अमेरिकाद्वारा रुसी तेल कारोबारमाथिको प्रतिबन्ध तत्कालका लागि 'फुकुवा'

समुद्रमा तेलवाहक पानीजहाज

तस्बिर स्रोत, Reuters

पढ्ने समय: ३ मिनेट

संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध आफू र इजरेलले गरेको युद्धको आर्थिक प्रभाव कम पार्ने उद्देश्यले अरू देशलाई रुसमा उत्पादित तेल र पेट्रोलियम पदार्थ किन्ने अनुमति दिने निर्णय गरेको छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसन्टका अनुसार युद्धका बेला "विश्वको ऊर्जाबजारमा स्थिरता" कायम राख्न अस्थायी उपायस्वरूप उक्त निर्णय लिइएको हो।

अमेरिकाले रुसी तेल किन्न नपाउने प्रतिबन्ध एप्रिल ११ सम्मका लागि फुकुवा गरेको हो। तर देशहरूले समुद्रमा रहेका पानीजहाजमा भरिएको तेल मात्र किन्न पाउने छन्।

"यो तत्कालीन उपाय 'ट्रान्जिट'मा भएको तेलका लागि मात्र हो र यसबाट रुस सरकारलाई खासै आर्थिक लाभ पुग्दैन," बेसन्टले भने।

रुसले अहिले झन्डै १० करोड ब्यारल तेल ट्रान्जिटमा भएको बताएको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यो टाइमल्याप्स भिडिओमा (देब्रेतिर) स्ट्रेट अफ होर्मुज क्षेत्रमा १२ मार्च २०२५ मा पानीजहाजहरूको ओहोरदोहोर धेरै भएको र (दाहिनेतिर) १२ मार्च २०२६ मा त्यस्तो ओहोरदोहोर कम भएको देखिन्छ

खाडीमा कम्तीमा थप तीनवटा तेलवाहक पानीजहाज आक्रमणमा परेपछि बिहीवार विश्व बजारमा तेलको मूल्य फेरि प्रतिब्यारल १०० डलर नाघेको थियो।

तेल ढुवानी गर्न प्रयोग हुने जलमार्गमा इरानले अवरोध सिर्जना गर्दै र मालवाहक पानीजहाजहरूमा आक्रमण गर्दै आएको छ। खाडीमा तेल उत्पादन गर्ने स्थलहरू पनि आक्रमणको निसानामा परेका छन्।

इरानका नवनियुक्त सर्वोच्च नेता मुज्तबा खामेनेईले तेल ढुवानी गर्न प्रयोग गरिने एउटा मुख्य मार्ग 'स्ट्रेट अप होर्मुज'मा अवरोध गरिराख्ने उद्घोष गरेका छन्।

उक्त साँघुरो जलमार्ग हुँदै विश्वभरि प्रयोग गरिने झन्डै २० प्रतिशत तेल निर्यात हुन्छ।

युद्धका कारण तेलवाहक पानीजहाजहरू खाडीमा अलपत्र परेका छन्। तिनले इरान र ओमानका बीच रहेको साँघुरो जलमार्ग छिचोल्न नसकेपछि तेल आपूर्ति प्रभावित भएको छ।

बेसन्टले हाल तेलको मूल्यवृद्धि भए पनि त्यसबाट अमेरिका र अमेरिकी अर्थतन्त्रलाई दीर्घकालीन लाभ हुने तर्क गरेका छन्।

बुधवार अमेरिकाले १७.२ करोड लिटर तेल आफ्नो रणनीतिक भण्डारबाट प्रयोग गर्ने घोषणा गरेको थियो।

यसअघि बेसन्टले 'स्ट्रेट अफ होर्मुज' हुँदै तेल ओसार्ने पानीजहाजहरूलाई अमेरिका सरकारले "सैन्य हिसाबले सम्भव भएसम्म यथाशीघ्र" सुरक्षा दिने बताएका थिए। "सैन्य सुरक्षा आवश्यक हुन सक्ने कुरा हाम्रो योजनामै थियो," उनले स्काई न्यूजलाई बताए।

के छ प्रतिक्रिया

ओमानको मस्कटमा रोकिएका पानीजहाजहरू

तस्बिर स्रोत, Reuters

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आर्थिक दूत किरिल दिमित्रिएभले रुसी तेलबिना "विश्वको ऊर्जाबजार स्थिर हुन नसक्ने" बताएका छन्।

"अमेरिका वास्तविक कुरा बुझ्दै छ - रुसी तेलबिना विश्वको ऊर्जाबजार स्थिर हुन सक्दैन," उनले टेलिग्राममा लेखेका छन्।

यद्यपि भ्रष्टाचारको आरोप लागेका वरिष्ठ रुसी अधिकारीहरूमाथि प्रतिबन्ध लगाउनुपर्ने पक्षमा अभियान चलाएका लगानीकर्ता बिल ब्राउडरले रुसी तेल किन्ने अनुमति दिने निर्णयलाई "भयानक"को सङ्ज्ञा दिएका छन्। उनले पहिला मस्कोमा बसेर लगानी गरेका थिए।

"...यसले पुटिनलाई धनी बनाउँछ र युक्रेनमा जारी युद्ध लम्ब्याउँछ," उनले बीबीसीसँग भने।

युक्रेनले अमेरिकाको निर्णयबारे कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले प्रतिबन्ध खुकुलो बनाइए त्यो युक्रेनका लागि "गम्भीर प्रहार" र रुसका लागि थप हतियार किन्न पाउने गरी दिइने "सुविधा" हुने बताएका थिए।

फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोँले स्ट्रेट अफ होर्मुज बन्द हुँदैमा रुसी प्रतिबन्ध हटाउनु कुनै तरिकाले पनि न्यायोचित नभएको टिप्पणी गरेका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।