तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नक्कली कपालमा स्तन क्यान्सरसँग जोडिएका रासायनिक पदार्थ भेटिएको वैज्ञानिकहरूको दाबी
- Author, एस्टर कहुम्बी
- Role, ग्लोबल डिजिटल हेल्थ
- पढ्ने समय: ६ मिनेट
विश्वका दशौँ लाख महिलाले लगाउने नक्कली कपाल (हेअर एक्स्टेन्शन)मा स्तन क्यान्सर गराउन सक्ने, होर्मोनसम्बन्धी समस्या ल्याउन सक्ने वा प्रजनन समस्या पनि निम्तिन सक्ने एउटा 'ठूलो आकारको' अध्ययनले देखाएको छ।
विभिन्न प्रकारका त्यस्ता कपालमा झन्डै ५० किसिमका हानिकारक रसायन पाइएका वैज्ञानिकहरूले बताएका छन्।
'द अमेरिकन केमिकल सोसाइटी जर्नल'मा छापिएको उक्त अध्ययनले अर्बौँको नक्कली कपाल उद्योग नियमन गर्न कडा नियम आवश्यक रहेको र उपभोक्ताले थाहा पाउनुपर्ने धेरै कुरा रहेको जनाएको छ।
अध्ययनकी मुख्य लेखक एलिसिआ फ्र्याङ्क्लिन भन्छिन्, "नक्कली कपाल एकपटक लगाएपछि केही हप्ता वा त्योभन्दा लामो समयसम्म लगाइने र लगाइएका बेला छालासँगै जोडिएर रहने हुँदा दीर्घकालीन स्वास्थ्य खतरा हुन सक्छ।"
फ्र्याङ्क्लिन भन्छिन्, "कपाल तपाईँको टाउकोको छालामाथि बस्छ अनि यसलाई हप्तौँ वा महिनौँसम्म लगाइन्छ। यसलाई लामो समय लगाउने हो भने त्यसले दीर्घकालीन स्वास्थ्य समस्या ल्याउन सक्छ।"
हानिकारक रसायन
सन् २०२८ सम्ममा विश्वव्यापी नक्कली कपाल बजारको मूल्य १४ अर्ब डलरभन्दा बढीको हुने अनुमान गरिएको छ।
कैयौँ महिलाहरूले सुन्दर देखिन वा 'फ्याशन' गर्न नक्कली कपाल लगाउँछन्। तीमध्ये ठूलो सङ्ख्यामा अश्वेत महिलाहरू पनि छन्, उनीहरू कपाल व्यवस्थापन गर्न सजिलो उपायको रूपमा नक्कली कपाल लगाउँछन्।
नक्कली कपाल सस्तोदेखि महँगो मूल्यसम्म पाइन्छ। यो बीस डलरदेखि हजारौँ डलरसम्म पनि पर्ने गर्छ।
वैज्ञानिकहरूले परीक्षण गरेका ४३ नमुनामा १७० किसिमका रसायन पाइएका थिए।
तीमध्ये ४८ रसायन चाहिँ अन्तर्राष्ट्रिय जोखिम सूचीमा रहेका तथा राष्ट्रसङ्घ एवं युरोपिअन केमिकल्स एजेन्सीले खतरा सूचीमा राखेका पनि छन्।
फ्र्याङ्क्लिन भन्छिन्, "त्यसमा आगो निभाउनेदेखि कीट नियन्त्रकसम्म तथा प्रजनन शक्तिमा असर पार्ने तथा इन्डोक्राइन प्रणालीलाई असर पार्ने थ्यालेट नामक यौगिकहरू हुन्छन्।"
स्तन क्यान्सरसँग जोडेर हेरिने १७ थरी रसायनहरू ३६ वटा नक्कली कपालका नमुना (कृत्रिम र प्राकृतिक दुवै)मा पाइएका थिए। साथै १० प्रतिशत जति नमुनामा आगो नलाग्ने प्लास्टिक बनाउन प्रयोग गरिने हानिकारक तत्त्व थिए।
दैनिक उपभोग गर्ने उत्पादनमा नपाइने अर्ग्यानोटिन यौगिकहरू पनि फेला पर्दा आफूहरू आश्चर्यचकित भएको वैज्ञानिकहरूले बताए। त्यस्ता यौगिक मानिसमा होर्मोन असन्तुलन तथा प्रजनन तथा विकास क्रममा नकारात्मक असर पार्ने भनेर चिनिन्छन्।
तीमध्ये कति त प्लाइउड बनाउन प्रयोग गरिने रासायनिक पदार्थ हुन्। यिनलाई मानिसको शरीरमा जैविक परिवर्तनको कारक र स्तन क्यान्सर बनाउने तत्त्वका रूपमा पनि हेरिन्छ।
के मानव रौँ सुरक्षित छ
नक्कली कपालमा केन्द्रित अघिल्ला अध्ययनमा त्यस्ता कपालमा हानिकारक धातु पाइएको थियो। यसपालिको अध्ययनमा मानव रौँकै ११ वटा नमुना पनि समेटिएका थिए।
मानव रौँहरू महँगा थिए। तिनलाई कुनै रासायनिक प्रक्रियामार्फत् प्रशोधन नगरिएको भनेर विज्ञापन गरिएको थियो।
ती एक दाताबाट मात्र लिइएका थिए।
तर कैयौँ त्यस्ता मान्छेकै रौँबाट बनेका कपालका नमुनाहरूमा कृत्रिम कपालमाभन्दा बढी इन्डोक्राइन प्रणालीमा असर गर्ने किसिमका लगायतका हानिकारक रसायन भेटिए।
फ्र्याङ्क्लिन भन्छिन्, "उत्पादनहरूमा मानव रौँ भनेर लेबल टाँसेको छ भन्दैमा ती कारखानामा उत्पादित कपालभन्दा सुरक्षित हुँदा रहेनछन् भन्ने देखियो।"
फ्रयाङ्क्लिन यूएस साइलन्ट स्प्रिङ इन्स्टिट्यूटसँग सम्बद्ध वैज्ञानिक हुन्। यसले स्तन क्यान्सरका वातावरणीय कारणहरूमाथि अध्ययन गर्ने गर्छ।
मानव रौँमा पनि अनेकौँ खतरनाक रासायनिक पदार्थ भेटिए। अनुसन्धानकर्ताका अनुसार मानव रौँमा त्यस्ता रसायन तिनको उत्पादनका बेला वा व्यवस्थापनका बेला परेका हुन सक्छन्।
अध्ययनले हानिकारक रसायनको तह जाँचेको थिएन। तर होर्मोनलाई प्रभाव पार्ने तत्त्वहरू सानो मात्रामा भए पनि त्यसले असर गर्ने फ्र्याङ्क्लिन बताउँछिन्।
नक्कली कपाल लगाउँदा कपाललाई तताइन्छ वा उम्लिरहेको पानीमा डुबाइन्छ - यसो गर्दा विषालु धुवाँ निस्कन सक्छ। सास फेर्दा ती रसायन मानिसको शरीरभित्र पुग्छन्।
तिनीहरू छालाको सम्पर्कबाट पनि पुग्छन्। यसो गर्दा नयाँ कपाल लगाउने मात्र नभएर लगाइदिनेलाई पनि समस्या पर्न सक्ने अनुसन्धानकर्ताले बताएका छन्।
कतिपय यस्ता कपाल लगाउनेहरूमा चिलाउने डाबर आउने अनि टाउकोको सतह, गर्धन र अनुहारमा सुन्निने र कसैकसैलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ।
नक्कली कपाल सुरक्षित रूपमा कसरी लगाउन सकिन्छ?
रासायनिक प्रक्रिया पार गरेको कपाल कसरी सुरक्षित रूपमा लगाउन सकिन्छ भन्नेबारे खासै प्रमाणित उपायहरू छैनन्। लगाउनुअघि भिनिगरले नुहाउने क्रियाले पनि खासै समाधान नदिएको अनुसन्धानकर्ताहरू बताउँछन्।
अध्ययन गरिएका ४३मध्ये दुई नमुनामा मात्र कुनै हानिकारक रासायनिक पदार्थ नरहेको वैज्ञानिकहरूले पाएका थिए। तर यस्ता दाबीले पनि झुटो आश्वासन दिने हो कि भन्ने फ्र्याङ्क्लिन भन्छिन्।
"यस्ता उत्पादन र तिनको प्रयोगबारे नियमनको प्रभावकारी व्यवस्था छैन, जसले गर्दा दोषीले दण्ड पाउने अवस्था पनि रहेन।"
यूकेमा यसबारे सन् २०२६ को अगस्टसम्ममा कानुन बनाउने योजना छ।
कपालमा लगाइने रङ र कपाल सीधा बनाउन प्रयोग गरिने रासायनिक पदार्थ पनि स्तन क्यान्सरको खतरा बढाउने खालका भनेर यसअघिका अध्ययनले देखाएका छन्। नक्कली कपालभन्दा फरक यस्ता रासायनिक पदार्थबारेका नियम विद्यमान रहेकाले सुरक्षा जाँच गर्ने गरिन्छ।
केही उत्पादकहरूले किन्नुअघि गुणस्तरबारे विश्वस्त हुन भनेका हुन्छन् । "तर यदि ती बजारमा हुँदैनथे भने हामीले छान्नु पनि पर्दैनथ्यो," फ्र्याङ्क्लिन भन्छिन्
"त्यसैले जसले नक्कली कपाल लगाउने गरेका छन्, उनीहरूले यो अध्ययनले पाएको नतिजामा चासो राख्नुपर्ने देखिन्छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।