट आक्रमण भएको बताएको छ।
होर्मुज स्ट्रेट कति खुला छ

अमेरिका र इरानबीचको युद्धविराम घोषणामा होर्मुज स्ट्रेट पनि खुला गर्ने सहमति भएको उल्लेख छ।
तर यो साँघुरो सामुद्रिक मार्गबाट पानीजहाजहरू आवतजावतका लागि आफ्नो अनुमति लिनुपर्ने अडान इरानले राखेको छ।
इरानले आफ्नो अनुमति बिना यो मार्ग प्रयोग गर्ने जहाजमाथि "निशाना बनाइने र नष्ट गरिने" चेतावनी दिएको छ।
अहिलेसम्म यो बाटो भएर कति वटा पानीजहाज वारपार गरे भन्ने स्पष्ट छैन।
इरानी सेनाले होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजहरूलाई समुद्रमा बिछ्याइएका धराप छल्ने बाटो प्रयोग गर्न भन्दै वैकल्पिक बाटो सार्वजनिक गरेको छ।
सरकारी सञ्चार माध्यममार्फत् सार्वजनिक भएका वैकल्पिक मार्ग इस्लामिक रेभलूशनरी कार्ड कोरले तयार गरेको बताइएको छ।
इजरेलले आफ्नो सहयोगी राष्ट्र लेबननमा आक्रमण जारी राखेका कारण होर्मुज स्ट्रेट बन्दै रहेको इरानी सञ्चार माध्यमले जनाएका छन्।
इरानका दुई वटा सञ्चार मध्यमले पानीजहाज निगरानी गर्ने वेबसाइटको विवरण उल्लेख गर्दै होर्मुज स्ट्रेट बन्द अवस्थामै रहेका कारण पानमाको झन्डावाहक जहाज फर्किएको जनाएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलीन लेभिटले होर्मुज स्ट्रेट खुला रहेको र यो मार्ग भएर आवतजावत गर्ने जहाजहरूको सङ्ख्या वृद्धि भएको प्रतिक्रिया दिएकी छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
























