ड्रोन हमला गरिएको यूएईको बन्दरगाह मध्यपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रमध्ये एक

तस्बिर स्रोत, Getty Images
अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा ड्रोन हमला गरेको छ।
यूएईका अधिकारीहरूले त्यहाँ लागेको आगो निभाउने कार्य भइरहेको जनाएका छन्। उनीहरूले हवाई प्रतिरोध प्रणालीले नष्ट गरेको ड्रोन खस्दा आगलागी भएको बताएका छन्।
दुबईस्थित बीबीसी संवाददाता नीक बिकका अनुसार उक्त बन्दरगाह यूएईका निम्ति अत्यन्त महत्त्वपूर्ण स्थान हो भने मध्येपूर्वकै सबैभन्दा विशाल तेलभण्डार केन्द्रहरूमध्ये एक हो।
साथै पानीजहाजहरूमा इन्धन भर्नका निम्ति पनि यो महत्त्वपूर्ण स्थल हो।
फुजाइरा बन्दरगाह ओमानको खाडीमा पर्छ, पर्सिअन खाडीमा हैन। त्यसकारण त्यहाँ पुग्न पानीजहाजहरूलाई होर्मुज स्ट्रेट पार गर्नुपर्दैन – जुन जलक्षेत्रमा युद्ध सुरु भएको दुई सातायता पानीजहाजको आवतजावत लगभग बन्द छ।
ड्रोन हमलापछि अनलाइन माध्यममा देखिएका फुटेजमा यूएईको पूर्वी तटमा रहेको उक्त पूर्वाधार परिसरबाट बाक्लो धुवाँको मुस्लो उडिरहेको देखिएको थियो।
इरानको चेतावनी
फुजाइरा बन्दरगाहमा ड्रोन हमला त्यतिखेर भएको छ जतिखेर इरानी रिभोलूशनरी गार्ड्स कोर (आईआरजीसी)ले अमेरिकाले उसको खार्ग द्वीपमा हमला गरेका कारण अब यूएईका बन्दरगाह तथा अमेरिकी सैन्य ठेगानाहरू आफ्नो निम्ति वैध निसाना बनेको जनाएको छ।
तेहरानको तेल उद्योग तथा समग्र अर्थतन्त्रका निम्ति खार्ग द्वीपको महत्त्व निकै रहेको मानिन्छ।
इरानी सेनाको खताम मुख्यालयका एक प्रवक्ता कर्णेल इब्राहिम जुल्फीगरीले यूएईका बन्दरगाहमा रहेका अमेरिकी क्षेप्यास्त्र तथा अमेरिकी सैनिक 'लुक्ने स्थल'हरूमा आक्रमण गर्ने इरानको वैध अधिकार भएको बताएका छन्।
उनले हानिबाट जोगिन यूएईका सहरहरू खाली गर्न मुस्लिम मानिसहरूलाई आह्वान गरेका छन्।
यसअघि अर्को खाडी देश कतारमा अमेरिकी व्यापारिक स्वार्थ जोडिएका कतिपय ठाउँहरू खाली गर्न अधिकारीहरूले आदेश दिएका छन्। इरानले तिनलाई वैध निसाना भनेपछि मानिसहरूलाई त्यहाँबाट अन्यत्र जान अधिकारीहरूले भनेका छन्।
गुगल तथा 'अमेरिकन एक्सप्रेस'जस्ता अमेरिकी कम्पनीहरूको कार्यालय रहेको राजधानी दोहाको केन्द्रमा रहेको मुशेइरेब डिस्ट्रिक्टमा मानिसहरूलाई फोनमार्फत् ती ठाउँ छाड्न सावधान गराइएका सन्देश जारी गरिएका छन्।
युद्ध झन् चर्कँदो
बीबीसीका सुरक्षा संवाददाता फ्र्याङ्क गार्ड्नर खार्ग द्वीपमा हमला गरेर युद्ध अर्को चरणमा प्रवेश गरेको ठान्छन्।
उत्तरी खाडीमा अवस्थित यो सानो तर महत्त्वपूर्ण टापुमा अमेरिकी आक्रमण भनेको इरानको आर्थिक नाभिमा प्रहार सरह भएको उनको विश्लेषण छ।
खार्ग द्वीपमा रहेको टर्मिनलमार्फत् इरानको ९० प्रतिशत तेल निर्यात हुने गर्छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानाहरूलाई "पूरै नष्ट गरेको" बताएका थिए। यदि उनले अझ अघि बढेर त्यहाँका सैन्य ठेगानामात्र नभई तेल प्रशोधन केन्द्र नै नष्ट गरे भने विश्वबजारमा तेलको भाउ अझै माथि पुग्न सक्छ।
गार्ड्नरका अनुसार त्योभन्दा पनि चिन्ताजनक विषय चाहिँ अब इरानको प्रतिशोध कस्तो हुन्छ भन्ने हो। युद्ध थालिएको दुई साता बितिसक्दा पनि इरानसँग ठूलो सङ्ख्यामा सस्ता तर निकै विस्फोटक ड्रोनहरू उसका खाडी तथा अरब छिमेकी देशहरूमा प्रहार गर्ने क्षमता बाँकी रहेको देखिन्छ।
इरानले अब सम्भवत: डीस्यालिनेशन प्लान्टजस्ता त्यहाँका दशौँ लाख मानिसहरू पानी पिउन निर्भर रहेका महत्त्वपूर्ण संरचनालाई उसको निसानामा पार्न सक्ने गार्ड्नरले उल्लेख गरेका छन्।
यसअघि इरानसमर्थित प्यालेस्टीनी विद्रोही समूह हमासले तेहरानलाई उसका छिमेकी देशहरूलाई निसाना नबनाउन आह्वान गरेको थियो। अन्य देश तथा अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई तत्काल युद्ध अन्त्यका निम्ति काम गर्न पनि उसले अपील गरेको छ।
मध्यपूर्वमा चलिरहेको युद्धलाई आफूले 'गहिरो चिन्ता'का साथ हेरिरहेको भन्दै हमासले उक्त युद्धले 'सो क्षेत्र र विश्वको शान्तिसुरक्षालाई खतरा पुर्याउने' भनेको छ।
इरानमाथि भएको अमेरिकी तथा इजरेली आक्रमणले अन्तर्राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको हमासले जनाएको छ। उक्त क्षेत्रका सबै देशहरूलाई आपसी सहयोग गर्न र आक्रमण रोक्न हमासले आह्वान गरेको छ।
हमासलाई अमेरिका, यूके, इजरेल तथा कैयन् अन्य देशले आतङ्ककारी सङ्गठन मान्छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।


























