तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
इरानमाथि अमेरिका-इजरेलको संयुक्त हमलाबारे हामीलाई केके थाहा छ
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एबीसी न्यूजसँग कुरा गर्दै इरानमा अमेरिकाले गरेको हमलाहरूले "निकै नै क्षति पुर्याइसकेको" र इरानको नेतृत्व तहका "धेरै मानिसहरू" समाप्त भएको बताएका जनाइएको छ।
उक्त टेलिफोन अन्तर्वार्ताका क्रममा ट्रम्पले "हामीहरूलाई सबै नै सकिएका हुन् की भन्ने थाहा छैन तर धेरै जसो बाँकी छैनन्" भनेका बताइएको छ।
उनले इरानमा अर्को चरणमा को नेतृत्वमा आउने छन् भन्ने विषयमा आफूहरूलाई "राम्रो जानकारी रहेको" पनि बताएका छन्।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले इरानका सर्वोच्च नेता आयातोल्लाह खामेनेई "नरहेको" जस्तो देखिएको बताएका छन्।
एउटा भिडिओ सम्बोधनका क्रममा उनले गरेको त्यस्तो टिप्पणीको खास अर्थ के हो भन्ने स्पष्ट भएको छैन।
बीबीसी भेरिफाइले प्राप्त गरेको शनिवार विहान तेहरानमाथि भूउपग्रहबाट लिइएका तस्बिरहरूमा इरानी राजधानीमा खामेनेईको कार्यालय रहेको भवन परिसरका केही खण्डमा उल्लेख्य क्षति पुगेको देख्न सकिन्छ।
बीबीसी संवाददाता टिन्शुइ युङ् भन्छन् ती सर्वोच्च नेताका तर्फबाट शनिवार कुनै टिप्पणी आएको छैन र उनको अवस्थाका बारेमा कुनै पुष्टि भएको विवरण पनि प्राप्त भएको छैन।
उनको बारेमा उल्लेख गरिएको विवरण थाहा भएको भनेको इरानी विदेशमन्त्री अब्बास अरागचीले एनबीसी न्यूजलाई दिएका अन्तर्वार्तामा हो। उनले त्यसक्रममा आफूलाई थाहा भएसम्म ति इरानी नेता "जीवित" रहेको जानकारी भएको बताएका थिए।
इजरेली प्रधानमन्त्रीले उनको सम्बोधनको अन्त्य इजरेली जनतालाई देशको होम फ्रन्ट कमाण्डले जारी गर्ने सुरक्षा सल्लाहहरूमा ध्यान दिन आह्वानसहित गरेका थिए। उनले इरान विरुद्धको कारबाही "आवश्यकता रहेसम्म" जारी रहने पनि जनाएका थिए।
इजरेली हवाई सेनाको इतिहासमा सबैभन्दा ठूलो उडान
इजरेल डिफेन्स फोर्सेज आइडीएफले भनेको छ उस्का झण्डै २०० वटा लडाकु जेट विमानहरूले "इजरेली हवाई सेनाको इतिहासमा नै सबैभन्दा ठूलो सैन्य उडान मिलिटरी फ्लाइओभर" पुरा गरेका जनाएको छ।
सन्देश आदानप्रदान गर्ने एप टेलिग्राममा लेख्दै आइडीएफले भनेको छ ति जेट विमानहरूले " इरानको पश्चिमी तथा मध्य क्षेत्रमा अवस्थित क्षेप्यास्त्र संरचनाहरू र इरानी आतंक फैलाउने सत्ताका प्रतिरक्षा प्रणालीहरूमा ठूलो स्तरको हमला सम्पन्न गरेका छन्।"
उक्त सन्देशमा लेखिए अनुसार ति जेटहरूले झण्डै ५०० वटा लक्ष्यहरूलाई निशाना बनाएर सयौँ अस्त्रहरू खसालेका बताइएको छ। र त्यसबाट "इरानी सत्ताको आक्रामक क्षमतालाई गम्भीर रूपमा कमजोर तुल्याइएको" दाबी पनि गरिएको छ।
बीबीसी पर्सिअन सेवाकी रिपोर्टर गोन्चेह हबीबीआजादका अनुसार इरानी रेड क्रेसन्टका प्रवक्ता मोज्तबा खालेदीले शनिवार त्यहाँ भएका हमलाहरूमा कम्तीमा २०१ जनाको ज्यान गएको बताएका इरानी समाचार स्रोतहरूले जनाएका छन्।
खालेदीले भनेका छन् ७४७ जना घाइते भएका छन्। उनले इरानका ३१ प्रान्तहरू मध्ये २४ वटामा हमलाहरू भएका पनि बताएका छन्।
इरान विरुद्धको सैन्य कारबाही
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इजरेलले इरानविरुद्ध गरेका हमलालाई "महत्त्वपूर्ण सैन्य कारबाही" भन्दै इरानी सरकारी फौजलाई आफ्ना हतियार विसाउन भनेका छन्।
इरानले हमला गर्न सक्ने भन्दै इजरेलविरुद्धको खतरा हटाउन आफूले पहिला हमला गरेको इजरेली रक्षा मन्त्रालयले जनाएको छ।
यसअघि इजरेलका रक्षामन्त्री इजरेल क्याट्जले इरानबाट हुनसक्ने भन्दै "पूर्वप्रतिरक्षात्मक आक्रमण" गरिएको बिहानै एक विज्ञप्ति मार्फत् उल्लेख गरेका थिए।
इरानले पनि इजरेलमाथि आक्रमण सुरु गरेको इजरेल डिफेन्स फोर्सेज आईडीएफले जनाएको छ। रक्षामन्त्री क्याट्जले देशमा "विशेष तथा स्थायी सङ्कटकाल"को घोषणा गरिएको जनाएका छन्। इजरेलभरि हवाई हमलाबारे सावधानी अपनाउन साइरन बजाइएको छ।
इरान वरपरका क्षेत्रमा तनाव चुलिँदै गर्दा अनि आसपासका इलाकामा अमेरिकी फौज एकत्रित भइरहेको बेला पछिल्लो आक्रमण भएको छ।
तेहरानले उसको परमाणु कार्यक्रम अन्त्य गर्न राजी नभए त्यहाँ आक्रमण गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पले धम्की दिँदै आएका थिए।
कसरी सुरु भयो?
इरानका सरकारी सञ्चारमाध्यमहरूले स्थानीय समय अनुसार बिहान ९ बजेर ३० मिनेट जाँदा राजधानी तेहरानमा कैयन् ठूल्ठूला विस्फोट भएका विवरण दिएका छन्।
बीबीसीले हेरेका तस्बिरहरूमा त्यहाँ धुवाँ निस्किरहेको देख्न सकिन्छ।
हालसम्म मानवीय र भौतिक क्षतिको यकिन विवरण थाहा हुन सकेको छैन।
तस्निम समाचार संस्थाका अनुसार इरानको हवाई क्षेत्र आक्रमण लगत्तैबाट बन्द भएको छ।
ट्रम्पले आक्रमणलाई "व्यापक र निरन्तर " भनेका छन्।
इरानले कसरी प्रतिक्रिया दियो
इजरेलको सेना इजरेल डिफेन्स फोर्सेज (आईडीएफ)ले इजरेलतर्फ इरानबाट क्षेप्यास्त्र प्रहारको पहिचान भएको र तिनलाई बीचैमा रोकिएको बताएको छ।
इजरेलका हाइफा र अन्य केही स्थानमा विस्फोटका आवाज सुनिएका छन्। ती आवाज क्षेप्यास्त्र प्रतिरोधका कारण वा अन्य कुनै कारण आएका हुन् भन्ने प्रष्ट छैन।
बहरेनमा रहेको अमेरिकी जलसेनाका साधनमा पनि आक्रमण भएको त्यहाँको समाचार संस्थाले जनाएको छ।
इजरेलमा सार्वजनिक स्थानहरूमा भेला नहुन र विद्यालयरू बन्द गर्न भनिएको छ।
इजरेली सञ्चार माध्यमका अनुसार देशमा गैर सैनिक उडानहरू बन्द गरिएका छन्।
विद्यालयमा आक्रमण भएको भनाइ
इरानको हर्मोजगान प्रान्तको दक्षिणी मिनाव काउन्टीस्थित एक प्राथमिक छात्रा विद्यालयमा भएको इजरेली हमलामा ५३ जना मारिएको शिक्षा मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै इरानी सञ्चार संस्था आईआरएनएले जनाएको छ।
अली फरहदीले थप ६३ जना घाइते भएको बताए।
उनको भनाइलाई बीबीसीले स्वतन्त्र पुष्टि गर्न सकेको छैन – इरानले अन्तर्राष्ट्रिय समाचार संस्थाहरूलाई प्राय: भिसा दिन अस्वीकार गर्छ जसका कारण त्यहाँभित्र भइरहेका घटनाबारे सूचना सङ्कलन गर्ने तिनको क्षमता सीमित मात्र छ।
यसबीच लगभग इरानभरि इन्टरनेट अवरुद्ध छ। यसअघि त्यहाँ साइबर हमला भएका विवरण आएका थिए।
बीबीसी पर्सिअनका बरान अब्बासीले इरानभित्र आक्रमणबारे मिश्रित प्रतिक्रिया आएको उल्लेख गरेका छन्। कैयन् क्षेत्रमा त्रास फैलिएको छ भने कतिपयले चाहिँ त्यहाँको सत्ता ढल्न सक्ने सम्भावनाप्रति राहतको अनुभव गरेका छन्।
उनका अनुसार त्यहाँ धेरै मानिस अमेरिकाले हमला गर्ने सम्भावनाबारे जानकार थिए।
विश्व नेताहरूको प्रतिक्रिया
अमेरिका र इजरेलद्वारा इरानमा आक्रमण अनि तेहरानले गरेको प्रत्याक्रमणबारे विश्व नेताहरूले प्रतिक्रिया दिइरहेका छन्।
युरोपेली आयोगकी अध्यक्ष ऊर्जुला फन डेर लेअनले इरानको 'हत्यारा सत्ता' विरुद्ध युरोपेली समुदायले 'व्यापक आर्थिक प्रतिबन्धहरू' लगाइरहेको स्मरण गरिन्। "हामी सबै पक्षलाई अत्यधिक संयम अपनाउन, गैरसैनिकको रक्षा गर्न तथा अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गर्न आह्वान गर्छौँ।"
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानेजीले उनको देश "दमनका विरुद्ध भइरहेको सङ्घर्षमा इरानका बहादुर मानिसहरूसँग साथमा रहेको" बताएका छन्। इरानलाई परमाणु अस्त्र प्राप्त गर्नबाट रोक्ने कार्यमा अमेरिकालाई समर्थन रहने उनले जनाए।
यूकेका एकजना सरकारी प्रवक्ताले आफूहरूले "यो द्वन्द्व व्यापक क्षेत्रीय द्वन्द्वमा बदलिएको हेर्न नचाहेको" भन्दै "आफ्ना स्वार्थ रक्षा गर्न तयार रहेको" बताएका छन्।
रुसको विदेश मन्त्रालयले अमेरिका तथा इजरेलका कारबाहीलाई "गैरजिम्मेवारपूर्ण" भन्दै त्यसले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको बताएको छ। रुसले राजनीतिक तथा कूटनीतिक समाधान तर्फ फर्कन आह्वान गरेको छ।
८ महिना नबित्दै दोस्रो आक्रमण
आठ महिना अघि दुई देशबीच १२ दिनसम्म युद्ध चलेको थियो।
गत वर्षको जुनमा इजरेलले अकस्मात् हमला गर्दै इरानको सैन्य तथा परमाणुस्थलहरूमा बमबारी गरेको थियो भने वरिष्ठ सैन्य अधिकारी तथा परमाणु वैज्ञानिकहरूलाई मारिदिएको थियो।
प्रतिक्रियास्वरूप इरानले इजरेलतर्फ सयौँ क्षेप्यास्त्र तथा ड्रोनले आक्रमण गरेको थियो।
त्यतिबेला अमेरिकाले पनि एक दिन इरानमा हमला गरेको थियो। भूमिगत परमाणु केन्द्रहरूमा उसले बमबारी गरेको थियो र लगत्तै युद्धविरामका निम्ति दबाव दिएको थियो।
इजरेल र इरानबीच दशकौँदेखि वैमनस्यता रहँदै आएको छ। मध्यपूर्वभरी इजरेलविरुद्ध सक्रिय कतिपय सशस्त्र समूहहरूलाई इरानले समर्थन गर्दै आएको छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको परमाणु कार्यक्रमबारे पछिल्ला वार्ताप्रति आफू खुसी नभएको बताएका थिए।
यसअघि इरानमाथि आक्रमणको चेतावनी दिएका ट्रम्पले आक्रमण गर्ने वा नगर्ने बारे आफूले अझै निर्णय भने नलिएको प्रतिक्रिया दिएका थिए।
"उनीहरूले हामीलाई चाहिएको कुरा दिन नखोजेबाट म खुसी छैन। त्यसकारण म उत्साहित छैन," बिहीवार जिनिभामा भएको वार्ता कुनै सम्झौतामा नपुगि टुङ्गिएपछि पहिलो पटक प्रतिक्रिया दिँदै ट्रम्पले भनेका थिए।
अमेरिकी राष्ट्रपतिले इरानविरुद्ध सैन्य बल प्रयोग गर्ने आफ्नो चाहना नरहेको बताए। तर कहिलेकाहीँ त्यसो "गर्नुपर्ने हुन्छ" उनले थपे।
भ्रमणमा नजान पश्चिमा देशहरूको सुझाव
इरानमाथि अमेरिकी आक्रमण हुन सक्ने सम्भावनाको चिन्ताबीच शुक्रवार मात्रै धेरै देशहरूले त्यस क्षेत्रमा रहेका आफ्ना नागरिकहरूलाई सजग रहन भनेका थिए।
यूकेले तेहरानस्थित आफ्नो दूतावासबाट कर्मचारीहरूलाई केही समयमा लागि शुक्रवारै फिर्ता बोलाएको थियो।
यूकेले इजरेलका लागि नयाँ ट्राभल एड्भाइजरी जारी गर्दै "अति आवश्यक बाहेक यात्रा नगर्न" भनेको छ।
चीन, भारत र क्यानडा लगायतका देशहरूले भिडन्तको सम्भावनालाई मध्यनजर गर्दै आफ्ना नागरिकहरूलाई सकेसम्म चाँडो इरान छोड्न आग्रह गरेका छन्।
जर्मनीले इजरेल भ्रमण नगर्न "अति जरुरी" सूचना जारी गरेको छ। फ्रान्सले पनि इजरेल नजान आफ्नो सुझाव दोहोर्याएको छ।
संयुक्त राज्य अमेरिकाले इरानमा रहेका आफ्ना नागरिकहरूलाई "तत्काल" बाहिर जान भनेको छ। र इजरेलमा पनि अमेरिकी दूतावासले आकस्मिक बाहेकका कर्मचारी र उनीहरूका परिवारलाई उडानहरू उपलब्ध भएसम्म देश बाहिर जान भनेको छ।
सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि भएको आक्रमणयता मध्यपूर्वमा सबैभन्दा ठूलो सामर्थ्यमा अमेरिकी सैनिक इरान वरपर जम्मा भएका छन्।
इरानले कुनै पनि आक्रमणको कडा जवाफ दिने चेतावनी दिएका कारण इजरेलले इरानमाथि आक्रमण गरेसँगै मध्यपूर्व क्षेत्रभरि त्रास फैलने आशङ्काहरू गरिएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।