अमेरिकी सैन्य विमान इराकमा दुर्घटनामा पर्दा छ जनाको मृत्यु

तस्बिर स्रोत, Reuters
अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी सेनाको एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनामा पर्दा चालकदलका सबै छ सदस्यको मृत्यु भएको जनाएको छ।
यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो। उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको थियो।
यो विमान इरानविरुद्ध अमेरिकाले जारी राखेको आक्रमणमा प्रयोग गरिएको थियो। यस घटनामा दुईवटा विमान संलग्न रहेको र दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको बताइएको छ।
त्यस्ता जहाजहरू युद्धका बेला आकाशमै अन्य विमानमा तेल भर्न प्रयोग गरिन्छ।
सँगसँगै मध्यपूर्वका क्षेत्रहरूमा तनावको अवस्था कायमै रहेको छ। यसअघि इरानको राजधानी तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको इजरेलले शुक्रवार पनि लेबननमा हिज्बुल्लाहले प्रयोग गरेका स्थालहरूलाई निसाना बनाएको छ।
इरानको प्रतिक्रिया

तस्बिर स्रोत, IRIBNEWS
अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताको एउटा वक्तव्य सरकारी टेलिभिजनमार्फत् पढेर सुनाइएको छ। सत्ता सम्हालेपछि आएको उनको पहिलो वक्तव्यमा 'स्ट्रेट अफ हर्मुज'लाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता पनि समावेश छ।
हालै इरानको नयाँ सर्वोच्च नेताको रूपमा मुज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए।
उनी अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिएका आयतोल्लाह अली खामेनेईका छोरा हुन्।
पिताको उत्तराधिकारी बनेयता मुज्तबा खामेनेई सार्वजनिक रूपमा देखिएका छैनन्। त्यसले गर्दा उनी घाइते भएको वा मारिएको पनि हुन सक्ने अड्कलबाजी भइरहेको बीबीसी पर्सियनले जनाएको छ।
अमेरिकाले जारी कारबाहीका क्रममा इरानका लगभग ६,००० स्थानमा आक्रमण गरिएको जनाएको छ।
अमेरिकी सेन्ट्रल कमान्डले जनाएअनुसार त्यस क्रममा करिब ६० वटा पानीजहाज र विस्फोटक पदार्थ बिच्छ्याउने ३० वटा वाहनलाई क्षतिग्रस्त बनाइएको वा नष्ट पारिएको छ।
निसानामा पानीजहाज
खाडी क्षेत्रमा कम्तीमा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएको विवरणहरू आएका छन्।
ती घटनाहरूमा इरानको संलग्नता रहेको ठानिएको छ।
तर इरानी सरकारी सञ्चारमाध्यमहरूले ती हमलामध्ये कम्तीमा एउटामा इरानको भूमिका रहेको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार २८ फेब्रुअरीमा अमेरिका र इजरेलले आक्रमण थालेयता इरानमा लगभग ३२ लाख मानिस विस्थापित भएका छन्।
तेलको मूल्य

तस्बिर स्रोत, Getty Images
विश्वको ऊर्जाबजारमा यो साता देखिएको ठूलो हलचल भए पनि एशियामा शुक्रवार बिहानको तेल कारोबारमा मूल्य सामान्यत: स्थिर देखिएको छ।
व्यापारीहरूले हर्मुज स्ट्रेटका घटनाक्रमलाई नियालिरहँदा हालैका दिनहरूमा इरानसँग सम्बन्धित युद्धले ऊर्जा आपूर्तिमा पार्न सक्ने प्रभावको चिन्ताले बजारमा हलचल मच्चाएको थियो।
यसअघि अमेरिकाले केही देशहरूलाई पहिले नै ट्रान्जिटमा रहेको रूसी इन्धन किन्न अनुमति दिन प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको जनाएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























