झापा ५ मा बालेनको जित, ओली निकटतम प्रतिद्वन्द्वी

पढ्ने समय: ४ मिनेट

झापा क्षेत्र नम्बर ५ मा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै काठमाण्डू महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह 'बालेन' प्रतिनिधिसभा सदस्य चुनिएका छन्।

अन्तिम मतपरिणामअनुसार बालेनले ६८,३४८ मत ल्याएका छन् भने ओली १८,७३४ मतमा सीमित भएका छन्। उनीहरूबीच मतान्तर ४९,६१४ रहेको छ।

दुवैलाई आआफ्ना पार्टीले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै चुनावी अभियान गरेका थिए।

विसं २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाण्डू महानगर प्रमुखमा शाह निर्वाचित हुँदा पनि उनले तात्कालिक ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई उल्लेख्य मतान्तरले पछि पारेका थिए।

ओलीका लागि भने संसदीय निर्वाचनमा यो दोस्रो पराजय हो। उनी विसं २०६४ को संविधानसभा निर्वाचनमा तात्कालिक झापा क्षेत्र नम्बर ७ बाट नेकपा माओवादीका उम्मेदवारसँग पराजित भएका थिए।

बालेनको दल रास्वपाले हालसम्म ५८ निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ भने निर्वाचन आयोगको तथ्याङ्कअनुसार यसका उम्मेदवार थप ६१ क्षेत्रमा अगाडि छन्। ओलीको दल एमालेका उम्मेदवार भने जम्मा तीन क्षेत्रमा विजयी भएका छन् भने थप ९ क्षेत्रमा अरू पार्टीभन्दा अगाडि छन्।

प्रधानमन्त्रीका आकाङ्क्षीहरूबीचको प्रतिस्पर्धा

दुई मुख्य पार्टीहरूबाट प्रधानमन्त्रीको उम्मेदवार भनी घोषणा गरिएका उम्मेदवारहरूको प्रतिस्पर्धा रहेकाले झापा ५ लाई कतिपयले यसपालिको चुनावको 'इपिसेन्टर' भनेका थिए।

यो ओलीले पहिलेदेखि निर्वाचन लडिरहेको क्षेत्र थियो भने बालेन काठमाण्डू महानगरको मेअर मदबाट राजीनामा दिएर उम्मेदवारी दिन झापा पुगेका थिए।

त्यसो त त्यसको केही महिनाअगाडि मात्र उनले आफू पार्टीमा समाहित हुने भनेर रास्वपा सभापति रवि लामिछानेसँग एक सहमति गरेका थिए।

उनीहरूबीच सहमति हुँदा नै बालेन रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भनिएको थियो।

एमालले भने त्यसपछि मात्र अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। उनी त्यसको केही साताअघि पार्टी अध्यक्षमा पुनः निर्वाचित भएका थिए।

बालेन को हुन्

चुनावको मुखमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका बालेन्द्र शाह उक्त दलमा दोस्रो वरीयतामा रहेका वरिष्ठ नेता हुन्। उनी अहिले ३६ वर्षका भए। उनी बालेन उपनामले बढी परिचित छन्। स्वतन्त्र उम्मेदवार बनेर काठमाण्डू महानगरको प्रमुखमा निर्वाचित बालेन स्ट्रकचरल इन्जिनिअर तथा र्‍यापर पनि हुन्।

आफ्नो लिङ्क्डइन प्रोफाइलमा बालेनले भारतबाट इन्जिनिअरिङमा स्नातकोत्तर अध्ययन गरेको उल्लेख गरेका छन्।

रास्वपामा प्रवेश गर्दा उनी पार्टी सभापति रवि लामिछानेसँग लिखित सहमति गरेरै "प्रधानमन्त्रीको उम्मेदवार" का रूपमा अघि सरेका हुन्।

काठमाण्डू महानगर प्रमुखका रूपमा साढे तीन वर्ष काम गरेको अनुभव भएका शाहको दलगत राजनीतिक अनुभव उनका प्रतिस्पर्धीहरूको तुलनामा कम छ।

तर स्थानीय निर्वाचनको समयताका नै विशेष गरी युवापुस्ता माझ उनको लोकप्रियता निकै चर्को रहेको देखिएको थियो।

उनका समर्थकहरू महानगर प्रमुखका रूपमा रहँदा उनले गरेका शिक्षा, सरसफाइ, सम्पदा संरक्षण लगायतका कामहरूको प्रशंसा गर्दछन्।

स्थानीय कार्यपालिकामा निर्वाचित भए पनि कार्यकाल पूरा नगरी प्रतिनिधिसभामा जान खोजेको भन्दै केहीले उनको आलोचना गर्ने गर्छन्। महानगर प्रमुख हुँदा नगर प्रहरी परिचालन गरेर सडक व्यापारी र सुकुम्बासीमाथि दमन गरेको आरोप उनीमाथि लागेको थियो।

सामाजिक सञ्जालमा दल र नेताहरूलाई उनले यसअघि गरेका आलोचना र सिंहदरबारमा आगो लगाउने आशयको पोस्टलाई लिएर बालेनको आलोचना हुने गरेको छ।

उनले भदौ २४ को आन्दोलनका क्रममा संयमित हुन र आगजनी नगर्न आह्वान पनि गरेको उनका समर्थकहरू बताउँछन्। उनले आन्दोलनकारीहरूलाई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटन गर्ने पक्षमा उभिन आह्वान गरेका थिए।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।