इरानको मुख्य तेल टापुका 'हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको' ट्रम्पको भनाइ

डोनल्ड ट्रम्प

तस्बिर स्रोत, Getty Images

पढ्ने समय: ३ मिनेट

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानाहरूलाई "पूरै नष्ट गरेको" बताएका छन्।

सामाजिक सञ्जाल 'ट्रूथ सोशल'मा उनले "अमेरिकाको सेन्ट्रल कमान्डले मध्यपूर्वको इतिहासकै शक्तिशालीमध्येको कारबाही पूरा गरेको र उक्त द्वीपमा रहेका हरेक सैन्य ठेगानालाई पूरै नष्ट गरिएको" उल्लेख गरेका हुन्।

"मैले उक्त द्वीपको तेलसम्बन्धी संरचनाहरूलाई नष्ट नगर्ने बाटो लिएको छु। तर यदि इरान वा अन्य कसैले होर्मुज स्ट्रेटको माध्यम भएर हुने जहाजहरूको स्वतन्त्र र सुरक्षित आवतजावतमा हस्तक्षेप गर्छ भने म तुरुन्त मेरो निर्णयमा पुनर्विचार गर्नेछु।"

उनले इरानलाई हतियार बिसाउन र "आफ्नो देशका बचेखुचेका कुराहरूलाई जोगाउन" पनि भनेका छन्। "जुन धेरै छैन," ट्रम्पले लेखेका छन्।

किन महत्त्वपूर्ण छ खार्ग द्वीप

खार्ग द्वीप

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, खार्ग द्वीप

बीबीसीका पत्रकार माइकी केका अनुसार उक्त द्वीप इरानको लगभग ९० प्रतिशत तेल निर्यातको केन्द्र हो र तेहरानको अर्थव्यवस्थाका निम्ति यसलाई जीवनरेखा मानिन्छ।

खाडीको उत्तरी हिस्सामा अवस्थित उक्त द्वीप सानो तर रणनीतिक स्थान हो, जुन इरानी तटबाट २२ माइलको दूरीमा छ।

अमेरिकी सेनाले उक्त द्वीप नियन्त्रणमा लिने कोसिस गर्न सक्ने अड्कलबाजी पनि व्यापक छ किनकि त्यसो गर्दा इरानको तेल निर्यात रोक्न मद्दत पुग्ने मात्र नभई मुख्य भूमिविरुद्ध हमला गर्न उपयोगी स्थल पनि प्राप्त हुन्छ।

इरानको प्रतिक्रिया

प्रतिक्रियामा इरानले पनि आफ्नो तेल तथा ऊर्जा संरचनाहरूमाथि गरिने कुनै पनि हमलाले उक्त क्षेत्रमा अमेरिकासँगको सहकार्यमा काम गर्ने तेल कम्पनीका ऊर्जा संरचनामा हमला निम्त्याउन सक्ने बताएको इरानी सञ्चारमाध्यमहरूलाई उद्धृत गर्दै समाचारसंस्था रोएटर्सले जनाएको छ।

ट्रम्पको भनाइ आउनुअघि दुई अमेरिकी अधिकारीहरूले बीबीसीको साझेदार सीबीएस न्यूजलाई अमेरिकाले मध्यपूर्वमा नौसेनाको एक एकाइ र थप युद्धपोत पठाउने ठानिएको बताएका थिए।

उक्त योजनाको आधिकारिक पुष्टि भएको छैन तर समुद्रबाट जमिनमा हमला गर्न सक्षम हुने उक्त एकाइ सामान्तय: केही युद्धपोतमा तैनाथ लगभग ५,००० नौसैनिक र जहाजी कामदारहरू मिलाएर बनाइएको हुन्छ।

हाम्रा कूटनीतिक संवाददाताहरूका अनुसार प्राप्त विवरणहरूले वाशिङ्टनले इरानविरुद्धको युद्धमा विकल्पका विस्तृत श्रृङ्खलाहरूबारे विचार गरिरहेको सङ्केत गरेको बताइरहँदा बीबीसीले यसबारे बुझ्न अमेरिकी सेना र पेन्टागनसँग सम्पर्क गरेको छ।

यूके मरिटाइम ट्रेड अपरेशन्स (यूकेएमटीओ) र मरिटाइम गुप्तचर कम्पनी भ्यानगार्डको शुक्रवारसम्मका विवरणअनुसार दुई दिनयता मात्रै पानीजहाजमाथि आक्रमणका छ वटा घटना भएका छन्। योसँगै युद्ध आरम्भ भएयता त्यस्ता घटनाको सङ्ख्या १८ पुगेको छ।

मध्यपूर्वमा तनाव कायमै

यी घटनाक्रमका माझ इरान र हिज्बुल्लाहले इजरेलमाथि संयुक्त हमला गरेको विवरण आएको छ।

त्यसको प्रत्युत्त्तरमा इजरेलले पनि लेबनन र इरानका कतिपय ठेगानहरूमा केही चरणमा हवाई हमला गरेको छ।

यसैबीच यूएईले देशको हवाई सुरक्षा प्रणालीले हवाई हमला रोकेका तथा विस्फोटन र हमलाका झुटा भिडिओ क्लिपहरू प्रकाशित गर्ने १० जनालाई पक्राउ गर्ने आदेश दिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।