अध्यागमनको पत्रपछि दुवै राष्ट्रिय लीग फुटबल प्रतियोगिता स्थगित

तस्बिर स्रोत, ANFA
- Author, निरञ्जन राजवंशी
- Role, खेल संवाददाता, बीबीसी न्यूज नेपाली
- पढ्ने समय: ४ मिनेट
श्रम स्वीकृतिबिना पर्यटकीय भिसामा रहेका विदेशी खेलाडीहरूलाई राष्ट्रिय लीगको पुरुष/महिला फुटबल प्रतियोगितामा नखेलाउन भन्दै अध्यागमन विभागले पत्र काटेपछि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले काठमाडौँमा जारी दुवै राष्ट्रिय लीग प्रतियोगिताहरू स्थगित गरेको छ।
एन्फाले विज्ञप्ति जारी गर्दै प्राविधिक कारणवश अर्को सूचना जारी नभएसम्मका लागि लीग स्थगित गरिएको जनाएको छ।
पुरुष राष्ट्रिय लीगमा सहभागी १७ क्लबमध्ये चित्लाङ फुटबल क्लबले भने विदेशी खेलाडीको श्रम स्वीकृति लिएको बताइएको छ।
पुरुष लीगमा बिहीवार तीन ओटा खेलहरू हुने तालिका थियो। तीमध्ये चित्लाङ एफसी र लालीगुँरास एफसी तथा त्रिभुवन आर्मी क्लब र सातदोबाटो यूथ क्लबबीचका दुई खेल भने सञ्चालन भए। यी दुवै खेलमा विदेशी खेलाडीहरू सहभागी थिए।
तर साँझ हुने मच्छिन्द्र क्लब र एपीएफबीचको खेल भने रोकिएको छ।
महिला लीगमा पनि आज तालिकाअनुसारका दुवै खेल भए।
अध्यागमनको पत्र

तस्बिर स्रोत, ANFA
यसअघि श्रम स्वीकृति नलिईकन विदेशी खेलाडीहरू खेलाइएको भन्दै राष्ट्रिय खेलकुद परिषद् र अध्यागमन विभागमा उजुरी परेको थियो।
त्यसपछि राष्ट्रिय खेलकुद परिषद्ले यही चैत्र १ गते एन्फालाई पत्र काट्दै श्रम स्वीकृति नलिईकन खेलिरहेका विदेशी खेलाडीहरूको सूची उपलब्ध गराउन भनेको थियो।
अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले आज एन्फालाई लेखेको पत्रमा आजैदेखि अनुगमन प्रारम्भ भएको र श्रम स्वीकृति नलिएका विदेशी खेलाडीहरू भिसाको उद्देश्यविपरीत कुनै पनि खेलमा सहभागी भएको पाइएमा तत्काल कारबाही अगाडि बढाउने भनेपछि एन्फा पछाडि हटेको हो।
यस विषयमा एन्फाका प्रवक्ता सुरेश शाहलाई सम्पर्क गर्दा उनले प्राविधिक कारणले लीग स्थगित गरेको बताए।
यद्यपि उनले राष्ट्रिय खेलकुद परिषद्लाई एन्फाले दुबै लीग प्रतियोगितामा विदेशी खेलाडीको श्रम स्वीकृति प्रदान गर्नका लागि अनुरोध गरेको बताएका छन्।
एन्फाले राखेपलाई राष्ट्रिय लीगका लागि गत पुस २८ गते तथा एन्फा महिला लीगका लागि फागुन २८ गते पत्राचार गरेको थियो।
कठिन श्रम स्वीकृति प्रक्रिया

तस्बिर स्रोत, ANFA
राष्ट्रिय लीग खेलिरहेका भगवती क्लबका सदस्य राम जोशीले क्लबले राखेप र मन्त्रालयमा श्रम स्वीकृतिका लागि बारम्बार पत्राचार गरे पनि उतैबाट ढिलाइ भएको बताए।
उनले बीबीसी सँग भने, " हामीले बारम्बार पत्राचार गरेका हौँ। तर उनीहरूले स्वीकृति नै दिएनन्। फुटबल भएन, खेलाडीहरू बेरोजगार भए भन्ने विषय उठेपछि हामीले करोडौँ रुपैयाँ लगानी गरेर लीग खेल्यौँ। लीग रोकिएमा त्यति धेरै रकम हामीले कसरी उठाउने? क्लबको दुःख कसले बुझ्ने?"
एन्फाका एक अधिकारीले सरकारसँगको सहमतिअनुसार नै विदेशी खेलाडी खेलाएको बताए।
उनका अनुसार यसअघि युवा तथा खेलकुद मन्त्रालयका तात्कालिक मन्त्री बब्लु गुप्ता, राखेपका सदस्यसचिव र परराष्ट्र मन्त्रालयको सहमतिमा कठिन बनेको श्रम स्वीकृति प्रक्रियालाई एकद्वा प्रणालीमा लैजानका लागि प्रक्रिया थाल्ने तर त्यतिन्जेल तीन महिना भिसा अवधि भएका विदेशीलाई खेल्न दिने भनिएको थियो।
उनले भने, " यसै प्रक्रियाअनुसार नै नेपाल प्रिमिअर लीग (एनपीएल)मा विदेशी खेलाडीहरू खेले। त्यहाँ कुनै रोकतोक भएन।"
श्रम स्वीकृतिको प्रक्रिया निकै कठिन रहेको क्लबका अधिकारीहरूले बारम्बार उठाइरहेको विषय हो। क्लब अधिकारीहरूका अनुसार श्रम स्वीकृति लिन डेढ महिनासम्म समय लाग्ने गर्छ।
भगवती क्लबका सदस्य राम जोशी भन्छन्, "एउटा फाँटबाट अर्को फाँटमा फाइल घुमाउँदाघुमाउँदा डेढ महिना लाग्छ। त्यतिन्जेल खेल नै सकिने अवस्था आइसकेको हुन्छ।"
विगतको कडा सजाय
यसअघि विसं २०७९ मा शहीद स्मारक ए डिभिजन लीगमा थ्रीस्टार क्लबले जावलाखेल क्लबविरुद्धको खेलमा श्रम स्वीकृति नलिईकन विदेशी खेलाडी खेलाएको भन्दै एन्फाले कारबाहीस्वरूप श्रीस्टारले जितेको खेलको नतिजा नै उल्टाइदिएको थियो।
फलतः थ्रीस्टारको श्रेणी नै घटुवा भएको थियो।
एन्फाले यसपालि भने त्यसो गरेको छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।























